२०७५ जेठमा बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ०७७ सालमा तितरबितर हुँदा नेता वामदेव गौतमले हदैसम्म प्रयास गरेका थिए, नेकपा नफुटोस् भनेर। तर, उनी सफल भएनन्। अन्तत: नेकपा फुट्यो र एमाले-माओवादी केन्द्र पूर्ववत् अवस्थामै फर्किए।
एमाले र माओवादी केन्द्र कुनै कित्तामा नउभिएका वामदेवले पुन: एकताका लागि 'नेकपा एकता अभियान' गठन गरे। एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूसँग संवाद गरे। तर, नेकपा एकता हुन सकेन। त्यो अहिलेसम्म पनि हुन सकेको छैन।
वामदेवले नेकपा एकताका लागि प्रयास गरेको पाँच वर्ष भइसकेको छ। यहाँसम्म आउँदा उनले पनि थाहा पाइसकेका छन् कि अब तत्कालीन नेकपा पुन: एकता हुन गाह्रो छ। यसपछि उनले त्यो अभियानलाई पार्टीमा बदले, निर्वाचन आयोगमा दर्ता गरे र एमाले वा एमालेबाटै बनेको एकीकृत समाजवादीसँग एकताका लागि प्रयास गरे। तर, उनले सोचेअनुरूप पार्टी एकता हुन सकेको छैन।
अभियान पार्टीका रूपमा दर्ता भएपछि उनले सम्भव भए एमाले, एमालेसँग सम्भव नभए एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने प्रयास गरे। तर, त्यो सम्भव भएको छैन। पछिल्लो पटक उनले एकीकृत समाजवादीसँग एकताका लागि अन्तिम चाल्दै थिए। प्रक्रिया अन्तिममा पुग्दै थियो, ठीक त्यही बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाए र एमालेसँग एकता गर्न सुझाव दिए।
ढुङ्गा खोजिरहेका वामदेवलाई देउवा मिलेझैँ भयो, त्यसपछि बीचैमा हिँडेका उनी एकीकृत समाजवादीसँगको एकता प्रक्रियामा जोडिएनन्। उनलाई लागेको थियो, एमालेसँग पार्टी एकता हुने भयो । तर, पछि आएर एकता भएन। अहिलेसम्म एमालेले पार्टी एकताका लागि एउटा छलफलसमेत आह्वान गरेको छैन। पछि मात्रै वामदेवले थाहा पाए कि एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीसँगको एकता प्रक्रिया भाँड्न मात्रै एकताको 'ललिपप' देखाएका रहेछन्।
कथा यहाँसम्म पुग्दा यता एकीकृत समाजवादी पनि भड्किसकेको थियो। उसले भन्यो कि 'अब वामदेवसँग कुनै सर्त बिना एकता हुँदैन'। यसपछि वामदेव यता न उताका भए। एमाले र एकीकृत समाजवादीसँग एकता गर्न नसकेका उनी अहिले पनि यता न उताकै अवस्थामा छन्।
यसबीचमा आफ्नै पार्टी पुनर्गठन गरेर अगाडि बढ्ने सोचसमेत बनाए। तर, बहुसङ्ख्यक पार्टीका नेताहरूले त्यसो नगर्न सुझाव दिए। यसपछि यतिकै समय काटिरहेका उनले शुक्रबार (आज) नागरिकसँग भने, 'पार्टी अगाडि बढाउने सोच छैन। भन्ने नै हो भने छुट्टै पार्टीका रूपमा अगाडि बढ्ने रहर नै पनि छैन।'
एकीकृत समाजवादीसँग पुन: वार्ता
वामदेवका अनुसार अहिले पुन: एकीकृत समाजवादीसँगै पार्टी एकताका लागि वार्ता भइरहेको छ। एमालेले एकताका लागि नबोलाउने 'कन्फर्म' भएको उल्लेख गर्दै उनले भने, 'फेरि एकीकृत समाजवादीसँगै संवाद सुरु भएको छ। विभिन्न तहमा वार्ता हुँदैछन्। अहिल्यै टुङ्गिएको छैन। आवश्यक परे म र माधव नेपालजी भेटिहाल्ने छौँ।'

त्यसो त एकीकृत समाजवादीले 'अटेर' गरिरहेको छ। पहिले अन्तिम चरणमा पुगेको एकता प्रक्रियालाई बीचैमा छाडेर हिँडेको भन्दै एकीकृत समाजवादीले वामदेवसँग वार्ता गर्न अटेर गरिरहेको हो। तर, डीबी कार्कीलगायतका नेताहरूले विभिन्न तहमा वार्ता पुन: अगाडि बढाएका छन्।
उनले जे-जसरी भए पनि पार्टी एकताकै दिशामा अगाडि बढ्ने वामदेवले बताएका छन्। 'छुट्टै पार्टीका रूपमा अगाडि नजाने नै भन्ने छ। जाँदैनौँ, पार्टी एकताकै लागि प्रयास गर्ने हो,' उनले भने।
त्यसो त वामदेवले एमाले, एकीकृत समाजवादीसँग मात्रै नभई माओवादी केन्द्रसम्मका दलसँग वार्ता गरेका हुन्। तर, एकताको तहमा भने कुनै पनि दलसँग मिलेनन्। माओवादी केन्द्रले 'रिजेक्ट' गरेपछि एमाले र एमालेले अस्वीकार गरेपछि एकीकृत समाजवादीसँग एकताका लागि प्रयास गरेको बताइन्छ। अझै पनि सबै दलसँगको एकता-वार्तालाई निरन्तर राख्ने पार्टीको नीति रहेको वामदेव बताउँछन्।
एमालेले पत्याएन
वामदेवलाई एमालेले पत्याएन। अध्यक्ष केपी शर्मा ओलीले 'एकताका लागि तयार रहनू' भने पनि पछि उनले केही तदारुकता नै देखाएनन्। बोलाउँछन्, बोलाउँछन् भनेर आशामा रहेका वामदेवलाई ओलीले अहिलेसम्म बोलाएका छैनन्।

एकीकृत समाजवादीसँगको एकता प्रक्रियामा रहेका वामदेवलाई ठूलै आशा देखाएर रोकेका ओलीले पछि पुन: एमाले नत्याग्ने 'ग्यारेन्टी' खोज्न थाले। त्यसो त वामदेव दुईपटक एमाले त्यागेका नेता हुन्। त्यही विषय देखाउँदै ओलीले सचिवालय बैठक नै राखेर वामदेवले पुन: एमाले नत्याग्ने ग्यारेन्टी देखाउन भने।
यसबीचमा वामदेव-ओलीका बीचमा पर्याप्त संवादसमेत भएन। विषय यतिकै सेलायो, अन्तत: वामदेव ओलीको 'जार्गन'मा फसे। त्यसपछिको नागरिकसँगको संवादमा उनले भनेका थिए, 'ओलीजीले मलाई यता न उताको बनाइदिनुभयो। अब के गर्ने गर्ने।'
जे होस्, वामदेव एक्लै पार्टी अगाडि नबढाउने निष्कर्षमा पुगेका छन्। उनको जोड एकता नै रहनेछ।
प्रकाशित: ५ वैशाख २०८२ १६:५० शुक्रबार





