२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

फिल्म 'एक्टर'को छायांकन सकियो, प्रदीपसँग दिव्याको डेब्यू

छायांकन अगावैबाट चर्चामा रहेको फिल्म 'एक्टर'को छायांकन सकिएको छ। गत वैशाखको अन्तिम साता पोखराबाट छायांकन सुरु गरिएको फिल्मको दुई चरण गरी ४५ दिनमा छायांनक पूरा भएको हो।

पोखरामा १० र काठमाडौंमा ३५ दिन छायांकन गरिएको निर्माता थमन कुमार भण्डारीले जानकारी दिए । एउटा गीतको भने छायांकन बाँकी छ।  'समय लगाएरै फिल्मको छायांकन सकिएको छ, सुटिङ अवधिभर कलाकार र प्राविधिकहरुको साथ मिल्नाले सोचे अनुरुप नै काम सक्काइयो, अब बाँकी गीतको छायांकन युरोपमा गर्ने सोचमा छौं । फिल्म कस्तो बन्यो भन्ने आम दर्शकलाई लाग्न सक्छ, जो होस् अब आउने तीन महिनाको अवधिमा हाम्रा टिजर, ट्रेलर र फस्टलुकबाट थाहा पाइनै हाल्नु हुने छ, यति हो प्रदीप खड्कालाई हेर्दै आएको भन्दा फरक देख्न सक्नुहुनेछ,' निर्माता भण्डारीले भने ।

राजन भुसालको डेब्यू निर्देशनमा बन्न लागेको फिल्ममा प्रदीप र दिव्यासहित राजबल्लभ कोइराला, आना शर्मा, सुशील सिटौला, दिव्य देव, उषा रजक, प्रदीप चौधरी 'पिके', बादल भट्ट, अनोज पाण्डे, सुप्रज्ञा शर्मा, सिर्जना अधिकारीलगायतको अभिनय रहेको छ ।

दिव्याको भने यो पहिलो फिल्म हो । राजबल्लभले यही फिल्मबाट करिब दश वर्षपछि कमब्याक गरेका छन् । नायक खड्काले पहिलो पटक फिल्मी पर्दामा दिव्या र आनासँग सहकार्य गरेका हुन् ।

अदृत फिल्मसको प्रस्तुतिमा मोती फिल्मसको निर्माण रहेको यो फिल्ममा थमनकुमार भण्डारी निर्माता हुन्। एनिस भुसाल सहनिर्माता रहेको यो फिल्मको क्रियटिभ प्रोड्युसर मोती कार्की हुन्।  फिल्मका छायाँकार नरेन्द्र मैनाली हुन् ।

यो फिल्म कात्तिक १५ गते लक्ष्मीपूजाको दिन पारेर रिलिजको तयारी छ। फिल्मको जापान प्रदर्शन अधिकार समेत बिक्री भएको छ। 'एक्टर'को जापान राइट्स खेम राज शाहको म्याक्स इटरटेन्टमेन्टले खरिद गरिसकेको छ ।

प्रकाशित: २ श्रावण २०८१ १६:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App