धनराज गिरी नेपाली साहित्यको क्षेत्रमा एक चर्चित नाम हो। गजल, लघुकथा, कथा, कविता, मुक्तक, निबन्ध आदि साहित्यका प्रायः जसो सबै विधामा कलम चलाउन गिरी माहिर छन्। नेपाली साहित्यका वरिष्ठदेखि भर्खरै सिक्दै गरेका सबै खाले सर्जकसँग जानपहिचान रहनु र साहित्यका विषयमा विमर्श गर्न सधैं तत्पर रहनु गिरीका विशेषता हुन्।
सामाजिक सञ्जाल मार्फत पनि साहित्य लेखनको क्षेत्रमा उनको उपस्थिति लोभलाग्दो छ। जुनसुकै नयाँ विधामा पनि आफ्नो उपस्थिति जनाइहाल्ने उनको स्वभावका कारण पनि उनको पहिचान र लोकप्रियता चुलिंदो छ।
सादा जीवनशैली, निरन्तर साधना र अध्ययन-अध्यापनमा उनको तत्परता तारिफयोग्य रहँदै आएको छ। लेखनको क्षेत्रमा उनी अरूले बनाइदिएको बाटोमा भन्दा आफैं बाटो बनाउँदै हिंडन रूचाउँछन्। विधा त्यही तर फरक र आफ्नै शैलीमा रमाउने गिरी साहित्य सिर्जना, तर्क र सैद्धान्तिक बहसमा जोखिम लिन रुचाउँछन्। सिर्जनामा निषेध मन नपराउने गिरी निषेधलाई मात्र निषेध गर्न रुचाउँछन्।
धनराज गिरीले हालै एकै साथ दुई पुस्तक ‘पाखण्ड पुराण’ र ‘निर्विशा’ बजारमा ल्याएका छन्। पाखण्ड पुरान व्यङ्ग्यनिबन्धसङ्ग्रह हो भने ‘निर्विषा‘ छन्द कवितासङ्ग्रह। यहाँ चर्चा गर्न लागिएको विषय उनको व्यङ्ग्यसङ्ग्रह ‘पाखण्ड पुराण’ को हो।
गोरखा पब्लिकेशन्स प्रालिले प्रकाशित गरेकाे २५२ पेजको यो पुस्तकमा गिरीका ‘सज्जन कसले खोजेको छ र?’ देखि ‘कुमारीपथगामी’ सम्म ५२ व्यङ्ग्यनिबन्ध संग्रहीत छन्। कथा कथनको शैलीमा लेखिएका व्यङ्ग्यहरूले हामी बसिरहेको समाजको पर्दा लगाइएको भयंकर कुरूप चित्रलाई सुन्दर शैलीमा उदाङ्गो बनाइदिएको छ।
अधिकांश पद र प्रतिष्ठामा रहेका मानिसहरू जे देखिन्छन् त्यो होइनन् र जे होइनन् त्यो देखाउँछन्। हाम्रो समाजको वर्तमानको दूरावस्था र माथिल्लो ओहोदामा रहेका, देश बनाउने ठेक्का लिएका कथित ठूला मान्छेहरूका पाखण्ड हेर्दा रगत उम्लिएर आउने विषयवस्तुलाई गिरीको कलाकारिताले हसाउँदै प्रस्तुत गरेको छ।
गजल, मुक्तक, लघुकथा, कविता, कथा जस्ता साहित्यका सबैजसो विधामा धारावाहिक कलम चलाउन सिद्धहस्त गिरीले हास्यव्यङ्ग्य विधामा पनि आफ्नो दर्विलो उपस्थित दर्ज गरेका छन्।
आफ्नो लेखनका लागि पात्र र विषयवस्तु खोज्न गिरी कहीं गएका छैनन्। न त कल्पनामा नै हराएका छन्। आफ्नै वरिपरिका पात्र र विषयहरूलाई टपक्क टिपेर शब्दहरूलाई व्यङ्ग्यनिबन्धको रूपमा उनेर राखेका छन्।
समाजमा यत्रतत्र छरिएका प्रवृत्ति र पात्रहरू, शब्दको छनौट र ठट्यौलो प्रस्तुति, प्रस्तुतिको फरक शैली, संवाद आदिले प्रत्येक निबन्धलाई विशेष बनाएका छन्। हरेक निबन्ध पढ्दा आफूले देखे, भोगे र चिनेको कुनै न कुनै पाखण्डीको कुरूप अनुहार आँखा वरिपरि आउँछ र त्यसको मुखुण्डो उतारिएको असली चरित्र देखापर्दा मजाले हाँसो उठछ। कुनैकुनै निबन्ध पढ्दा म एक्लै खित्का छोडेर हाँसेको छु। शब्दसँग अन्तरक्रिया गर्दा गर्दै पाठकलाई रुवाउन, आक्रोशित बनाउन या हँसाउन सक्नु नै सिर्जनाको सफलता हो।
