नेपालको ऐतिहासिक र सामरिक महत्त्व बोकेको चितवनको पुरानो सदरमुकाम उपरदाङगढीले आफ्नो गुमेको शान पुनः प्राप्त गरेको छ।
इच्छाकामना गाउँपालिका-७ स्थित ऐतिहासिक उपरदाङगढीमा कोतघरको पुनर्निर्माण सम्पन्न भएसँगै सोही गढीबाट इतिहासका कालखण्डमा प्रयोग भएका पुरातात्त्विक हातहतियारहरू पुनः स्थापना गरिएको छ।
अंग्रेज फौजसँगको युद्धमा नेपाली वीरहरूले रगत पसिना बगाएर देशको रक्षा गरेको यस ऐतिहासिक किल्लालाई अब सङ्ग्रहालयका रूपमा विकास गर्ने उद्देश्यले नेपाली सेना र पुरातत्त्व विभागको समन्वयमा हतियारहरू प्रतिस्थापन गरिएको हो।
भरतपुरस्थित सबुज गणबाट बुधबार एक विशेष समारोहका बीच ऐतिहासिक हातहतियारहरू लगेर गढीको नवनिर्मित कोतघरमा सजाएपछि गढीको ऐतिहासिक गरिमा थप उँचो भएको छ।
लामो समयदेखि चितवनको भरतपुरस्थित सबुज गणमा सुरक्षित राखिएका ती ऐतिहासिक हतियारहरूलाई बुधबार बाजागाजा र सैनिक सम्मानका साथ गढीमा भित्र्याइएको थियो।
कार्यक्रममा मध्य पृतना हेडक्वार्टरका पृतनापति उपरथी विष्णु कुमार खड्का, सबुज गण भरतपुरका गणपति प्रमुख सेनानी दिनेश लामा र ७ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी डा. कमल बानियाँको उपस्थिति रहेको थियो।
कोतघरमा राखिएका हतियारहरूमा नेपाल-अंग्रेज युद्धका क्रममा प्रयोग भएको मानिने ६ पाउण्डको १ थान तोप मुख्य आकर्षणका रूपमा रहेको छ।
यसका अलावा ५० थान थोला, २ थान भरुवा बन्दुक, ६ थान खुकुरी, १ थान खुँडा, २ थान तरबार र ६ थान ढाल लगायतका ऐतिहासिक युद्ध सामग्रीहरू सङ्ग्रहालयमा सजाएर राखिएको छ।
यी हतियारहरूले तत्कालीन समयमा नेपाली सेनाको वीरता र युद्ध कौशलको झझल्को दिन्छन्।
उपरदाङगढी केवल एक किल्ला मात्र नभई नेपालको एकीकरण र राष्ट्रिय स्वाधीनताको रक्षक पनि हो। पुरातत्त्व विभागका अनुसार यो गढी तत्कालीन बाइसे-चौबिसे राज्य एकीकरणका समयमा र विशेष गरी अंग्रेज फौजविरुद्धको युद्धमा नेपाली भूमिको रक्षा गर्न सन् १८०० को सुरुवातीतर्फ निर्माण गरिएको थियो।
पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले यसको निर्माण गराएको इतिहास छ।
सन् १९६० को दशकको सुरुवातसम्म चितवनको सदरमुकामका रूपमा रहेको यो गढी भौगोलिक र सामरिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण मानिन्छ।
पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गका अनुसार नेपाललाई औपनिवेशिक शक्ति अंग्रेजबाट जोगाउन हाम्रा पुर्खाहरूले देशभर तीन सयभन्दा बढी गढीहरू निर्माण गरेका थिए। तीमध्ये उपरदाङगढी नेपाली पक्ष विजयी भएको एक ऐतिहासिक र महत्त्वपूर्ण गढी हो।
महानिर्देशक प्रधानाङ्गले भनिन्, ‘वि.सं. १८७१ देखि १८७३ सम्मको नेपाल-अंग्रेज युद्धमा हामी विजयी भएको गढी यही हो। यसको ऐतिहासिक महत्त्वलाई जीवन्त राख्न नेपाल सरकारले २०७० सालदेखि गढीको पुनर्निर्माण र संरक्षणको काम थालेको हो।’
गढीको ऐतिहासिक मौलिकता नमासिने गरी यसको संरक्षण गरिएको छ। पुरातत्त्व विभागका कर्मचारीहरूको प्रत्यक्ष निगरानीमा, आधुनिक सिमेन्टको प्रयोग नगरी परम्परागत ‘चुना सुर्खी’ को प्रयोग गरेर कोतघर र आँगनको निर्माण गरिएको छ।
