धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम गर्ने उद्देश्यले जिल्लाको अरुण गाउँपालिकास्थित मर्याङडाँडामा त्रिधार्मिकस्थल निर्माण गरिएको छ। यहाँ एउटै परिसरमा हिन्दू, बौद्ध र किरात धर्मसँग सम्बन्धित संरचनाहरू निर्माण गरिएका हुन्।
धर्मका नाममा विभाजन होइन, एकता र सहिष्णुताको सन्देश प्रवाह गर्ने लक्ष्यसहित अरुण आध्यात्मिक प्रतिष्ठानले करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको यस स्थानमा योजनाबद्ध रूपमा संरचना निर्माण गरेको हो। प्रतिष्ठानका सचिव सोमनाथ शर्माले तीन वटै धर्मावलम्बीले एकैस्थानमा आफ्ना धार्मिक परम्परा, संस्कार र अभ्यासलाई निरन्तरता दिन संरचना निर्माण गरिएको बताए।
हिन्दू धर्मावलम्बीका लागि आकर्षक शैलीमा मन्दिर, किरात समुदायका लागि सांस्कृतिक पहिचान झल्कने मानखिम घर तथा बौद्ध धर्मावलम्बीका लागि शान्तिको प्रतीक स्तूपा निर्माण गर्नुका साथै धार्मिक ज्ञान आदानप्रदान संस्थागत बनाउन पाठशाला सञ्चालनमा ल्याइएको उनले बताए।
हाल उक्त पाठशालामा ७२ प्रशिक्षार्थी छन्। उनीहरूले तीनै धर्मसम्बन्धी आधारभूत तथा व्यावहारिक ज्ञान हासिल गरिरहेका छन्।
“यसका अतिरिक्त गौशाला, बहुउद्देश्यीय सभाहल, भोजनालय, अतिथिगृह, योगशाला लगायतका संरचनाहरू निर्माण गरिएका छन्। यहाँ नियमित रूपमा ध्यान, योग, सत्सङ्ग, प्रवचन, भजनकीर्तन तथा धार्मिक–सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै आएका छन्”, सचिव शर्माले बताए,“विशेष पर्व–उत्सवका अवसरमा तीनै धर्मका अनुयायीहरू एकैस्थानमा भेला भएर कार्यक्रम आयोजना गर्ने परम्परा बसाल्ने प्रयास भइरहेको छ। यसले स्थानीयस्तरमा आध्यात्मिक चेतना अभिवृद्धि हुनाका साथै सामाजिक एकता अझ सुदृढ बन्ने हाम्रो विश्वास छ।”
विसं २०७७ देखि सुरु गरिएको निर्माण कार्यमा हालसम्म सङ्घीय र प्रदेश सरकार तथा जिल्लाका नौवटै स्थानीय तह तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा करिब आठ करोड रूपैयाँ बराबरको लगानी प्राप्त भएको प्रतिष्ठानले जनाएको छ। चरणबद्ध रूपमा संरचना विस्तार गर्ने योजनाअनुसार हाल भारतीय दूतावासको करिब चार करोड र गाउँपालिकाको एक करोड रूपैयाँ लागत साझेदारीमा विद्यालय भवन निर्माण भइरहेको छ।
समाजसेवी डा. लोचन कार्कीले यस क्षेत्रलाई धार्मिक तथा ‘दिव्यभूमि’ का रूपमा विकास गर्ने लक्ष्यसहित आफ्नो परिवारले करिब ३० रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको बताए।
“त्रिधार्मिक स्थलको स्थापनाले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ। धार्मिक सहअस्तित्वको सन्देश दिने यस्तो संरचनाले देशविदेशबाट पर्यटक भित्र्याउन मद्दत पुग्नेछ”, उनले भने।
बौद्ध धर्मका जानकार (लोचावा) पुण्यप्रसाद सुवेदीले आफ्नै पहल तथा विभिन्न दाताको सहयोगमा बौद्ध स्तूपा निर्माण गरिदिएको बताए। हाल काठमाडौँमा बसोबास गर्दै आए पनि जन्मभूमिप्रति गहिरो माया राख्दै स्तूपा निर्माण गरिएको उनले उल्लेख गरे। सुवेदीले धार्मिक संरचनाले स्थानीय युवापुस्तालाई आफ्नो मौलिक पहिचान र आध्यात्मिक मूल्यमान्यतासँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
धर्मगुरु प्राडा गुरुप्रसाद सुवेदीले यस क्षेत्रलाई भविष्यमा धार्मिक अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सकिने बताए। यहाँ धार्मिक ग्रन्थ अध्ययन, अन्तरधार्मिक संवाद, खोज, अनुसन्धान कार्यक्रम सञ्चालन गर्न सकिने उनको भनाइ छ।
प्रतिष्ठानले आगामी दिनमा प्राकृतिक चिकित्सा केन्द्र, सांस्कृतिक सङ्ग्रहालय तथा ध्यान–आश्रमसमेत स्थापना गर्ने लक्ष्य राखेको छ। यसले धार्मिक आस्था मात्र नभएर स्वास्थ्य, संस्कृति र पर्यटन क्षेत्रको विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
स्थानीयवासीका अनुसार त्रिधार्मिकस्थलको निर्माणले अरुण क्षेत्रलाई नयाँ पहिचान दिएको छ। यो स्थान विविधतामा एकता र धार्मिक सहिष्णुताको ज्वलन्त उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। यसलाई आगामी दिनमा राष्ट्रियस्तरमै नमूना परियोजनाका रूपमा चिनिने विश्वास गरिएको छ।
प्रकाशित: १४ फाल्गुन २०८२ ११:१६ बिहीबार





