१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

अज्ञात मान्छेका नालीबेली

पुस्तक

क्याप्शन

कथासंग्रह कथाहरूको सँगालो हो। कथाका पानाहरू शब्द र भावहरूको सँगालो हो। शब्दमा उनिएका भावहरू कथाकारका अनुभूति हुन् र ती अनुभूति हामी बसेको, जीवन भोगेको र पुगेको परिवेशबाट टिपिएका विषयवस्तु हुन्। कथाकार धीरकुमार श्रेष्ठको ‘नजन्मिनुपर्ने मान्छे’ कथासंग्रह पनि यस्तैयस्तै कथाहरूको सँगालो हो।

नजन्मिनुपर्ने मान्छे १६ वटा कथाहरूको संग्रह हो। ‘आरम्भ र अन्त्य’, ‘बाकस’, ‘हनी’, ‘उफान’, ‘नजन्मिनुपर्ने मान्छे’, ‘विपर्यय’ ‘स्तरीय सिर्जना’, ‘चक्रव्यूह’, ‘जुगला मामाको काठमाडौं यात्रा’, ‘सहिद’, ‘वरपिपल’, ‘हात्ती आयो हात्ती आयो फुस्सा’ रहेका छन्।

‘सहिद’ कथामा सशस्त्र द्वन्द्वका क्रममा दोहोरो भिडन्तमा परी घाइते भएका सोझासिधा थुप्रै गाउँलेले उपचार नपाई मर्नुपरेको देखाइएको छ। कथाकी पात्र सुन्तली र पुरुष पात्र दोहोरो भिडन्त हुँदा घरबाट भागेर खेतबारीका कान्लामा लुकेका बेला गोली लागेर घाइते हुन्छन् र उनीहरूलाई कसैले जिल्ला अस्पताल पुर्‍याउँछ, तर त्यहाँ उपचार सम्भव नभएपछि उनीहरूलाई काठमाडौं पुर्‍याइन्छ। उपचार खर्च नहुँदा पालैपालो उपचार गर्ने त्यसका लागि फुटपाथमा बसेर सहयोग संकलन गर्ने निर्णय गर्छन्।

पुरुष पात्र शरीरमा घाउ र छातीमा पीडा बोकेर फुटपाथमा सहयोगका हात फैलाउँछ। त्यहीँबाट जुटेको रकमले सुन्तलीको औषधोपचार गर्छ। पछि सुन्तली सहयोग संकलन गर्न फुटपाथमा बस्छे तर ऊ उमेरदार युवती भएकीले लफंगा केटाहरूको फन्दामा पुग्छे। उता पुरुष पात्रको उपचार हुन नसकी मृत्यु हुन्छ।

वास्तवमा द्वन्द्वकालमा दोहोरो भिडन्तमा परेर घाइते भएका थुप्रै सोझासिधा गाउँलेहरूले आर्थिक अभावका कारण उपचार नपाएर मर्नुपरेको तितो सत्य कथामा समेटिएको छ।

‘स्तरीय सिर्जना’ कथामा स्तरीय पत्रिकामा छापिएका रचना स्तरीय ठहरिन्छन्, तिनले पुरस्कारसमेत प्राप्त गर्छन् र त्यस्ता व्यक्ति नै ठुला स्रष्टामा दरिन्छन् भन्ने पछिल्लो विसंगत पक्ष वा प्रवृत्तिबारे लेखिएको छ।

कथाकी म पात्र आफूलाई स्तरीय स्रष्टाका रूपमा उभ्याउन बिहानदेखि बेलुकासम्म स्थापित पत्रिकाका सम्पादककहाँ धाउँछिन्, आफ्ना रचना छपाउँछिन् र स्तरीय स्रष्टामा दरिन्छिन्। वास्तवमा मानिसका यस्ता प्रवृत्तिले स्तरीय रचना लेखन र प्रकाशन प्रभावित हुन्छन् भन्ने यस कथाले सन्देश दिएको छ।

‘उफान’ कुनै घटनाका कारण मान्छेका मनमा उठ्ने द्वन्द्वका बारेमा लेखिएको कथा हो। यस कथामा किशोरवयमा हिँडिरहेको एकजना म पात्र छ। उसको मनमा कथाकी भाउजू पात्रका कतिपय व्यवहारका कारण चरम द्वन्द्व बढाइदिन्छ।

भाउजूले एक दिन आफ्नो छातीका टुटुल्काले जानीजानी किशोरका हात थिचिदिन्छिन्। यसले किशोरका मनमा द्वन्द्व ल्याइदिन्छ। भाउजूप्रति आकर्षित हुन उमेर त थिएन उसको। तर किशोरको बिहेको कुरा छिनेका दिन यो घटना भएकाले उसको मनमा पनि द्वन्द्व चल्न थालेको छ भन्ने प्रस्ट हुन्छ।

अर्को कुरा भाउजूले किशोरका हात थिचिरहन्छिन्। किशोर आफ्ना हात निकाल्न जोडबल लगाउँछ तर उनी थिचिरहन्छिन्। बिहे गरेको धेरै वर्ष बित्दा पनि सन्तान नभएको कुराले उनीभित्र पनि अतृप्त द्वन्द्व छ भन्ने अड्कल गर्न सकिन्छ।

