१ चैत्र २०८१ शुक्रबार
image/svg+xml
कला

शान्त तालमा ढुङ्गाले हानेपछि के हुन्छ?

गजल

१) गजल

आउ न प्रिया छेउमै बस प्यार भर्ने कुरा गर,

प्यासी छु पिलाउ मलाई प्यास मर्ने कुरा गर।

सरेनन् कतै मनबारीमा माया फुल्ने बोटहरू,

मिसाई प्यार गोडमेल गर बोट सर्ने कुरा गर।

जमाना पनि उस्तै हो कि हामी त्यस्तै हो,

दुर्गन्धित छ जतासुकै बास्ना छर्ने कुरा गर।

देख्छु सबै खोला वारिपारि पुग्ने सपनामा,

फड्के बन्छु तिम्रो लागि खोला तर्ने कुरा गर।

कति मात्रै दुखी हुनु हाँस्न खोज सकेसम्म,

अलिकति पाइला बढाउ बैंस चर्ने कुरा गर।

२) गजल

जवानीको खहरे खोला तरियो हजुर आज,

पहाड हुँदै बेंसी खेत झरियो हजुर आज।

वारि गाँउ मेरो थियो पारि गाउँ उनको,

कुम्लो बोकी उतै बसाई सरियो हजुर आज।

आँखा जुझाई जवानीको राग अलापेको,

हाम्रो गीतमा मिठो धुन भरियो हजुर आज।

उनले राजा भन्दै थिइन् मैले पनि हजुर भने,

कसैको मनको राजा परियो हजुर आज।

सुखदुःख सबै बाड्ने बाचाकसम भए,

समयसँगै ल्याप्चे छाप गरियो हजुर आज।

३) गजल

मस्त जवानी तिम्रो लुट्न पाए हुन्थ्यो,

बैंसको घडाभित्र फुट्न पाए हुन्थ्यो।

मजा लिंदै जवानीको ढले भन्छन् सबै,

अरू जस्तो नभैकन छुट्न पाए हुन्थ्यो।

बैंसालु त्यो चालढाल हाउभाउ पनि,

यी सबै मन राखी खुट्न पाए हुन्थ्यो।

जति छोप्यो त्यति बढी छरपस्ट भो रे,

मेटाउन तिम्रो प्यास जुट्न पाए हुन्थ्यो।

हेरिरहूँ मात्रै हुने कस्तो जवानी तिम्रो,

बैंशले बैंसालुलाई चुट्न पाए हुन्थ्यो।

४) गजल

लजाउँदै तिम्रो हात ताने पछि के हुन्छ?

दुई दिल एकै जस्तो ठानेपछि के हुन्छ?

देख्ने गर्छु घाम जस्तै यत्रतत्र जोडीहरू,

तिम्लाई भेट्न गोधूलि छानेपछि के हुन्छ?

बुझेकी छौ तिम्ले पनि राम्रोसँग मेरा कुरा,

आँ गर्दा अलंकार जानेपछि के हुन्छ?

थाहा छ मलाई पनि मेरोबारे तिम्रो सोच,

मैले भन्या सबै कुरा मानेपछि के हुन्छ?

जिस्काउँदै नजरमा डुबुल्की मारी बस्दा,

शान्त तालमा ढुङ्गाले हानेपछि के हुन्छ?

प्रकाशित: ३० माघ २०८१ १३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App