१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

मोरङमा मतपत्र सुरक्षा गर्न बल प्रयोग गरिने

क्याप्शन

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले मतपत्रको सुरक्षाका लागि अधिकतम  बल प्रयोग हुने बताएका छन्। 

आइतबार नेपाल पत्रकार महासंघ मोरङ शाखाले आयोजना गरेको निर्वाचन र आमसञ्चार सम्बन्धी अभिमुखिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कट्टेलले यस्तो बताएका हुन्।  

उनले अहिलेको निर्वाचन विगतको जस्तो नभइ विशेष समयमा भएका कारण जनताको अभिमतको सुरक्षा गर्न अधिकतम  बल प्रयोग गरिने स्पष्ट पारे। कट्टेलले भने,‘यो विशेष अवस्थामा हुन गइरहेको निर्वाचन भएकाले जनताको अभिमतको सुरक्षाका लागि सुरक्षाकर्मीले अधिकतम बलको प्रयोग गर्नेछन्।’ मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले निर्वाचन सामाग्री र मतपेटिकाको सुरक्षामा गम्भीर रहेको बताए। उनले व्यालेटको सुरक्षाका लागि बुलेट पनि पड्किनसक्ने स्पष्ट पारे। कटुवालले भने,‘व्यालेटको सुरक्षाका लागि बुलेट पनि पड्कीन सक्छ।’  

यस्तै, उनले निर्वाचनमा एकिकृत सुरक्षा अनुसार काम भइरहेको बताए। मोरङमा निर्वाचन विथोल्ने समूहका केहि व्यक्तिहरूलाई पक्राउ गरिएको र केहिलाई नियन्त्रणमा लिने तयारी भइरहेको कटुवालले जानकारी दिए। मोरङमा ४७ वटा अति संवेदनशिल, १२५ वटा संवेदनशिल र १ सय ३४ वटा सामान्य निर्वाचन स्थलहरू रहेका कटुवालले बताए।

मोरङमा हालसम्म ११० जना उम्मेदवार मध्ये ९० जनाले बैंक खाता खोल्नका लागि सिफारिस लगेकोमा ६० जनाले खाता खोलेको जानकारी गराईसकेको मोरङका कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख सोमनाथ उप्रेतिले जानकारी दिए। बांकी उम्मेदवारलाई पनि बैंक खाता खोल्न आग्रह गरिएको उनले बताए। उम्मेदवारहरूले निर्वाचनको खर्च अनिवार्य बैंक खातामार्फमात्रै गर्नुपर्ने व्यवस्था रहेको छ। तर, मोरङका उम्मेदवारहरूले बैंक खाता खोल्न आनाकानी गर्दै आएका छन्।

प्रकाशित: १७ फाल्गुन २०८२ १५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App