७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

केसाङ छेतेनका वृत्तचित्र प्रदर्शनी आजदेखि

क्याप्शन

नेपाली जीवनशैली र सीमान्तकृत वर्गका कथालाई वृत्तचित्रमार्फत संसारभर परिचित गराउन माहिर फिल्ममेकर केसाङ छेतेनका वृत्तचित्रहरू प्रदर्शनमा आउने भएका छन्।

सोसल साइन्स बहाः र फोटो सर्कलको संयुक्त आयोजनामा नेपाल पर्यटन बोर्डमा आजदेखि १३ गतेसम्म हुने ‘केसाङ छेतेन रेट्रोस्पेक्टिभ’ कार्यक्रममा उनीद्वारा निर्मित १० वटा वृत्तचित्र निःशुल्क प्रदर्शन हुन लागेको हो।

‘यस कार्यक्रममा प्रदर्शन हुने मेरा वृत्तचित्रहरू आयोजकले छनोट गरेको हुँदा वैदेशिक रोजगारको कथामा आधारित वृत्तचित्रलाई प्राथमिकतामा राखिएको छ,’ उनले भने, ‘युवा पुस्ताले नेपालको राजनीतिक, सामाजिक, आर्थिक र भौगोलिक परिवर्तनबारे बुझ्नु जरुरी छ। मैले बनाएका वृत्तचित्रहरूमा राजनीतिक, सामाजिक, आर्थिक र भौगोलिक परिवर्तनका कथाहरू समावेश हुने गरेका छन्। फिल्ममार्फत नेपाली जीवनशैलीमा कथालाई प्रस्तुत गर्न सकिन्छ भन्ने भाव मैले बनाएको वृत्तचित्रले दिने भएकाले यो सबैका लागि अवसरसमेत हो।’

विगत अढाई दशकदेखि वृत्तचित्र निर्माणमा सक्रिय निर्देशक छेतेनका वृत्तचित्रहरूले नेपाली समाजका विभिन्न पात्रका जीवनमार्फत कथालाई जीवन्त बनाउने गरेका छन्। फिल्ममेकर छेतेनको ‘हस्पिटल’, ‘हु विल बी अ गुर्खा’, ‘अन द रोड विथ द रेड गड : मच्छिन्द्रनाथ’, ‘द डेजर्ट इट्स अस’, ‘हामी कुनाको मान्छे’, ‘कास्टअवे म्यान’, ‘ट्रेम्ब्लिङ माउन्टेन’, ‘इन सर्च अफ द रियाल’, ‘अ माइग्रेन्ट स्पिक्स’ र ‘डाइभर्सिटी प्लाजा’ डकुमेन्ट्री प्रदर्शन हुँदैछन्। हरेक वृत्तचित्रको प्रदर्शनीपछि निर्देशक छेतेनले आफ्नो अनुभव सुनाउँदैछन्।

‘प्रायः मैले कथावस्तु तयार भएपछि फरक पात्रहरू पछ्याउने गर्छु,’ वृत्तचित्र निर्माणको ट्रेन्डमाथि उनले भने, ‘फिल्मसम्बन्धी दर्शनमा टेकेर मैले यस कार्यक्रममा आफ्नो विचार व्यक्त गर्नेभन्दा मैले विभिन्न वृत्तचित्र बनाउँदा छनोट गरेको कथावस्तु नजिक रहेर अनुभव सुनाउँदैछु। मेरा फिल्महरूले भनेका कथाहरू दर्शकहरूका लागि प्रेरणादायी हुन सक्छन्। फेरि मैले बनाएका वृत्तचित्रहरू हेर्न नपाएको गुनासो धेरैजनाबाट सुनेपछि केही डिजिटिल प्लेटफर्ममा राखेको छु। हामी फिल्ममेकरहरू हाम्रो फिल्म धेरैले हेरिदिनुपर्छ भन्छौं। तर म कहिल्यै आफ्नो कामको मार्केटिङ गर्दै हिँडिनँ। यस कार्यक्रमले मैले बनाएका वृत्तचित्र हेर्न नपाएकाहरूलाई निःशुल्क रूपमा देखाउँदैछ।’

फिल्मको माध्यमबाट दर्शकलाई कथा बुझाउन सक्नु एउटा कला भएको तर्क उनले गरे। ‘फिल्ममेकरले कथामा केन्द्रित रहेर फिल्म बनाउने भएकाले सम्बन्धित कथा फिल्मका माध्यमबाट दर्शकलाई बुझाउन सक्छु। यो मेरा लागि ठुलो सफलता हो,’ उनले भने, ‘वैदेशिक रोजगारीको कथाव्यथा उस्तै हुन्छ भन्ने व्याख्याबाट पर रहेर वृत्तचित्रमार्फत रियालिटी बाहिर ल्याउने हो। नेपालको सामाजिक विकासक्रम हेर्दै जाँदा अधिकांश मानिस रोजगारीका लागि विदेश गइरहेका छन्। वैदेशिक रोजगारीमाथि फिल्म मेकिङ गर्ने चुनौती लिएर कथा खोज्दै जाँदा भेटिएका पात्रहरूले फिल्म तयार हुन्छ। फिल्म मेकिङ भनेको एउटा ट्रेन्ड पछ्याउँदै संकलन गरेको सामग्रीलाई कथाको शैलीमा प्रस्तुत गर्ने कला हो।’

