१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

चलचित्र उद्योगलाई पर्यटनसंँग जोड्न आवश्यक छ : राष्ट्रपति पौडेल

<br>

राष्ट्रपति रामचन्द्र पौडेलले गुणस्तरीय र अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने गरी चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्न आग्रह गरेका छन्।त्यसका लागि नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक प्रविधि, उपकरणसँग जोड्न आवश्यक रहेको उनको भनाई थियो।

चलचित्र विकास बोर्डले आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक प्रविधि, उपकरणको प्रवन्ध गरी गुणस्तरीय र अन्तराष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने चलचित्रलाई पर्दामा उत्रारेर चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसँग जोड्न यस अवसरमा सबै कलाप्रेमी महानुभावहरुलाई आव्हान गर्दछु।यसमा नेपाल सरकारले आवश्यक नीति,नियमसहित पर्याप्त पूर्वाधार र स्रोतसाधन जुटाउन सहयोग गर्ने मैले विश्वास लिएको छु।’

राष्ट्रपति पौडेलले ठूला ठूला विषयबस्तु भन्दा गाउँसमाजमा देखिएका स–साना तर मौलिक कथा र चरित्रलाई प्रस्तुत गरेर ओझेलमा परेको नेपाली भाषा संस्कृति तथा परम्पराको जर्गाना गर्न पनि नेपाली चलचित्र उद्योगले थप मेहनत गर्ने आफूले अपेक्षा राखेको बताए।

उनले पछिल्लो समय व्यावसायिक सफलता र कथा प्रस्तुतिमा आएको शैलीगत विशेषताले नायकत्वभन्दा कथाका विषयवस्तु र चरित्रलाई प्रधानता दिएका चलचित्रलाई नेपाली दर्शकले औधी रुचाउन थालेको पनि उल्लेख गरे।राष्ट्रपति पौडेलले मौलिक कथा, प्रस्तुतिमा नविनता र अधिक सृजनशीलताले नेपाली चलचित्र क्षेत्रलाई विकासको नयाँ उचाईमा पुर्‍याउने बताए।  

उनले चलचित्र चेतना, शिक्षा र नवीन सोचको द्योतक भएको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन नैतिक शिक्षा र सामाजिक न्यायको सन्देश दिने खालको चलचित्र निर्माणतर्फ तपाईहरुको ध्यान जानुपर्ने उल्लेख गरे।

राष्ट्रपति पौडेलले भने, ‘चलचित्र क्षेत्र केवल मनोरञ्जनको माध्यममात्र नभएर यो हाम्रै समाज, जीवन र जगतलाई जीवन्त ढंगले अभिव्यक्त गर्ने एक सशक्त माध्यम पनि हो। यसका कथा र प्रस्तुतिमा मानिसका भोगाई र समाजका यावत क्रियाकलाप प्रतिविम्वित भएको हुन्छ । तसर्थ, यो समाजको ऐना पनि हो। आधुनिक युगमा चलचित्र कुनैपनि समाजको संस्कृति, पहिचान र विविधतालाई देश तथा विदेशमा सहजै पुर्‍याउने माध्यम बनेको छ । यसबाट हामीले पनि लाभ लिन जरुरी छ।’

चलचित्र र मनोरञ्जन क्षेत्रमा देखापर्ने विकृति र विसंगतिलाई नियमन गर्न नियामक निकायकारुपमा रहेको विकास वोर्डलगायतका निकायहरुले उचित कदम अगाडि बढाउन जरुरी रहेको बताउँदै उनले भने, ‘यस क्षेत्रमा प्रतिभाशाली जागरुक युवाहरुलाई अवसर दिन, राम्रा चललचित्र बनाउने र राम्रो अभिनयलाई उत्प्रेरित गर्नेतर्फ विकास बोर्डको ध्यान सदैव केन्द्रित हुनुपर्छ ।’

सो क्रममा राष्ट्रपति पौडेलले दीर्घसाधना सम्मानबाट अभिनेत्री चैतीदेवि सिंहलाई ३ लाख ७५ हजार रुपैयाँसहित प्रमाणपत्र  प्रदान गरेका थिए।कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न विधाका पुरस्कार वितरण गरिएको थियो।

प्रकाशित: १२ मंसिर २०८१ १८:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App