१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

सम्झिए युगकवि सिद्धिचरण श्रेष्ठलाई

नेपाल प्रज्ञाप्रतिष्ठान र युगकवि सिद्धिचरण प्रतिष्ठानको सहआयोजनामा युगकवि सिद्विचरण श्रेष्ठको ११३ औं जन्मजयन्तीका अवसरमा उनको योगदानबारे स्मरण गरिएको छ।

प्रतिष्ठान परिसरमा रहेको युगकवि श्रेष्ठको प्रतिमामा माल्यार्पणसहित युगकवि श्रेष्ठले नेपाली साहित्यमा पुर्‍याएको सिर्जनात्मक र क्रान्तिकारी योगदानबारे परिचर्चा गरिएको थियो।

यसै बिच ७८ वर्षको उमेरमा दिवंगत भएकी युगकविकी माइली छाेरी सरिता श्रेष्ठ खैगोलीप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनप्रति श्रद्धा सुमन व्यक्त गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले युगकवि सिद्विचरण श्रेष्ठलाई निरङ्कुश राणाशासनविरुद्ध नेपाली साहित्यमा क्रान्ति, सङ्घर्ष र बहुभाषिक सिर्जनालाई अघि बढाउन सफल व्यक्तित्वको रूपमा चित्रण गरेका थिए।

त्यस्तै प्रज्ञाप्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ’विमल निभा’ले युगकवि सिद्विचरण श्रेष्ठका कवितामा पाइने युगीन चेतना र प्रभावबारे धारणा राखेका थिए।

स्वागत मन्तव्यका क्रममा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले कार्यक्रम औचित्यकाे प्रकाश पार्दै युगकवि सिद्विचरण श्रेष्ठले नेपाली साहित्यको स्वच्छन्दतावादी तथा प्रगतिवादी धारामा पुर्‍याएको योगदानकाे चर्चा गरेका थिए।

यस कार्यक्रममा युगकवि सिद्विचरण प्रतिष्ठानका सदस्य डा. फणीन्द्रराज निरौलाले युगकवि श्रेष्ठले नेपाली साहित्यमा सर्वप्रथम हडताल र क्रान्ति जस्ता शब्दको प्रयोग गर्दै युगीन चेतनाबोध गराउन सक्षम देखिएको भन्दै उनको जीवनीबारे परिचर्चा गरेका थिए।

प्रज्ञाप्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले सञ्चालन गरेको कार्यक्रममा प्राडा विश्वनाथ भण्डारीले  युगकवि सिद्विचण श्रेष्ठको सिर्जनात्मक र क्रान्तिकारी योगदानबारे आफ्नो दृष्टिकोण राखेका थिए।

यसैगरी कार्यक्रम समापनका क्रममा सभाध्यक्ष तथा युगकवि सिद्विचरण प्रतिष्ठानका उपाध्यक्ष प्राडा मोहन लोहनीले युगकविले राणा शासनविरुद्ध सङ्घर्ष गर्दा सर्वस्वहरणसहित जेलनेल भोग्नु परेको यथार्थ बताए। उनले एकसाथ साहित्य र राजनीतिक परिवर्तनमा ऐतिहासिक भूमिका निर्वाह गर्नु गरेका थिए भन्दै कवि व्यक्तित्वबारे परिचर्चा गरेका थिए। 

प्रकाशित: १० जेष्ठ २०८१ ११:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App