२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

गीत,संगीत र कलाका गुरुहरूको स्मृतिमा स्रष्टाहरूलाई सम्मान

 ‘सानालाई माया स्रष्टालाई सम्मान, लोकसंस्कृति बचाउने हाम्रो अभियान’ मूल उद्देश्य बोकेको नेपाल पूर्वप्रहरी कलाकार संघले गुरुपूर्णिमाको अवसरमा गीत, संगीत र कलाका गुरुहरूको स्मृतिमा कलासाधनामा स्थापित स्रष्टाहरूलाई पुरस्कार र सम्मान अर्पण गरेकाे छ।

नेपाल प्रज्ञाप्रतिष्ठानकाे सिद्धिचरण प्रवचन कक्षमा अवकाशप्राप्त प्रहरी महानिरीक्षक दुर्लभकुमार थापाकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

कार्यक्रममा प्रमुख अतिथि थापाले चेतन कार्की गीति वाङ्मय पुरस्कार-२०८१ गीतकार श्रीपुरुष ढकाललाई, गोपाल योन्जन संगीत साधना पुरस्कार-२०८१ संगीतकार शिलाबहादुर मोक्तानलाई, हाडा एन्ड पाल हास्यवाङ्मय पुरस्कार-२०८१ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको थियाे।

कार्यक्रममा अस्वस्थताले कलाकार हरिवंश आचार्य अनुपस्थित भएको हुँदा उनका छोरा मोहित आचार्यले उक्त सम्मान पुरस्कार थापेका थिए।

कार्यक्रममा सर्जक, कलाकार गुरुका परिवारका तर्फबाट श्रीमती गंगा कार्की, श्रीमती रेन्चन योन्जन, राजपाल थापाका सुपुत्र कपिल थापा र श्रीमती हाडाको उपस्थिति रहेको थियो।

यसैगरी कलाकार नीर शाह, वसुन्धरा भुषाल,भूवन चन्द थापा, चैत्यदेवीले पुरस्कृत साधकहरूलाई क्रमशः सम्मान गरेका थिए।

संस्थापक संरक्षक क्षेत्रबहादुर गुरुङबाट स्वागत भएको थियो भने संस्थाको वरिष्ठ सल्लाहकार कलाकार तथा पुरस्कार संस्थापक मिथिला शर्मा बोहराले सम्पूर्ण गुरुप्रति आभार र श्रद्धा व्यक्त गर्दै गुरुहरूको ऋण कहिल्यै तिर्न नसकिने बताइन्। गुरुभेटी चढाएर उहाँहरूले देखाएको मार्गमा हिंड्ने प्रयास मात्रै हो भन्दै उनले मन्तव्य प्रस्तुत गरेकी थिइन्।

कोषाध्यक्ष गीता गुरुङले कार्यक्रम उद्देश्यबारे प्रकाश पारिएको थियो। राष्ट्रगानबाट प्रारम्भ गरिएको कार्यक्रममा दिवंगत पूर्वप्रहरी कलाकारहरूलाई सम्झदै एक मिनेट मौनधारण गरिएको थियो।

अभिनन्दन र पुरस्कार वितरणपछि संस्थाका संरक्षक कलाकार क्षेत्रबहादुर गुरुङको समूहले नेपाली शिरपोश टोपीको गीत गाएर कार्यक्रम समाप्त भएको थियो।

प्रकाशित: ७ श्रावण २०८१ ०८:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App