अर्कोतिर उफान कथामा कुनै काम गर्दा आफन्त नहुँदाको पीडा देखाउन खोजिएको छ। कथाको किशोर पात्रलाई जन्मेदेखि अलि अस्तिसम्म छिमेकी भाउजू जसले आफ्नै काखमा राखेर हुर्काइन्, ठुलो बनाइन्, बिहेको तारतम्य मिलाइन् र बिहेसमेत गराइन्, तिनै व्यक्ति आफ्नो बिहेको दिन अन्मिँदासम्म नदेखिँदा म पात्रको मनमा उकुसमुकुस व्याप्त भएको छ।

किशोरमा उफान आउनुमा भाउजू निर्णायक छिन्। भाउजूको मनमा पनि उफान चलिरहेको रहेछ, त्यसलाई लेखकले विस्तृत उल्लेख गरेका छैनन्, संकेत मात्र दिएका छन्। किशोर र भाउजूको मनभित्र उठेका द्वन्द्व आम मानिसका मनमा उठ्ने साझा उफान हुन्। त्यसलाई किशोर र भाउजूमार्फत चिरफार गरिएकाले कथाको शीर्षक सार्थक छ भन्न सकिन्छ।

‘बसको खाली सिट’ दसैंजस्तो चाडका बेला एउटा सिट खाली राख्नुको रहस्यका बारेमा लेखिएको कथा हो। दसैंको भिडभाडमा बसमा एउटा सिट खाली हुन्छ। अन्य यात्रु त्यस सिटमा बस्नका लागि भरमग्दुर प्रयास गर्छन् तर पनि त्यो सिट खाली रहन्छ। उभिएर गलेका, उकुसमुकुसमा परेका अन्य यात्रु जब रिसले एकैपटक खनिन्छन्, ती यात्रु डाँको छाडेर हिक्कहिक्क गर्दै रुन थाल्छन्।

कथाकार यसको रहस्य बुझ्न खोज्छन्। त्यस क्रममा यसको रहस्य खुल्छ। कारण के रहेछ भने त्यो सिट आफूले जन्माएको र प्रेमपूर्वक हुर्काएको सँगै यात्रा गर्ने प्यारो सन्तानको सिटका रूपमा खाली राखिएको रहेछ, तर सन्तानचाहिँ एक वर्षअगाडि बितेको रहेछ।

यसरी सिट खाली राख्दा आफ्नो सपना वा सन्तान अझै छ भन्ने अनुभूति हुने भएकाले पनि यात्रुले त्यो सिट खाली राखेको रहेछ। टुकुटुकु हिँड्दादेखिको आफ्ना सन्तति अभिभावकका लागि अति प्रियतम हुन्छन् र उनीहरूप्रति अगाध प्रेम हुन्छ भन्ने यस कथामा देखाइएको छ।

‘बाकस’ कथा वैदेशिक रोजगारमा गएर जीवनलीला समाप्त भएकाहरूको कहानी हो। विदेशबाट धन कमाएर ल्याई घरबार जोड्ने र सुखका साथ पत्नी, छोराछोरी र बाआमासँग बस्ने सपना बोकेर विदेश गएका हाम्रा दाजुभाइहरू कथाको पात्र सुबोधजस्तै लास बनेर फर्किरहेका छन् भन्ने कुरा प्रस्ट पारिएको छ।

वास्तवमा दाम्पत्य जीवन अँगालेपछि भोगिने रमाइला र सुखानुभूति हुने प्रेमका पानाहरू बाल्यावयमै पल्टाउँदा अनौठा अनुभूति भएको ‘वरपिपल’ कथाले प्रस्ट पारेको छ।

मध्य गर्मी बेला छ। वरपिपलका छहारीमुनि पानी पोखरी छ। म पात्र गर्मी छल्नका लागि पोखरीमा नुहाइरहेका हुन्छन्, त्यसैबेला उनी पात्र आइपुग्छे। दुवैजना पौडिँदै आलिंगनमा बाँधिने गर्छन् र बालक्रीडामा रमाउँछन्। बाल्यकालमा नै सबैभन्दा बढी स्वतन्त्रता प्राप्त हुन्छ र रमाउन सकिन्छ भन्ने यस कथाको सन्देश रहेको छ।

लोकसेवा परीक्षा पास गरेर निजामतीमा प्रवेश गरेको एकजना साधारण पदको निडर कर्मचारीका अगाडि जुन शाखा र कार्यालयमा पुगे पनि त्यहाँका हाकिम झुकेको ‘नजन्मिनुपर्ने मान्छे’ कथामा देखाइएको छ।

मानिस र प्राणीबिचको सम्बन्ध उजागर गरिएको कथा हो ‘हनी’। डेरामा बस्दा घरबेटीले पालेको कुकुर हनी घरभरिका सबैको प्यारो भएको र मरेपछि चटक्कै बिर्सन कथाको म पात्रलाई गाह्रो भएको छ।