महानिर्देशक प्रधानाङ्गले भनिन्, ‘हामी विकासको नयाँ अध्यायमा प्रवेश गरेका छौँ। इतिहासमा भएको मौलिक स्वरूपमै संरचना निर्माण गरेका छौँ।’
कोतघर निर्माणका लागि इच्छाकामना गाउँपालिकाले १ करोड ८३ लाख रुपैयाँ खर्च गरेको छ। गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार ऐतिहासिक धरोहरको संरक्षणले स्थानीय पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने विश्वास लिइएको छ।
उपरदाङगढीको इतिहास पाल्पाका राजा मणिमुकुन्द सेनसँग पनि जोडिएको छ। विशाल पाल्पा राज्यका राजा मणिमुकुन्द सेनको मृत्युपश्चात् उनका साहिँला छोरा भृङ्गी सेन तनहुँ खण्डका राजा भएका थिए। तनहुँ सेन राज्यअन्तर्गत चितवन इलाकामा सोमेश्वर गढी, कविलास गढी, प्याउली गढी र सिञ्चाङ गढीहरू रहेका थिए।
यो गढी हिन्दुस्तान, रामनगर ठोरी, सोमेश्वर गढी, माडी हुँदै उपरदाङगढी, कान्द्राङ गढी, गल्छी बेलकोट, नुवाकोट गढी, रसुवागढी हुँदै केरुङ र भोटसम्म पुग्ने असली व्यापारिक, धार्मिक र पर्यटकीय मार्गमा अवस्थित थियो।
सेनकालीन यस गढीमा वि.सं. १८३४ साउन ३ गते प्रधानसेनापति अभिमान सिंह बस्न्यातको नेतृत्वमा गोर्खाली फौजले हमला गरी नेपाल राज्यमा गाभेको इतिहास छ।
गाउँपालिका अध्यक्ष गुरुङका अनुसार सेनकालीन गढी व्यवस्थित नभएकाले वि.सं. १८८५ मा तत्कालीन गढीलाई भत्काएर ठुलो र व्यवस्थित बनाइएको थियो।
यो गढी निर्माण कार्यको कमान्ड भैरुङ पल्टनका अफिसर कमान्डिङ लेफ्टिनेन्ट रणवीर महतले सम्हालेका थिए। गढी निर्माणमा ११ सय सेना, बटुक कम्पनीका १३० जना, तथा गैरसैनिक सिकर्मी, डकर्मी, वज्रकर्मी र बोसकर्मीहरूको सहभागिता थियो।
रोचक कुरा के छ भने, गढीको जग खन्दा सुन र चाँदीको कोदालीले खन्नुपर्ने धार्मिक मान्यता वा शाही आदेशका कारण काठमाडौं तोपखानाबाट एक-एक थान सुन र चाँदीका कोदाली ल्याएर प्रयोग गरिएको किंवदन्ती छ।
चितवन र पर्साको आम्दानीबाट निर्माण गरिएको यस गढीका लागि २०६६ मुरी ५ पाथी १ माना चामल, १०१ मुरी २ पाथी २ माना मास, १ मुरी १५ पाथी ६ माना तेल, २ मुरी १ पाथी ४ माना नुन, ३२ हजार ८०० धानी गुड (सख्खर), १००० धानी छाला र ६ मन सन कागज खर्च भएको शिलालेखमा उल्लेख छ।
ऐतिहासिक सम्पदाको रूपमा विकास भएसँगै यसको सुरक्षा चुनौती पनि थपिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ऐतिहासिक स्थलको संरक्षणमा प्रशासनले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
‘ऐतिहासिक स्थलको हामी सबैले अध्ययन र संरक्षण गर्नुपर्छ,’ प्रजिअ अर्यालले भने, ‘यहाँको सुरक्षा आवश्यक परे हामी समन्वय गर्न तयार छौँ। ऐतिहासिक धरोहर मास्ने वा क्षति पुर्याउने जो कोहीलाई कानुनी कारबाही गरिनेछ।’
पुरातत्त्व विभागले यस ऐतिहासिक क्षेत्रको गरिमालाई कायम राख्न अनुमतिबिना कुनै पनि नयाँ संरचना बनाउन रोक लगाएको छ। गढीमा हतियार पुन:स्थापनासँगै स्थानीय बासिन्दा र सरोकारवालाहरूले यस क्षेत्रको मुहार फेरिने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित: २४ पुस २०८२ १७:३१ बिहीबार





