२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

‘किताब जात्रा’काे छैटौं संस्करण

फाइल तस्वीर

‘किताब जात्रा’ को छैटौं संस्करण राजधानीको आर्मी अफिसर्स क्लबमा आयोजना हुने भएको छ। आइतबार आयोजक किताब जात्रा फाउन्डेसनका अध्यक्ष तथा महोत्सव निर्देशक ऋषिराम अधिकारीले आगामी साउन १८ र १९ गते राजधानीमा दुईदिने महोत्सव गर्ने जानकारी दिए।

‘किताब जात्राको छैटौं संस्करण घोषणा गर्न पाउँदा हामी निकै उत्साहित छौं’, फाउन्डेसनका अध्यक्ष तथा फेस्टिभल निर्देशक अधिकारीले भने, ‘हामी दुई वर्षपछि फेरि भौतिक रूपमा महोत्सव आयोजना गर्दै छौं। गत वर्ष अर्थतन्त्रका कारण हामीले महोत्सव आयोजना गर्न सकेका थिएनौं। किताब जात्राको यात्रालाई यस वर्ष फेरि हामीले नयाँ आयामका साथ निरन्तरता दिँदै छौं।’

यस वर्षको किताब जात्रामा साहित्यबाहेक आर्थिक, सामाजिक र कलालगायत क्षेत्रका समसामयिक विमर्श सञ्चालन हुनेछन्। महोत्सवका संयोजक विकेश भट्टराईका अनुसार जात्रामा विमर्शसहित काव्य–सन्ध्या, पुस्तक प्रदर्शनी, स्टार्ट–अप प्रदर्शनी, ओपन–माइक, कला प्रदर्शनी, क्यालिग्राफीदेखि रक्तदान लगायत सहभागितामूलक सिर्जनात्मक गतिविधि हुनेछन्।

जात्रामा ‘मिस्टिक नेपाल’ अवधारणामा आधारित रहेर संगीत र कला क्षेत्रका प्रस्तुति रहनेछन्। महोत्सवमा एकजनालाई सीए अध्ययनका लागि ‘प्रेमप्रसाद मेमोरियल स्कलरसिप’ प्रदान गरिने उनले जानकारी दिए।

लेखक र पाठकबीच अन्तरंग विमर्श हुने जात्रामा यस वर्ष भाषा, साहित्य, सिनेमा, समाज, बैंकिङ लगायत विभिन्न क्षेत्रका व्यक्तित्व समावेश हुने १५ सेसन रहने छन्। त्यस्तै संगम श्रुति ब्यान्डको सांगीतिक प्रस्तुति समेत रहने छ। महोत्सवअन्तर्गत पुस्तक प्रदर्शनीको संयोजन अनलाइन पुस्तक बिक्रेता किताब यात्राले गर्दै छ।

किताब जात्रामा एक लाख ११ हजार एक सय ११ रूपैयाँसहितको ‘प्रेम साहित्य सम्मान’ घोषणा गरिने छ। सर्लाही जिल्लाका शिक्षासेवी प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको सम्मान हरेक वर्ष नेपाली साहित्य र वाङ्मयमा विशिष्ट योगदान दिने स्रष्टालाई प्रदान गरिन्छ। गत वर्ष साहित्यकार ध्रुवचन्द्र गौतमलाई सो सम्मान प्रदान गरिएको थियो। 

प्रकाशित: ७ श्रावण २०८१ ०७:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App