नेपाल सरकारले भेनेजुएलामा भइरहेको घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ। अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई शनिबार नियन्त्रणमा लिएर अमेरिका पुर्याएको थियो।
नेपालका राजनीतिक दलहरूले अमेरिकाको यस कदमको विरोध जनाएका छन्। काठमाडौंमा समेत अमेरिका विरूद्ध प्रदर्शन भएको थियो।
घटना भएको चार दिनपछि नेपाल सरकारले सबै सम्बन्धित पक्षहरूलाई अधिकतम संयमता अपनाउन र तनाव बढाउने कार्यहरूबाट बच्न आह्वान गरेको छ।
परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘नेपालले संयुक्त राष्ट्रसंघको वडापत्रमा उल्लिखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राज्यहरूको राजनीतिक स्वतन्त्रताको सिद्धान्तको पूर्ण सम्मान गर्छ। नेपालले विवादहरू संवाद, कूटनीति र आपसी समझदारीमार्फत् शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्छ भन्नेमा विश्वास गर्छ।’
प्रकाशित: २४ पुस २०८२ १५:०८ बिहीबार





