प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानको मिति नजिकिँदै गर्दा उम्मेदवारहरू मतदाता भेटघाटको अन्तिम चरणमा छन्। दुईवटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा यतिबेला सम्भावित नतिजालाई लिएर चौतर्फी आकलन र विश्लेषण भइरहेका छन्।
सिन्धुलीमा परम्परागत रूपमा पुराना दलहरूकै दबदबा रहँदै आएको छ। विगतका निर्वाचन र प्राप्त मतलाई आधार मान्दा यसपटक पनि यहाँ नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्।
यद्यपि, देशव्यापी रूपमा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहरका कारण उक्त पार्टीका उम्मेदवारलाई पनि कम आँक्न नमिल्ने मतदाता र विश्लेषकहरूको बुझाइ छ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुली-१ मा नेपाली कांग्रेस र सिन्धुली-२ मा तत्कालीन माओवादी केन्द्र (हालको नेकपा) ले जित निकालेका थिए।
त्यतिबेला कांग्रेस र माओवादीसहितको गठबन्धन एकातिर थियो भने एमाले एक्लै चुनावी मैदानमा थियो। तर, समानुपातिकतर्फ भने दुवै क्षेत्रमा एमालेले सर्वाधिक मत पाएको थियो। यसपटक सबै दल एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएकाले भिडन्त थप रोचक बनेको छ।
सिन्धुली–१: मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच
सिन्धुली–१ विगतमा कहिले कांग्रेस त कहिले एमालेले जित्दै आएको क्षेत्र हो। यसपटक यस क्षेत्रबाट विभिन्न दलका ११ र स्वतन्त्र १ गरी कुल १२ जना उम्मेदवार चुनावी मैदानमा छन्।
यद्यपि, मुख्य प्रतिस्पर्धा भने कांग्रेसका उज्ज्वल बराल र एमालेका प्रदीप कटुवालबीच हुने देखिएको छ। नेकपाका डेकेन्द्रप्रसाद सुवेदी र रास्वपाका धनेन्द्र कार्की पनि बलिया दाबेदार मानिएका छन्।
यस क्षेत्रमा दुधौली नगरपालिका, फिक्कल गाउँपालिका, गोलन्जोर गाउँपालिका, तीनपाटन गाउँपालिका र कमलामाई नगरपालिकाका तीनवटा वडा (९, १३ र १४) पर्दछन्। यहाँ कुल १ लाख १० हजार ३९१ मतदाता रहेका छन्। जसमध्ये ४० वर्षमुनिका युवा मतदाताको सङ्ख्या ५१ हजार ४४० छ। युवा मतदाता नै यहाँको नतिजामा निर्णायक हुने अनुमान छ।
२०७९ को निर्वाचनमा यसै क्षेत्रबाट कांग्रेसका श्यामकुमार घिमिरेले तत्कालीन वाम-लोकतान्त्रिक गठबन्धनको बलमा एमालेका कटुवाललाई ४,८२७ मतान्तरले पराजित गरेका थिए।
यसपटक कांग्रेसले पुराना नेता उज्ज्वल बराललाई अघि सारेको छ। २०५६ र २०६४ सालमा टिकट पाएर पनि पराजित भएका बराल यसपटक गठबन्धन नभएका कारण एमालेसँग कडा चुनौतीको सामना गर्दैछन्।
पार्टी नेतृत्वमा गगनकुमार थापा आएपछि युवा पङ्क्तिमा उत्साह देखिए पनि संस्थागत मत मात्रै जितका लागि पर्याप्त नहुने हुँदा उनी ‘स्विङ भोट’ तान्न प्रयासरत छन्।
उता, अघिल्लो हारको बदला लिने दाउमा रहेका एमाले उम्मेदवार प्रदीप कटुवाल गठबन्धन नभएको वर्तमान अवस्थामा जित निकाल्नेमा ढुक्क देखिन्छन्। २०७४ मा प्रदेशसभा सदस्य जितेर प्रदेशको स्वास्थ्य मन्त्रीसमेत भइसकेका उनी स्थानीय स्तरमा विकासप्रेमी नेताका रूपमा चिनिन्छन्। एमालेको बलियो साङ्गठनिक मत जोगाउन सके उनको सङ्घीय संसद्को यात्रा सहज हुनेछ।
