५ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
समाज

उदयपुरको नेपाल स्प्रीङ उद्योग ‘सिल’

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय गाईघाट।

उदयपुरमा सञ्चालित प्रशोधित सुद्ध पानी उत्पादन कम्पनीमा सिलबन्दी गरिएको छ।

मंगलबार दिउँसो गएको जिल्ला अनुगमन टोलीले सरकारी मापदण्ड पुरा नगरी पानी उत्पादन गरेको पाएपछि सदरमुकाम त्रियुगा नगरपालिका–३ मोतिगडास्थित ‘नेपाल स्प्रिङ पानी उद्योग’ मा सिल गरेको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय उदयपुरसहित जिल्ला अनुगमन समितिको टोलीले अनुगमनको क्रममा कानुनी वैधता पुरा नगरी पानी प्रशोधन गरेको पाइएपछि उद्योगलाई सिल गरेको हो।

सुद्ध पिउने पानी उत्पादनका लागि तोकिएको खाद्य स्वच्छता तथा गुणस्तर मापदण्ड पालना गरेको नपाइएकाले उद्योग सिल गर्नुपरेको डिभिजन प्रमुख निराजन मगरले बताए।

सो उद्योगबाट उत्पादित पानीमा शुद्धता नभएको भन्दै उपभोक्ताले पटकपटक गुनासो गरेपछि अनुगमन टोली पानी प्रशोधन केन्द्र पुगेको थियो।

अनुगमन गर्ने क्रममा पानीको गुणस्तर कायम नभएको, उद्योग सञ्चालनका लागि आवश्यक मापदण्ड पुरा नगरेको पाइएपछि ‘सिल’ गरिएको डिभिजन प्रमुख मगरले बताए।

उनका अनुसार उद्योगले ‘पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका–२०७४’ र ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन–२०८१’ बमोजिम उद्योग सञ्चालन भएको अनुगमनको क्रममा ठहर भएको छ।

अनुगमन टोलीले सो पानी उद्योग नियोन लाईट मल्टिपर्पोज प्रालिद्वारा सञ्चालनमा रहेको पाइएको छ।

डिभिजन प्रमुख मगरका अनुसार तोकिएको गुणस्तर कायम नगरेको, उत्पादन प्रक्रिया मापदण्ड बमोजिम नगरी उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने पानी उत्पादन गरेको देखिएकाले तत्काल उत्पादन तथा विक्री वितरणमा रोक लगाइएको छ।

उद्योगलाई तोकिएको मापदण्ड पूरा नगरेसम्म उद्योग सञ्चालन गर्न नदिने निर्णयसहित आवश्यक मापदण्ड पुरा गर्न निर्देशनसमेत दिएको छ।

यसअघि पनि सो उद्योगको अनुगमन गर्दा कमीकमजोरी पाइएको र सचेत गराउनुका साथै जरिवानासमेत तिराइएको मगरले बताए।

यसरी पटक–पटक चेतावनी दिँदै जरिवानासमेत तिराउँदा पनि सुधार नभउकाले सिल गर्नु परेको टोलीले जनाएको छ।

निर्देशन पालना नगरेको खण्डमा उद्योग सदाका लागि बन्द गर्न निर्देशन दिनसमेत सकिने चेतावनी सञ्चालकलाई दिइएको जिल्ला अनुगमन समिति संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी विक्रम पाण्डेयले बताए।

प्रकाशित: ५ जेष्ठ २०८३ २२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App