नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले जेन-जी आन्दोलनले राजनीतिक नेतृत्वलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले यस्तो बताएका हुन्।
दाहाल भने, ‘जेन-जी आन्दोलनले एकातिर राजनीतिक नेतृत्वलाई र समाजका सबै स्थापित संघ-संस्था र तिनका प्रतिनिधिहरूलाई आत्मसमीक्षा गर्न शक्तिशाली ढंगले उत्प्रेरित गरेको छ भने, अर्कोतिर नयाँ संकल्प गर्ने वा इतिहासको मञ्चबाट पन्छिने भन्ने प्रश्न खडा गरिदिएको छ।’
उनले अब आफ्नै आत्मसमीक्षा गरेर कमजोरी सच्याउँदै जनता र राष्ट्रको आवश्यकतालाई केन्द्रविन्दुमा राखेर नयाँ संकल्पसहित अघि बढ्नुको विकल्प नरहेको बताए।
‘हामीले आत्मसमीक्षा गरेर कमजोरी कहाँ भयो र त्यसलाई कसरी सच्याउने भनेर नयाँ प्रतिबद्धतासहित अघि बढ्ने वा इतिहासमा अब आफ्नो औचित्य सकियो भनेर पन्छिने ? यो आन्दोलनले हामी सबैको अगाडि गम्भीर प्रश्न खडा गरेको छ,’ उनले भने।
मुलुक अहिले असाधारण र असहज परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै दाहालले वर्तमान संकटको समाधान राष्ट्रिय राजनीतिक वा सर्वपक्षीय सहमतिबाट मात्रै सम्भव हुने जिकिर गरे।
उनले भने, ‘हामीले यो संकटको समाधान गर्ने भनेको राष्ट्रिय राजनीतिक या सर्वपक्षीय सहमति नै हो। चुनावमा गए पनि हामी सहमतिबाटै जानुपर्ने हुन्छ र अन्य कुनै विकल्पको बारेमा सोच्ने हो भने पनि राष्ट्रिय राजनीतिक सहमतिबाटै जानुपर्छ।’
संयोजक दाहालले प्रधानमन्त्री र सरकारले मुलुकको निकास निर्वाचन नै हो भन्ने दृढता प्रदर्शन गरेकोमा धन्यवाद समेत व्यक्त गरे।
धेरै खालका जटिलता र चुनौतीहरू झेल्दै निर्वाचनको वातावरण बनाएको भन्दै उनले अब देश अन्योलबाट मुक्त भई निर्वाचनको तयारीतिर गएको बताए।
प्रकाशित: १६ पुस २०८२ १७:२४ बुधबार