त्यसैगरी, नेकपाबाट चुनावी मैदानमा उत्रिएका कानुन व्यवसायी डेकेन्द्र सुवेदी नयाँ अनुहार हुन् भने यातायात क्षेत्रसँग जोडिएका रास्वपाका धनेन्द्र कार्की पार्टीको देशव्यापी लहरलाई ‘क्यास’ गर्दै जित निकाल्ने लक्ष्यमा छन्।
सिन्धुली–२: नेकपालाई बागीको तगारो, एमालेलाई इतिहास रच्ने मौका
सिन्धुली–२ तत्कालीन माओवादी केन्द्र (हालको नेकपा) को बलियो प्रभाव भएको क्षेत्र मानिन्छ। यसपटक यहाँ दलका ११ र स्वतन्त्र ५ गरी १६ जना उम्मेदवार भिड्दै छन्।
मुख्य प्रतिस्पर्धा नेकपाका लेखनाथ दाहाल (राजन), एमालेका मनोजजंग थापा, कांग्रेसकी सुशीला थिङ र रास्वपाका आशिष गजुरेलबीच हुने देखिन्छ।
कमलामाई नगरपालिकाका ११ वटा वडासहित घ्याङ्लेख, मरिण, हरिहरपुरगढी र सुनकोसी गाउँपालिका समेटिएको यस क्षेत्रमा कुल १ लाख ४ हजार ६२८ मतदाता छन्। यहाँ पनि ४८ हजार ९८३ युवा मतदाता निर्णायक मानिएका छन्।
२०७९ मा गठबन्धनको बलमा एमालेका मनोजजंग थापालाई ५,८३० मतान्तरले पराजित गरेका नेकपाका राजन दाहाल यसपटक आफ्नै पार्टीका बागी उम्मेदवारका कारण सङ्कटमा छन्।
जिल्लाले सिफारिस गरेभन्दा फरक व्यक्तिलाई केन्द्रले टिकट दिएको भन्दै नेताहरू हरिबोल गजुरेललगायतको समर्थनमा महेश्वर दाहाल बागी उम्मेदवार बनेका छन्। पार्टीले गजुरेल र महेश्वरलाई निष्कासन गरे पनि यसले राजनको भोट काट्ने निश्चित छ।
नेकपाको यो आन्तरिक कलह र कांग्रेसको बागी उम्मेदवारीको फाइदा उठाउँदै एमालेका मनोजजंग थापा इतिहास रच्ने दाउमा छन्। अघिल्लो पटक गठबन्धनसँग भिड्दा पनि २१ हजार ६८७ सम्मानजनक मत ल्याएका उनी यसपटक पार्टीको सङ्गठित मत र युवा मतदाताको समर्थनमा जित निकाल्ने कसरतमा छन्।
उता, कांग्रेसकी सुशीला थिङ ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ नाराका साथ आक्रामक प्रचारमा छिन्। समानुपातिकबाट निवर्तमान सांसद रहेकी उनी तामाङ बाहुल्य क्षेत्र र महिला मुद्दाका कारण बलियो उम्मेदवार हुन्।
यद्यपि, कांग्रेसकै पूर्व उपसभापति खड्गबहादुर वाइबाको बागी (स्वतन्त्र) उम्मेदवारीले उनलाई पनि चुनौती थपेको छ।
रास्वपाका उम्मेदवार आशिष गजुरेल यस क्षेत्रका ‘सरप्राइज’ प्याकेज बन्न सक्छन्। जर्मनीबाट यातायात प्रणालीमा स्नातकोत्तर गरेका उनी नेपाल इन्टरमोडल यातायात विकास समितिका पूर्व कार्यकारी निर्देशक हुन्।
विज्ञ अनुहार र पार्टीको लहरका कारण युवा पुस्ताको मत उनले तान्न सक्ने विश्लेषकहरूको भनाइ छ। समग्रमा, सिन्धुलीका दुवै क्षेत्रमा पुराना दलहरूलाई आफ्नो विरासत जोगाउन र आफ्नै पार्टीका असन्तुष्ट पक्षलाई व्यवस्थापन गर्न मुख्य चुनौती देखिएको छ भने रास्वपालाई युवा र स्वतन्त्र मत तानेर आफूलाई स्थापित गर्ने सुनौलो अवसर छ।
प्रकाशित: १७ फाल्गुन २०८२ २२:०६ आइतबार





