१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

‘प्रभुराम राई कप फुटबल’ माघ ७ देखि

उपाधि विजेतालाई तीन लाख पुरस्कारसहित एकै परिवारले प्रायोजन गर्ने

प्रतियोगिताबारे जानकारी गराउन दिक्तेलमा आयोजित पत्रकार सम्मेलन ।

खोटाङको बुईपास्थित एक परिवारले जिल्लाकै सर्वाधिक पुरस्कार राशीको आमन्त्रण फुटबल प्रतियोगिता प्रायोजन गर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ का प्रभुराम राईको परिवारले प्रथम पुरस्कार ३ लाख र दोस्रो पुरस्कार डेढलाखसहित ट्रफी दिनेगरि आमन्त्रण फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।  

प्रतियोगिताबारे मङ्गलबार साँझ सदरमुकाम दिक्तेलमा पत्रकार सम्मेलन गरि जानकारी दिइयो । सोही क्लबका संस्थापक अध्यक्ष रहेका प्रभुराम राईको परिवारले उनकै सम्मानमा अहिलेसम्म खोटाङको पहिलो ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता गर्न लागेको जानकारी दिइयो । क्लबका पूर्व सचिव ओमप्रकाश घिमिरेका अनुसार बुईपाको यलम्बर रङ्गशालामा हुने ‘प्रभुराम राई कप–आमन्त्रित फुटबल प्रतियोगिता २०८२’ आउँदो माघ ७ देखि ११ गतेसम्म सञ्चालन हुनेछ ।  

विजेता टिमलाई ३ लाख नगदसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले १ लाख ५१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरि सेमिफाईनल पुग्ने २ खेल समूहलाई ५०/५० हजार नगदका साथ मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । हरेक दिनको खेलमा म्यान अफ द म्याच घोषणा गरि पुरस्कृत गरिने छ भने प्रतियोगिता अवधिभर र्वोत्कृष्ट हुने खेलाडीले २० हजार नगदसाथ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।  

प्रतियोगितामा जिल्लाभित्रका आधादर्जन र बाहिरका गरि १० टिमलाई सहभागी गराउनेछ । घरेलुसहित खोटाङका ६ टिम तथा खोटाङ बाहिरका ४ टिमको सहभागी हुने प्रतियोगिताका विद्यागततर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई पनि जनही १५ हजार नगदसहित पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।  

प्रभुराम राई ०६२ मा स्थापना भएको ‘बुइपा–११ स्पोर्टस् क्लब’का संस्थापक अध्यक्ष हुन् । पूर्व बेलायती गोर्खा सैनिकसमेत रहेका राईको सम्मानमा हुन लागेको प्रतियोगिताको संरक्षण जिल्ला फुटबल सङ्घ (एनफा) खोटाङले गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । तत्कालीन बुइपा गाउँ पञ्चायतका जननिर्वाचित प्रधानपञ्चसमेत रहेका क्लबका संस्थापक अध्यक्ष राई गाउँ विकास तथा खेलकुद विकास भनेपछि हुरुक्क हुने गरेको योगदानकै उच्च मूल्याङ्कनरुस्वप परिवारले प्रतियोगिता गर्न लागेको जनाइएको छ ।  

हाल ८२ वर्ष पुगेका प्रभुराम अहिले पनि गाउँ र खेलकुद विकासको सवालमा धेरै चासो राख्ने गरेको बुईपाका वडाध्यक्ष तथा उनकै छोरा दिनेश राईले बताए । वडाध्यक्ष राईका अनुसार यो प्रतियोगिताले सम्मानसँगै जिल्लामा राष्ट्रियस्तरका फुटबल खेलाडी जन्माउन मद्धत गर्ने अपेक्षा परिवारजनले लिएका छन् ।  

खोटाङको ऐतिहासिक तथा महत्वपूर्ण बजार बुईपामा हुन लागेको यो पहिलो आमन्त्रित पुरुष फुटबल प्रतियोगिताले खेलकुदक्षेत्रमा नयाँ आयाम थप्ने आसा पलाएको उनले बताए । प्रतियोगितामा १७ लाखभन्दा बढी लाग्ने सम्पूर्ण खर्च राई परिवकारभित्रबाटै व्यवस्थापन गरिने पनि वडाध्यक्ष राईले बताए ।  

एन्फा खोटाङका अध्यक्ष ध्रुबविक्रम राईले ८२ वर्षे बृद्ध उमेरमा पनि खेलकुद भनेपछि हुरुक्क हुने प्रभुरामले खेलकुद विकासका लागि बुईपा राजाबासस्थित आफ्नै जमिन निःशूल्क दान दिएर खेलमैदानसमेत निर्माण गरिदिएको बताए । गाउँघरमै राम्रा र असल खेलाडी उत्पादन गरेर राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नुपर्ने सोँच उनले लिदै आएको राईले बताए ।  

प्रकाशित: १६ पुस २०८२ १७:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App