घरमा पालेको हनी लामो समय सँगै रहँदा बस्दा एउटै परिवारका सदस्य बराबर हुन्छ। हनीलाई बाह्रआने घरवालाले पालेको हुन्छ। हनी प्रायः साङ्लामा बाँधिएको हुन्छ र अघिपछि घरको चोटाकोठा, बार्दली र कम्पाउन्डवरिपरि हिँडडुल गर्न मात्र पाउँछ तर आज्ञाकारी र घरमा बस्ने सबैको प्रिय बन्न पुगेको छ।

त्यसै घरमा डेरा बसेको छ म पात्र। सुरुमा नचिनेर म पात्रलाई देख्नासाथ भुक्ने हनी चिन्न थालेपछि सबैभन्दा निकट हुन्छ। सुमसुम्याउँदा र बोक्दा हनी औधी खुसी हुन्छ। कतिसम्म भने म पात्र अफिस जाँदा अगाडि नै गेटमा पुगिसक्छ र अपिसबाट फर्कंदा पनि गेटमा पुग्छ। हुर्कने क्रममा रोगले थलिएर उसको जीवन समाप्त हुन्छ। हनी मर्दा नम्रता आँखाभरि आँसु पार्छिन्।

स्वरूपमा फरक भए पनि भावना, प्रेम र सम्बन्ध सबै प्राणीका एकै हुन्छन् भन्ने आध्यात्मिक सन्देश यस कथाले दिएको छ।

‘जुगला मामाको काठमाडौं यात्रा’ यात्रा–कथा हो। यो सबैभन्दा लामो कथा हो। पढ्दै जाँदा पाठकलाई कथा कम र निबन्धको अनुभूति बढी हुन्छ। यो कथा पढेपछि मधेसको कथा बुझ्न सकिन्छ। जुगला मामा मधेसको ग्रामीण समाजको एउटा ऐना हो। जोकोही मानिस व्यक्ति मात्र हुँदैन, उसले आफ्नो सिंगो समाज बोकेर हिँडेको हुन्छ भन्ने सन्देश यस कथामा पाइन्छ।

‘हात्ती आयो हात्ती आयो फुस्सा’ कथामा आफ्नो जनमत बढाउन निर्वाचनको बेलामा नेताहरू आश्वासन दिइरहन्छन् तर ग्रामीण तथा दुर्गम क्षेत्रका सोझासिधा जनता अब आफ्नो गाउँको विकास र परिवर्तन हुन्छ भनेर आशा गरिरहन्छन् भन्ने देखाइएको छ।

वास्तवमा अहिले पनि कथाका पात्रहरू आशाबहादुर र आशादेवीहरूको जस्तै अधिकांश नेपाली जनताको आशा आशामै सीमित हुन पुगेको छ।

समयअनुसार मानसिकता र संस्कारमा आफूलाई परिवर्तन नगर्ने मान्छेले अनावश्यक रूपमा अनेक दुःख पाउनुपर्छ भन्ने ‘नजन्मनुपर्ने मान्छे’ कथामार्फत देखाइएको छ।

एक खरिदार हुन्छ, जसलाई निरन्तर दुर्गममा सरुवा गर्दा पनि उसमा कुनै परिवर्तन आउँदैन, कत्ति पनि डराउँदैन, हाकिमले भनेको मान्दैन र एक इन्च पनि गल्दैन। बरु उसलाई सरुवा गराएर हैरान पार्ने हाकिम नै गल्छ। यहाँ मान्छेबाट मान्छेले नै तनाव पाउँछन् भन्ने यस कथाले सन्देश दिएको छ।

समग्रमा कथाहरू रोचक छन्। सरल छ, रसिक छ, रुचिपूर्ण र चोटिला पनि छन्। कथामा स्थुलता भेटिँदैन। लेखाइमा खहरे छैन, नदीको प्रवाह भेटिन्छ। प्रस्तुतिमा परिपक्कवता छ। पढ्दापढ्दै छाड्नुपर्ने र चित्त नबुझ्ने अवस्था छैन। सामान्य विषयवस्तुलाई रोचक बनाउने जुन शैली छ, प्रस्तुति ढाँचा छ, त्यो उनको कथा शक्ति हो। रचनाकारिता हो।

दर्जनभन्दा बढी उपन्यास, कथा, बालकथा लेखन, सहलेखन, सम्पादन र प्रकाशनसमेत गरिसकेका साहित्यकार श्रेष्ठ साहित्य मासिक पत्रिका शब्दांकुरका प्रधानसम्पादक पनि हुन्। शब्दाङ्कुर साहित्य पत्रिकाको स्थापनाकालदेखि नै सम्पादन गर्दै आउनुले पनि उनका रचना स्तरीय भएका हुन् भन्न सकिन्छ। आफ्नै शैली र स्तर स्थापित गरिसकेका धीरकुमार वरिष्ठ कथाकार हुन् भन्ने उनको लेखन क्षमताले पनि प्रस्ट पारेको छ।

प्रकाशित: २७ माघ २०८० ०६:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App