२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

महिला ‘भलमन्सा’ राजकुमारीको संघर्षपूर्ण कथा

घोडाघोडी नगरपालिका–१० आमखोइया शिविरकी ५१ वर्षीया राजकुमारी चौधरी लगातार पाँच वर्षदेखि ‘भलमन्सा’को जिम्मेवारी सम्हाल्दै आएकी छन्। थारु समुदायमा हरेक वर्ष माघीका दिन गाउँको नेतृत्व गर्न भलमन्सा चयन गर्ने परम्परा छ।

पुरुषप्रधान समाजमा महिलाले नेतृत्व लिनु सहज मानिँदैन। थारु समुदायका गाउँहरूमा अधिकांश भलमन्सा पुरुष नै हुने गर्छन्। महिला भलमन्सा भएकै कारण राजकुमारीले विभिन्न अपमान र चुनौतीको सामना गर्नुपरेको छ। गाउँलेले भलमन्सा चुनेपछि पनि उनको काम सहज भएन। घरायसी कामसँगै गाउँका समस्या समाधानका लागि बाहिर खटिनुपर्ने दोहोरो जिम्मेवारी थियो।

‘घरभित्र र बाहिरको काम सँगसँगै गर्दा धेरै समस्या हुन्थ्यो,’ राजकुमारी भन्छिन्, ‘भलमन्सा बनेपछि केही पुरुषले महिला भएकै कारण हेप्ने र अपमान गर्ने गरे। महिला भएर के भलमन्सा हुन्छे, के काम गर्न सक्छे भन्ने तिरस्कारपूर्ण कुरा पनि सुन्नुपर्‍यो।’

अपमानमा मात्र सीमित नभई ज्यान मार्ने धम्कीसमेत आएको थियो। कलह र झगडाका घटनाहरू पनि भए। तर ती सबैलाई बेवास्ता गर्दै उनी गाउँका झगडा मिलाउन र समस्या समाधान गर्न निरन्तर खटिइन्। परिवारको साथ र सहयोगले जिम्मेवारी सम्हाल्न सहज भएको उनी बताउँछिन्।

औपचारिक शिक्षाबाट वञ्चित राजकुमारीका अनुसार उनले एक कक्षासमेत पढ्न पाइनन्। छोरीलाई पढाउन हुँदैन भन्ने सोचका कारण माइतमा पनि विद्यालय जान दिइएन। एक शिक्षकले निःशुल्क पढाइदिने प्रस्ताव गर्दा पनि बाजेले विद्यालय नपठाएको बाल्यकालको घटना उनी अझै सम्झन्छिन्।

सुरुमा आफ्नो नाम भन्नसमेत कठिन हुने, बोल्न डर लाग्ने अवस्था थियो। तर समयसँगै आत्मविश्वास बढ्दै गयो। सुरुमा भलमन्सा बन्ने प्रस्ताव उनका श्रीमानलाई गरिएको थियो। ‘तपाईं भलमन्सा बन्नुहोस्, काम म गर्छु,’ भन्दै दुई वर्षसम्म श्रीमान्को नाममा उनले काम गरिन्। तेस्रो वर्षदेखि भने उनी आफैं भलमन्सा चयन भइन्। अहिले घरमा एक्लै भएकाले जिम्मेवारी सम्हाल्न गाह्रो भएको भन्दै भलमन्सा नदोहोर्‍याउने सोच बनाएको उनी बताउँछिन्।

भलमन्साको जिम्मेवारीसँगै उनले खेतीपाती र बंगुरपालनजस्ता काम पनि गर्दै आएकी छन्। समाजमा महिलामाथि मात्र प्रश्न उठ्ने प्रवृत्तिले उनलाई अघि बढ्न प्रेरित गरेको छ। आज उनी आमखोइया शिविरकी भलमन्सा मात्र नभई महिलाले पनि गाउँको नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण बनेकी छन्।

भलमन्साको हैसियतमा उनले गाउँका साना–ठूला विवाद समाधान गर्ने, पारिवारिक झगडा मिलाउने र सामाजिक कलह नियन्त्रण गर्ने काम गर्दै आएकी छन्। भलमन्सा बनेकै वर्ष उनले गाउँमा बिजुली विस्तारको माग उठाइन्, जसका कारण विद्युत् सेवा पुगेको छ। सडकमा कल्भर्ट निर्माण, शौचालय निर्माणलगायतका पूर्वाधारसम्बन्धी काम पनि उनको पहलमा सम्पन्न भएका छन्। कृषकका लागि बाख्रापालनजस्ता आयमूलक कार्यक्रम सञ्चालन गरिएको उनी बताउँछिन्।

राजकुमारीले स्थानीय महिलालाई एकजुट बनाउने काम पनि गरेकी छन्। ‘पुरुषहरू धेरैजसो रोजगारीका लागि बाहिर जान्छन्,’ उनी भन्छिन्, ‘के–के माग गर्ने भनेर महिलाहरू एकजुट हुन्छौं र मिलेर काम पनि गर्छौं।’

यसका साथै वडा कार्यालय, नगरपालिका, प्रहरी तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरेर गाउँका समस्या समाधानका लागि पहल गर्दै आएकी छन्। गाउँलेका गुनासा, माग र पीडालाई सम्बन्धित निकायसम्म पुर्‍याउनु उनको नियमित जिम्मेवारी हो। जात, लिङ्ग र वर्गका आधारमा हुने विभेद घटाउँदै सामाजिक एकता र सद्भाव कायम गर्न उनले महत्वपूर्ण भूमिका खेल्दै आएकी छन्।

 

प्रकाशित: ५ माघ २०८२ २१:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App