२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
खेल

‘मैदानमा पाइला टेक्दा देशका लागि केही गर्ने सपना देखेको थिएँ, अहिले खुसी लागेको छ’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलोपटक पाइला टेक्दा देशका लागि केही राम्रो गर्ने सपना देखेको स्मरण गर्दै अहिलेको यात्राबाट आफू निकै उत्साहित रहेको बताएका छन्।

सोमबार स्कटल्यान्डविरुद्धको रोमाञ्चक जितपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो व्यक्तिगत सफलताभन्दा टिमको जित र सहकार्यलाई प्राथमिकता दिएका हुन्।

सन्दीपले आफ्नो क्रिकेट यात्राको सुरुवाती दिनहरू सम्झिँदै भने, ‘मैदानमा प्रवेश गर्दा एउटा सपना थियो, आज यहाँसम्म आइपुग्दा खुसी लागेको छ। यदि हामीले राम्रो मन र सोचका साथ अगाडि बढ्यौँ भने सबै कुराहरू सकारात्मक ढङ्गले मिल्दै जाँदा रहेछन्।’

उनले यस यात्रामा टिमका सदस्यहरू, सहयोगी कर्मचारी, परिवार र सम्पूर्ण नेपाली समर्थकहरूको ठुलो हात रहेको सुनाए।

१५० विकेटको रेकर्ड र खेलका दौरान गरिएको उत्साहजनक खुसीयालीका बारेमा सोधिएको प्रश्नमा सन्दीपले रेकर्डभन्दा पनि खेलको परिस्थिति अनुसार विकेट लिनु महत्त्वपूर्ण रहेको बताए।

विशेषगरी स्कटल्यान्डका ब्याटर ब्रेन्डन म्याकमुलनले उत्कृष्ट ब्याटिङ गरिरहेको बेला उनको विकेट लिन पाउनु टिमका लागि ‘सुनमा सुगन्ध’ भएको उनको भनाइ थियो।

सन्दीपले ललित राजवंशीको प्रदर्शनको प्रशंसा समेत गरे। लामो समयदेखि ललितसँगै खेलिरहेका सन्दीपले विकेट लिनु मात्र सफलता नभएको तर्क गरे।

‘कहिलेकाहीँ ललितले एकतर्फबाट रन रोकिदिएकै कारण मलाई अर्कोतर्फबाट विकेट लिन सहज हुन्छ,’ उनले भने, ‘ललितले निकै कसिलो बलिङ गरेर दबाब सिर्जना गरेका थिए, जसको फल आज हामीले पायौं।’

डेब्यु खेलाडी इशान पाण्डेको प्रदर्शनप्रति पनि सन्दीपले खुसी व्यक्त गरे। इशानमा पहिलेदेखि नै राम्रो क्षमता भए पनि बिचमा अवसरको केही कमी भएको सन्दीपले स्वीकार गरे।

‘धेरै वर्षको धैर्यता पछि आज इशानले घरेलु दर्शकका अगाडि आफ्नो क्षमता प्रमाणित गरेका छन्, जुन टिमका लागि सुखद पक्ष हो,’ सन्दीपले थपे।

लिग २ को अङ्क तालिकामा नेपालको अवस्था सुधारिँदै गएकोमा सन्दीप निकै आशावादी देखिएका छन्। उनले टोलीको मनोबल उच्च रहेको र बाँकी खेलहरूमा पनि जितकै लागि मैदान उत्रिने बताए।

उनले भने, ‘भोक लागेपछि जसरी खाना खानैपर्छ, त्यसरी नै हामीले अबको हरेक खेल जित्नैपर्ने अवस्था छ। हाम्रो अबको ध्यान शीर्ष ४ मा परेर विश्वकप छनोट खेल्ने हो।’

उनले नेपाली क्रिकेटलाई अझ उचाइमा पुर्‍याउन सबैको साथ र माया आवश्यक रहेको बताए।

प्रकाशित: ४ जेष्ठ २०८३ १६:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App