१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अर्थ

पर्यटकीय क्षेत्र पाहुनाले भरिभराउ

सहरदेखि हिमाली भेगका गन्तव्यमा पनि पाहुना खचाखच

पोखराको लेकसाइडका आयोजित मेलामा घुम्न आएका पाहुनाको भीड। तस्बिरः सन्तोष/नागरिक

अंग्रेजी नयाँवर्षको सुरुवाती र पुरानो वर्षको बिदाईसँगै विभिन्न सहरमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ। नयाँवर्ष स्वागतार्थ र पुरानो वर्ष बिदाईका क्रममा आयोजित विभिन्न गतिविधिका कारण सहरदेखि हिमाली भेगका पदमार्ग र गन्तव्यसम्म पाहुनाको भीडभाड बनेको त्यहाँका व्यावसायीले बताएका छन। यो सिजनमा आन्तरिक र भारतीय पाहुनाको आगमन उत्साहजनक रहेको त्यहाँका व्यावसायीको भनाई छ।  

पर्यटकीय सहर पोखरा आन्तरिक तथा भारतीय पाहुनाले भरिभराउ छ । अंग्रेजी नयाँवर्षको अवसरमा आयोजित पोखरा सडक महोत्सवमा सहभागि हुन आउने पाहुनाका कारण लेकसाइडका होटल भरिभराउ छन। व्यावसायीले एकसातासम्मका लागि होटलमा पाहुना अभाव नरहेको बताईसकेका छन। रेस्टुरेन्टदेखि होटलसम्म खानपिनमा रमाउने पाहुनाको भीड रहेको उनीहरुको भनाई छ। यसले आर्थिक रुपमा चलायमान बनाएको पनि व्यावसायी बताउँछन।

पोखरा मात्र नभई अरु पर्यटकीय गन्तव्य पनि पाहुनामय बनेका छन। पोखरा आसपासका ग्रामीण क्षेत्र पनि पाहुनाले भरिभराउ बनेका छन्। कास्कीको ग्रामीण पर्यटकीय गन्तव्य घान्द्रुक सहित पोखरा आसपासका पर्यटकीय क्षेत्र पाहुनाले भरिभराउ बनेका छन। तनहुँको बन्दीपुर देखि चितवनको सौराहामा पनि नयाँवर्षका अवसरमा आएका पाहुनाका कारण होटल भरिभराउ रहेको त्यहाँका व्यावसायीले बताएका छन।  

अन्नपूर्ण आधारशिविर (एबिसी) सहितका पर्यटकीय गन्तव्यमा पनि आन्तरिक पाहुना पुगेको त्यहाँका व्यावसायीले बताएका छन। त्यस्तै पोखरा नजिकैको धम्पुस सहितका गाउँ पनि पर्यटकले भरिभराउ बनेका छन। एबिसी पदमार्गमा पर्ने माछापुच्छ्रे आधारशिविर (एमबिसी)मा व्यावसाय संचालन गरिरहेका दिलीप गुरुङ गुरुङका अनुसार अहिले घान्द्रुक, छोमरोङ सहित आधारशिविरका होटल पाहुनाले भरिभराउ छन।  

‘योपटक क्रिसमसदेखि नै सिजन जत्तिकै पाहुनाको भीडभाड छ। अन्नपूर्ण आधारशिविर क्षेत्रमा पाहुनाको आकार निकै नै राम्रो छ,’ उनले भने, ‘अफसिजनको समयमा पनि सिजनको झल्को हामीले पाएका छौ।’ पर्यटनको मुख्य सिजन केही समय अघि सकिएको भएपनि यो बेला भने आन्तरिक र भारतीय पाहुना घुम्न पुग्दा सिजनको जत्तिकै चहलपहल देखिएको उनले बताए।  

अघिल्ला वर्ष यो बेला कम संख्यामा पाहुना पुग्ने हुँदा कर्मचारी पनि थोरै नै राखेर सेवा दिने गरेको भएपनि यो पटक भने पाहुनाको आकार बढेपछि पर्याप्त कर्मचारी राखेको समेत उनले बताए।

‘करिब सतप्रतिशत क्षमतामा अहिले अन्नपूर्ण क्षेत्रको पर्यटन चलेको छ,’ उनले भने, ‘क्रिसमस सुरु भएपछि नेपाली, भारतीय, चिनियाँ पाहुना आएका छन। युवापुस्ताका पाहुनाको भीडका कारण पर्यटकीय गाउँमा चहलपहल थपिएको छ। व्यवासायीलाई व्यस्त बनाएको छ।’  