गिरीले आफ्नो व्यंग्यसंग्रहमा समाजका गरीब, निमुखा, निर्दोष, सिमान्तकृत पात्रहरूको मजाक उडाएर, उनीहरूको भाषाशैली र अज्ञानतालाई खिल्ली उडाउँदै समाजका कथित माथिल्लो वर्ग र सभ्य भनाउँदाहरूलाई मनोरञ्जन दिने काम गरेका छैनन्। उनले त समाजका कथित डाक्टरहरू, प्रोफेसरहरू, व्यापारीहरू, धर्म गुरूहरू, पण्डितहरू, सुन्दरीहरू, शिक्षकहरू, राजनीतिक नेताहरू, वकिलहरू, साहित्यकारहरू आदिका सेतो कपडाले ढाकिएका काला कर्तुतहरूलाई उदाङ्गो बनाइदिएका छन्।
पद, पैसा, प्रतिष्ठा र शक्तिको आडमा कसरी पर्दा लगाइएका अँध्यारा कोठाहरूभित्र अपराध मञ्चन गरिन्छ भन्ने कुरालाई उनको व्यङ्गयसङ्ग्रहले छर्लङ्ग पारेको छ।
उनको निबन्धमा कृष्ण पनि छन कंश पनि छन्, राम र रावण छन्, विदुर र सकुनी छन्, गान्धी पनि छन र गोड्से पनि। सबैभन्दा डरलाग्दो कुरो त समाजमा रामको आवरणमा रावणहरू, कृष्णको आवरणमा कंशहरू, विदुरको आवरणमा सकुनीहरू र गान्धीको आवरणमा गोडसेहरू छन्। आफ्नो समयप्रतिको तीक्ततालाई उनेले ठाउँठाउँमा ‘विदुर बौलाउने र सकुनी मौलाउने समय’ भन्दै व्यङ्ग्यवाण प्रहार गरेका छन्।
निबन्धका महाभारत र रामायणका उपकथा र पात्रहरू र तिनको वर्तमानका पात्रहरूसँगको तुलना, हिन्दी र नेपाली सिनेमा र टिभि सिरियलका पात्रहरू आदिले ती पुस्तक, सिनेमा र पात्रहरूसँग अपरिचित पाठकहरूका लागि कुनैकुनै निबन्ध दुरूह लाग्न सक्छन्। कुनैकुनै विषयवस्तु र उदाहरणहरू एकभन्दा बढी निबन्धमा दोहोरिएर आएका छन्। कतैकतै वाक्यहरूको बनोटले शब्द जालभित्र पाठक जेलिएर अलमलिन सक्ने सम्भावना देखिन्छ।
कुनैकुनै निबन्ध वास्तविकतामा आधारित भन्दा पनि अति काल्पनिक जस्ता लाग्दछन्।कथानकमा खासै भूमिका नभएका पात्रहरूका बग्रेल्ती नामले कुनैकुनै निबन्धलाई अलिक भद्धा बनाएको आभास ठाउँठाउँमा हुन्छ। यत्तिको महत्त्वपूर्ण कृतिको प्रकाशन पूर्व सम्पादनमा अलिकति सावधानी अपनाएको भए कृति झनै आहा हुने थियाे।
कमजोरी नै नहुनु पनि कलाको एउटा कमजोरी नै हो। समग्रतामा एउटा परिपक्क साहित्यकारको स्थान बनाइसकेका भए पनि व्यङ्ग्यको क्षेत्रमा उनको यो पहिलो कृति हो। पाठकहरूकाे बुझाइ र विश्लेषणहरू विषयगत हुने गर्दछन्। पहिलो सङ्ग्रहमा हुने स्वाभाविक त्रुटिहरूबाट यो संग्रह पनि अछुतो छैन।
समग्रमा यो सङग्रह हास्यव्यङ्ग्य मात्र नभएर समाजको कुरूप यथार्थ हो, देश विकास नहुनुको खास कारणको खुलासा हो, बेथितिविरुद्धको विद्रोह हो, सिंहको मुखुण्डो लगाएका स्यालहरूको असलियतको पर्दाफास पनि हो। पाखण्ड पुराण एउटा पठनीय र संग्रहणीय पुस्तकको रूपमा आएको छ। पढ्ने पाठकले समय र मुल्य बर्बाद भएको गुनासो गर्दै पछुताउनुपर्ने ठाउँ छैन।
एउटा पठनीय कृतिको सिर्जनाका लागि सर्जकलाई मुरीमुरी धन्यवाद र शुभकामना।
प्रकाशित: ३२ जेष्ठ २०८१ ०९:३३ शुक्रबार