१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

दीपक समीपको ‘नदीको राजमार्ग’ गृहविमोचन

वरिष्ठ लघुकथाकार दीपक समीपको तेस्रो कृति ‘नदीको राजमार्ग’ शनिवार पोखरामा गृह विमोचन गरिएको छ।

आयोजक पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, उषा शेरचन लगायतले कृतिको विमोचन गरे।

कार्यक्रमका प्रमुख अतिथि रहेका सरुभक्तले फुर्सद भएकाले छोटा विधा लोकप्रिय भएको भन्नु भ्रम मात्रै भएको बताए। उनले जुनसुकै छोटा विधाका रचना लेख्न पनि पनि उत्तिकै मिहिनेत लाग्ने धारणा राखे। कृतिको संख्या कति पुग्यो भन्ने भन्दा कति ओजिलो छ भन्ने कुराले महत्त्व राख्ने सरुभक्तको भनाइ थियो। उनले दीपक समीपलाई लामो सोचविचार गरेर लेख्ने साहित्यकारका रूपमा आफूले चिनेको बताए।

कृतिको समीक्षा गर्दै डा. ईश्वरमणि अधिकारीले ६६ लघुकथा समेटिएको ‘नदीको राजमार्ग’ नेपाली लघुकथाकै एक मुख्य राजमार्ग भएको दाबी गरे।

अर्की समीक्षक सरस्वती प्रतीक्षाले समीपका लघुकथा सामाजिक यथार्थवादी धारामा केन्द्रित रहेको बताइन्। कतिपय सूत्रकथा जस्ता लाग्ने लघुकथा समेटिएको कृतिका अधिकांश लघुकथा सबैलाई मनपर्ने उनको भनाइ थियो। ‘नदीको राजमार्गमा समेटिएका लघुकथाको प्रमुख विशेषता नै मुक्तिकिलो झट्का दिनु हो’ प्रतीक्षाले भनिन्, ‘हास्यव्यंग्यको प्रचुर प्रयोग भए पनि चुट्किला बन्नबाट समीपका लघुकथा जोगिनुले उनलाई परिपक्व लघुकथाकारका रूपमा स्थापित गरेको छ।’

कथाकार समीपले लघुकथा लेख्नु अलि उमेर पुगेपछिका मानिसले सियोमा धागो छिराएजस्तै भएको धारणा राखे।

भने, ‘छोटो लेख्नु ज्यादै कठिनसाध्य काम हो, लघु आकारको कथामा सिङ्गो वैचारिक झट्का दिनु सजिलो छैन।’

विसं २०५४ र २०५५ मा राष्ट्रव्यापी लघुकथा प्रतियोगितामा उत्कृष्ट लघुकथाकारको पुरस्कार जितेका समीपले आफूले साथीहरूको हौसलाबाट सिङ्गो कृतिलाई पुग्ने लघुकथा लेख्न सकेको अनुभव सुनाए।

यसअघि उनका भूगोलभित्र नकोरिएको देश (गजलसङ्ग्रह, २०६२) र अक्षर अक्षरमा देश (मुक्तकसङ्ग्रह, २०७८) प्रकाशित छन्।

पोखरेली युवा सांस्कृतिक परिवार र गजल सन्ध्याका पूर्व अध्यक्ष उनी लघुकथाका पहिलाे फेसबुक पेज ‘बार्दली’ का संस्थापक एवं लघुकथा प्रतिष्ठानका संस्थापक कोषाध्यक्ष हुन्।

साहित्यकार जीवन सागर भण्डारीले स्रष्टा परिचय दिएका कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठ, उषा शेरचन, हरिदेवी कोइराला, प्रकाशक पेज टर्नरका जयराम तिमिल्सिना लगायतले शुभकामना दिएका थिए। कार्यक्रमको सञ्चालन पोखरेली युवा सांस्कृतिक परिवारकी उपाध्यक्ष रीता अधिकारीले गरेकी थिइन्।

प्रकाशित: २८ माघ २०८० १३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App