यो बेला चिसो मौसम भएपनि हिमपात नहुँदा पाहुना उच्च हिमाली क्षेत्रसम्म घुमघामका लागि जान सहज भएको उनले बताए। ‘आधारशिविरसम्म आउजाउ गर्न अहिले निकै नै सहज छ। यात्रामा कतैपनि अवरोध छैन। चिसो बढेपनि यात्रामा कठिनाई नभएपछि पाहुना उक्लिने क्रममा छन,’ उनले भने, ‘मौसमले साथ पनि दिएको छ। अघिल्ला वर्षजस्तो कमजोर नभई यो पटक सोचेभन्दा राम्रो आगमन भएको छ।’

तनहुँको बन्दीपुरमा पनि उत्तिकै आकारमा पाहुना आएको त्यहाँका व्यावसायीले बताएका छन। बन्दीपुर भ्रमण वर्षका संयोजक तथा बन्दीपुरका पर्यटन व्यावसायी बैस गुरुङले पनि यो पटक सोचेभन्दा राम्रो आकारमा पाहुना आएको बताए। ‘मंगलबार बेलुकी बन्दीपुरमा कौरा महोत्सव आयोजना गरिएको थियो। कौरा नाच हेर्नकै लागि एकैपटक ठूलो संख्यामा पाहुना भित्रिए। त्यसबाहेक घुमघामका लागि आएका पाहुनाका कारण गतिविधि बढेको छ,’ उनले भने।  

उनका अनुसार बन्दीपुरसँग सन् २०२५ को भ्रमण वर्ष अवधिमा कम्तिमा दुईलाख पाहुनालाई बास बसाउने र तीनलाख पाहुनालाई घुमाउने योजना थियो। तर, त्यो भन्दा बढी आकारमा पाहुना बास बसेको र घुमेको पनि उनले बताए। ‘कम्तिमा तीनलाख पाहुनाले यो एकवर्ष अवधिमा बन्दीपुरमा बास बसेको देखिएको छ। त्यस्तै आठलाख जति पाहुना घुम्न आएको देखिएको छ,’ उनले भने, ‘यो पटक आन्तरिक पाहुना पनि पर्याप्त आएका छन। अहिले पनि होटल भरिभराउ रहेका छन। अझै केहीदिनका लागि पाहुनाको बुकिङ राम्रो रहेको छ।’  

त्यस्तै पोखरामा पनि पाहुना आगमन निकै नै उत्साहजन भएको यहाँका व्यावसायीले बताएका छन। पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपि भट्टराईका अनुसार यो बेला  पोखरामा भित्रिएका पाहुनाको आकार निकै नै बढी रहेको छ। 

‘सानातिना सबै होटल यो बेला भरिभराउ छन। पाहुना आगमन उत्साहजनक रहेको छ,’ उनले भने, ‘आन्तरिक पाहुना पर्याप्त छन । यो बेला भारतीय पाहुनाको आगमन पनि उत्साहजनक रहेको छ।’

भट्टराईका अनुसार लेकसाइडमा चलिरहेको सडक महोत्सवका कारण पनि पोखरा पर्यटनमय बनेको छ। पोखरामा भएको गतिविधिको प्रभावले पोखरा आसपासका पर्यटकीय गाउँ पनि पर्यटनले भरिएको उनले बताए। ‘योपटक अघिल्ला वर्षको तुलनामा पाहुना आगमन निकै नै उच्च रह्यो। आन्तरिक र भारतीय पाहुना पर्याप्त भित्रिएका छन। यो बेला त सबैजसो होटलले पाहुना पाएका छन,’ उनले भने।  

व्यावसायीका अनुसार लेकसाइडका सबैजसो होटल भरिभराउ छन। मंगलबार मुख्य सडक लेकसाइड पाहुनामय थियो । पोखराभित्रका मात्र नभई आसपासका क्षेत्रका आन्तरिक पाहुना यो बेला पोखरा आएका छन। त्यस्तै काठमाडौं, बुटवल, चितवन लगायतका क्षेत्रका पाहुना पनि यो बेला पोखरा आएको उनले बताए।  

‘होटलको अकुपेन्सी पनि करिब ९० प्रतिशत छ। कतिपय चल्तीका होटल त शतप्रतिशत भरिभराउ भएका छन। पाहुना आगमनका कारण पर्यटन क्षेत्र चलायमान बनेको छ,’उनले भने, ‘अघिल्ला वर्ष न्यू इयर इभमा मात्र पाहुनाको भीड हुन्थ्यो। तर, अहिले भने सबैतिर पाहुना खचाखच रहेका छन।’

प्रकाशित: १६ पुस २०८२ १७:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App