२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

नियत

लघुकथा

उसले फोन गरेर भन्यो, ‘म तेरो घर आउँदै छु।’

लामो समयपछि अचानक उसको फोन आएको थियो। भेटको प्रसंगले म रोमाञ्चित भएँ।

मैले प्रश्न गरें, ‘काम विशेषले हो कि?’

उसले भन्यो,‘नयाँ कृति प्रकाशन गरें। पढेर समीक्षा लेख्छस् कि?’

मैले बधाई दिएँ र सहमति जनाएँ। उसको नयाँ कृति पढने उत्कण्ठा मभित्र जाग्यो। ऊ र म सानैदेखिको मिल्ने साथी थियौं। एक अर्काको साथ र सहयोगको भावना हामी दुवैमा थियो। समयको चक्रमा हामी छुट्टिएर केही समय आआफ्नै व्यस्ततामा हराएका थियौं। तय गरिएको समयमा हामीले भेट्यौं। खुब गफ्फियौं। पुराना स्मृतिहरू कोट्यायौं। केहीबेरमै उसले फर्किने कुरा गर्‍यो। उसलाई मैले आफ्ना चार कृति दिएँ। उसले मूल्य हेरेर हिसाब गयो। मनिब्याग झिक्यो।

उसको आशय बुझेर मैले भनें, ‘होस् यार! तँसँग के पैसा लिनू? मेरा कृतिहरू तँलाई उपहार हुन्।’

निस्किने बेलामा उसको नयाँ किताब मलाई थमाउँदै भन्यो, ‘प्रकाशन गर्न ८० हजार रूपैयाँ लाग्यो यार! मूल्य त उठाउनै पर्‍यो।’

प्रकाशित: २९ पुस २०८० ०६:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App