वैदेशिक रोजगारसम्बन्धी कथामा केन्द्रित रहेर वृत्तचित्र बनाउन उनलाई श्रीमतीले सुझाव दिएकी थिइन्। ‘गरिबीका कारण नेपालीहरू खाडी मुलुकदेखि मलेसियासम्मका देशहरूमा वैदेशिक रोजगारमा गइरहेका छन्,’ उनले भने, ‘रोजगारीका लागि गएका अधिकांश मानिसहरूको कथा उस्तै छ। उनीहरूलाई त्यसले एकजुटसमेत गराएको छ। किन नेपालीहरू वैदेशिक रोजगारीका लागि विदेश गइरहेका छन् भन्ने कुरा फिल्म मेकिङका क्रममा खोतल्दै गएँ। वैदेशिक रोजगारमा जाने सबैले दुःख मात्र पाएको भन्ने भाष्य गलत हो। धेरैको जीवनस्तर सुध्रिएको पनि छ। वैदेशिक रोजगारमा गएर जीवनस्तर सुध्रिएको र दुःख पाएकाहरूको कथालाई मिलाउने चुनौती थियो। मेरो जिम्मेवारी भनेको संकलन गरेका सामग्रीलाई कथामार्फत सही तरिकाले प्रस्तुत गर्नु हो।’

उनले वैदेशिक रोजगारमा गएका पात्रहरूलाई पछ्याउँदै नेपाल र खाडी मुलुकमा गरेर झन्डै १५० घण्टाको फुटेज खिचेर सामग्री संकलन गरेका थिए। उनले कथालाई न्याय गर्नुपर्छ भनेर फिल्म बनाउँदा म्यानपावर एजेन्सीसित मिल्यो भन्ने आरोपसमेत खेपेका थिए।

उनका डकुेन्ट्रीहरू इन्टरनेसनल वृत्तचित्र फिल्म फेस्टिभल, भिएना इन्टरनेसनल फिल्म फेस्टिभल र मुम्बई इन्टरनेसनल फिल्म फेस्टिभललगायत अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन हुँदै आइरहेका छन्। ‘हामीलाई जानकारी भइरहेको विषयलाई आधार बनाएर विचार निर्माण गर्छौं,’ उनले भने, ‘विदेशहरूले नेपाललाई सगरमाथा, गोर्खा सेना र शेर्पा भनेर बुझेका छन्। वैदेशिक रोजगारीको कथा उनीहरूका लागि नौलो हो। गरिब देशका नागरिक रोजगारका लागि अन्य देश गइरहेको परिप्रेक्ष्यलाई उनीहरूले सहज रूपमा स्वीकार गर्न सकेका छैनन्।’

‘मुकुन्डो’, ‘कर्मा’जस्ता फिल्मका लेखकका रूपमा स्थापित उनले ‘हामी कुनाको मान्छे’को सिरिज तथा डोल्पा र मुस्ताङमा रहेको लोपोन्मुख बोन्पो धार्मिक सम्प्रदायबारे बनाएको वृत्तचित्रको काम सिध्याएका छन्। झन्डै साढे चार वर्ष लगाएर मुस्ताङ र डोल्पासम्बन्धी वृत्तचित्र सिध्याएर अर्को कथामा काम गरिरहँदा उनी न्युयोर्क पुगेका थिए। न्युयोर्कको ज्याक्सन हाइटमा बसोबास गरिरहेका हिमाली मानिसहरूको कथालाई उनले ‘डाइभर्सिटी प्लाजा’ वृत्तचित्रमार्फत प्रस्तुत गरेका छन्।

‘मुस्ताङ र डोल्पासम्बन्धी वृत्तचित्र बनाइरहँदा न्युयोर्कको ज्याक्सन हाइट पुगेको थिएँ,’ पहिलोपटक प्रदर्शन हुन लागेको ‘डाइभर्सिटी प्लाजा’ वृत्तचित्रको पृष्ठभूमिलाई स्मरण गर्दै उनले भने, ‘रंगीन ज्याक्सन हाइटको मध्यभागमा रहेको डाइभर्सिटी प्लाजा बहुसांस्कृतिक र बहुभाषिक समुदायहरूका कारण रोचक देखें। नेपालको हिमाली क्षेत्रबाट त्यस क्षेत्रमा बसाइँ सरेका नेपालीहरू ज्याक्सन हाइटसँगै अन्तर्राष्ट्रियकरणको बहावमा बगिरहेको कथा मैले प्रस्तुत गरेको छु।’

वास्तविक पात्र र कथालाई प्रत्यक्ष रूपमा महसुस गर्न पाइने हुँदा वृत्तचित्र मेकिङ रोचक हुने अनुभव उनले गरेका छन्। बजेटको हिसाबमा फिल्म मेकिङ खर्चालु भएको हुँदा कथा मात्र भएर पर्याप्त नहुने भनाइ उनको छ। उनले ‘हामी कुनाको मान्छे’मा १२ वर्षअघि रसुवाको दुर्गम गाउँमा झोलुगें पुल आएपछि त्यहाँका मानिसहरूले रोजगार र सुविधा पाउने अवस्था सिर्जना भएको परिवेशलाई समेटेको छ।

‘सो क्षेत्रमा हाइड्रोपावरका कारण मानिसहरूको जीवनस्तर सुध्रिएको भनेर सुनें,’ उनले भने, ‘१२ वर्षपछि हाइड्रोपावर सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा मानिसहरू धनी भए। कोरोना महामारीका कारण त्यहाँका मानिसले बत्तीको सुविधा प्राप्त गरिसकेका थिएनन्। बत्तीको सुविधा पाइसकेपछि गत साता म त्यस क्षेत्रमा पुगेर हामी कुनाको मान्छे वृत्तचित्रको दोस्रो सिरिज सिध्याएँ।’ फिचर फिल्म बनाउने तयारीमा रहेका उनका ‘हामी कुनाको मान्छे’को सिरिज र मुस्ताङ र डोल्पासम्बन्धी वृत्तचित्र पाइपलाइनमा छन्।

प्रकाशित: ११ फाल्गुन २०८० ०९:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App