२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

साहित्यकार निमेष निखिल सम्मानित

सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल ‘गणेशलाल स्मृति साहित्य पुरस्कार २०८१’ बाट सम्मानित भएका छन्। लोककवि गणेशलाल श्रेष्ठको ११३औं जन्मजयन्तीको अवसरमा नेपाल भाषा खलः मकवानपुरमार्फत् उनलाई सो सम्मान गरिएको हो। केशवलाल श्रेष्ठले स्थापना गरेकाे सो पुरस्कार यसअघि स्व. तुल्सी थापालाई प्रदान गरिएको थियो। सम्मानित व्यक्तित्वबारे सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेले चर्चा गरेका थिए।

कविता प्रतियोगितामा ४ कविहरू पुरस्कृत

नेपाल भाषा खलः मकवानपुरले आयोजना गरेको खुला कविता प्रतियोगिता २०८१ मा म्याग्दीकी आरती आचार्य प्रथम भएकी छन्। सिन्धुलीका बाबुराम श्रेष्ठ यात्री द्वितीय र अर्घाखाँचीकी पूर्णिमा गिरी तृतीय भएका थिए। यस्तै प्रतियोगितामा मकवानपुरकी अनुशुया खनाललाई सान्त्वना स्थापन प्राप्त भएको छ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कार राशि क्रमशः १५ हजार, १० हजार र ५ हजार रूपैयाँ रहेको थियो भने सान्त्वना पुरस्कार राशि ३ हजार रहेको थियो।

प्राप्त ५५ कवितामध्ये उत्कृष्ट २० कविता यसअघि नै प्रकाशन गराई वाचनका लागि सर्जकहरूलाई निम्ता गरिएको थियो भने वाचनमा समेत अङ्क प्रदान गरिएको थियो। प्रमुख निर्णायक अनिता न्यौपाने तथा निर्णायकद्वय यश लामा र पुरूषोत्तम आचार्य रहेको निर्णायक मण्डलले कूल १ सय ५० अङ्कमा गरेको मूल्याङ्कनमा न्यौपानेले प्रतियोगीहरूको मूल्याङ्कनका क्रममा भाव, कला, वाचन लगायतका विधामार्फत् अङ्कन गरिएको बताइन्। वाचनका लागि १६ स्रष्टा उपस्थिति रहेका थिए।

यसअघि मूल्याङ्कन समितिले छनोट गरेका २० कविताका सर्जकमध्ये मकवानपुरका ९, सिन्धुली र चितवनका २, म्याग्दी, बैतडी, कास्की, अर्घाखाँची, काभ्रेपलाञ्चोक र धादिङका १/१ (ठेगाना उल्लेख नभएका १) रहेका थिए।

बालसाहित्यकार अनुषा सम्मानित

नवोदय शिशु सदनकी बाल साहित्यकार अनुषा उप्रेतीलाई जिल्लाको बाल साहित्य क्षेत्रमा पुर्‍याएको कदरस्वरूप सम्मानपत्रसहित सम्मानित भएकी छन्।

हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा कार्यालयका अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्य तथा महेश्वर श्रेष्ठको सभाध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षाविद् देव श्रेष्ठले गणेशलाल मकवानपुरकै पहिलो स्रष्टा भ‌एको, गाईजात्रामा हास्यव्यङ्ग्य कार्यक्रम गर्ने, नेपाली, तामाङ र नेपाल भाषा गरी तीनै भाषामा रचनाहरू लेख्ने स्रष्टाका रूपमा उनलाई चिनिएको बताए।

प्रकाशित: ६ श्रावण २०८१ ०८:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App