१) मुक्तक
दुःख्दैन तन दुःख्दैन मन भन्ने भ्रम सकियो,
फेरिन्छ मेरो अब जीवन भन्ने भ्रम सकियो।
आजबाट पूर्ण रूपमा यो मनबाट पनि अब,
भगवान् पनि रहेछन् भन्ने भ्रम सकियो।
२) मुक्तक
दुःखपीडा हराए जस्तो गरिदिन्छु आफन्तसँग,
खुसीको अवार्ड पाए जस्तो गरिदिन्छु आफन्तसँग।
बेहालमा चलेको छ जिन्दगी चल्नलाई आखिर,
खुब मुस्कुराए जस्तो गरिदिन्छु आफन्तसँग।
३) मुक्तक
गराएर सपना छिन्नभिन्न आखिर किन गर्छाै,
भन्दै विश्वास टुक्रिन दिन्न आखिर किन गर्छाै।
मेरो जीवन सकिंदा त खुसी भएकी छु तिमी,
प्रेम सकिंदैमा मन खिन्न आखिर किन गर्छाै।
४) मुक्तक
यसरी अप्ठ्यारोमा पार्न जरूरत थियो र,
बिनागल्ती पनि हार्न जरूरत थियो र।
तिम्रो दुःखमा आमाले हात थामेकै थिइन् त,
फेरि बा अर्को श्रीमती स्वीकार्न जरूरत थियो र।
५) मुक्तक
गरोस् उस्ले पनि घात भन्न नसकेर,
छुटोस् अब तिमीहरूको साथ भन्न नसकेर।
छुट्ने बेला मुस्कुराउँदै खुसी हुनु भने,
होस् अब जिन्दगी नै बर्बाद भन्न नसकेर।
६) मुक्तक
ढलेपछि तिम्रो प्रेमको घर के हाल हुन्छाै होला,
सकिंदा सँगै जिउने रहर के हाल हुन्छाै होला।
अहिले त मेरो बोली नसुनी ननिदाउने तिमी,
म मरेको पुग्यो भने खबर के हाल हुन्छ होला।
७) मुक्तक
बस्नुपर्छ आफ्नै सपना मारी आखिर केका लागि,
भयो मेरा रहर न वारि न पारि आखिर केका लागि।
हिजोसम्म त चूपचाप सहेकै थिएँ त मैले दुःख,
आज पनि दुःखकै भकारी आखिर केका लागि।
८) मुक्तक
कति बस्छाै आँसु पिएर खुसी हुनु तिमी,
मनमा शान्ति लिएर खुसी हुनु तिमी।
माफ गर कान्छू मलाई धोका दिएँ मैले,
अब विगत सबै बिर्सिएर खुसी हुनु तिमी।
९) मुक्तक
भयो आखिर तिम्रै हार नै राम्रो भयो,
चलाएथाै विश्वासमा तरबार झनै राम्रो भयो।
कमजोर ठानेर बाटोमा छोडिगएको थियाै,
तिमीले छोडेपछि मेरो संसार झनै राम्रो भयो।
१०) मुक्तक
नत भयो सुर न त ताल, खराब चलेको छ,
एक मात्र हैन हरेक साल, खराब चलेको छ।
गर्न त आखिर सङ्घर्ष गरेकी नै छु मैले फेरि,
खै किन जिन्दगीको हाल, खराब चलेको छ।
- सपना कुँवर
प्रकाशित: १९ माघ २०८१ १२:४२ शनिबार