१) मुक्तक
ती बाटामा काँडै काँडा छन् पन्छाउनु छ मैले,
एकान्तमा भूतहरू बस्छन् मन्छाउनु छ मैले।
सर्वत्र अशान्ति पीडा र मनोयुद्ध मात्र देख्छु,
अब देशमा शान्तिको गीत घन्काउनु छ मैले।
२) मुक्तक
हिंड्दाहिंड्दै बाटोमा ईश्वर भेटाइदिन मन छ,
लर्खराईरहेका ती पाउ सीधा टेकाइदिन मन छ।
एउटा यस्तो औजरको आविष्कार गर्न सकूँ कि,
तिम्रो मनको जम्मै पीडाहरू मेटाइदिन मन छ।
३) मुक्तक
सम्पत्तिले पीडा दिए अब दान छान्नू,
मायाले दुख दियो भने वितराग छान्नू।
मेशिन त मनभित्रै हेर्न जान्नुपर्ने रैछ,
काम गर्दा द्विविधा भए उपकार छान्नू।
४) मुक्तक
जिन्दगीमा व्यवहार छिन्न बाँकी रैछ,
पैसा तिरी इष्टमित्र किन्न बाँकी रैछ।
बाँकी काम गनिराछु अझै गन्नु कति?
मान्छे चिनें भन्थें मन चिन्न बाँकी रैछ।
५) मुक्तक
हातहरू सन्दिग्ध छन् मिलाउन डर लाग्छ,
मिलाउँदिन भन्दा पनि मिलाउन कर लाग्छ।
कहाँ लुक्छन् त अचेल असन्दिग्ध मान्छेहरू,
त्यस्तो मान्छे खोज्दै छु जस्को ठूलो भर लाग्छ।
६) मुक्तक
जिन्दगी भन्नु हल्लै हल्लाको पुञ्ज न हो,
कर्तव्य भन्नु मन डुलाउने निकुञ्ज न हो।
के न पढ्यौं भन्छौँ, के न लेख्यौं भन्छौं,
सारा आवाजहरू प्रकृतिको गुञ्ज न हो।
७) मुक्तक
हजुरको त विग्रहमा पनि ऊर्जा हुने गर्छ,
सन्त अनुयायीका बोलीले मन छुने गर्छ।
शब्दहरूका चाङ हुन् कि साबुन हुन् ती,
हृदयमा युगौं देखि जमेको मयल धुने गर्छ।
८) मुक्तक
कतै नाम लेखियो कतै लाम बसियो,
कतै शिखर चढियो कतै तल खसियो।
चढाउने नि मान्छे खसाल्ने नि मान्छे,
हेर्दाहेर्दै यो जीवन धापमा पो धसियो।
९) मुक्तक
डाक्टर सापले त छामेपछि पैसा पाक्छ,
झाँक्री झन् टाढै कामेपछि पैसा पाक्छ।
लाटाको पैसा चतुरेले पकाएर खान्छन्,
बोल्न जान्नेले त डामेपछि पैसा पाक्छ।
१०) मुक्तक
भाषाणले होइन म कामले जनता रिझाउँछु,
फाटेको छ मन नेपालीको म प्रेमले सिलाउँछु।
कथनी र करनी कहिल्यै मिल्दैन कि देशमा!
साँच्चै भनेको हो र! पसिनाले देश भिजाउँछु।
प्रकाशित: १५ माघ २०८१ १२:२५ मंगलबार