२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

समाज रूपान्तरण र नारी सशक्तीकरणको बलियो वकालत

पुस्तक

‘सम्पूर्ण आकाश’, ‘सङ्घर्ष’ हुँदै ‘मन्दाकिनी’मा आइपुगेकी छिन् शोभा ज्ञवाली। ज्ञवालीका व्यक्तित्वका धेरै पाटाहरू छन्। उद्यमशीलता, स्वरोजगार निर्माणको नेतृत्वदायी भूमिका, पत्रकारिता र लेखन। यी बहुपाटाकै जगमा उनी नारी चेतनाको बिउ लिएर हिँडिरहेकी छिन्। त्यो बिउ अग्निभ्रूण पनि हो। समयले कोल्टे फेरेपछि समय आफैं आगो पनि हुन सक्छ। गरिबी, अभाव, शोषण र अवसरको खोजी! शालीन भाषामा सङ्घर्ष हो। संघर्षले सीमा नाघ्यो भने त्यो विद्रोहमा परिणत हुन सक्छ। शोभा ज्ञवालीलाई कुन लतले तानिरहेछ, नारी चेतनाको मूल बाटोमा। उनी अवसर नपाएका, दुःख पाएका तर सम्भावना भएका युवतीहरूका बिच अन्तरङ्ग घुलमिल गरिरहेकी छिन्। उनी ग्रामीण स्तरका महिलाहरूका बिच स्वरोजगार निर्माण र घरेलु कामधन्दाहरूबाट आयआर्जनको मेलो खोजेर संगठनात्मक कार्यहरूमा क्रियाशील छिन्। उनी हात उठाएर समाजलाई डोर्‍याउन चाहन्छिन्। उनको क्रियाशीलता कतै पत्रकारिता भएर, कतै नारीहरूको नेतृत्वदायी दिदी भएर र कतै कथाकार भएर पोखिएको छ। उनको लेखनको केन्द्र नारी शक्ति हो। उनी नारीहरूका निम्ति आर्थिक पाटोलाई मूल विषय बनाउँछन्। शोषणका विरुद्ध जागरण र सशक्तीकरणलाई आर्थिक पक्ष उनका खोजीका दुई पाटा हुन्।

‘सम्पूर्ण आकाश’मा उनी सम्पूर्णताको खोजीमा थिइन् तर उनीभित्र भावुकता बढी थियो। दृष्टि प्रस्ट थियो, चेतना प्रस्ट थियो र गन्तव्यको हिमाल उनकै आँखाले देखे–देखे जस्तो लाग्थ्यो तर भुइँ अलि टाढाजस्तो लाग्थ्यो।

जब उनी ‘सङ्घर्ष’मा आइन्, त्यतिखेर उनी जमिनमा ओर्लिएको भान हुन्थ्यो। जमिन दुःखको बिउ पनि उमार्छ, सुखको बिउ पनि उमार्छ। उनी लेखनको खाँटी जमिनमा  आइन् र दुःखका पाटाहरू केलाउन थालिन्। जीवित पात्रहरूका जीवन अनुभवलाई उनले कथाको आकार दिइन्। सरल भाषा, सम्प्रेष्य शैली, आदर्शाेन्मुख लेखन, सकारात्मक नतिजाको अपेक्षा र हामीले गरे समाज परिवर्तन हुन्छ भन्ने आत्मविश्वास उनीभित्र मज्जाले हुर्किंदै थियो। सङ्घर्षमा उनले उठाएको लेखकीय मुद्दा हो यो। त्यतिखेर पनि समीक्षक, समालोचकहरूले टिप्पणी गरेका थिए, कथाकारिताभन्दा आदर्शको वकालत अलि बढी छ। उनले सोचेजस्तो सरल र सहज छैन समाज। समाजमा शोषण, अन्याय र समाजको बांगोटिंगो बाटो बांगोटिंगो रेखामै बग्छ। त्यही हो जीवनको वक्ररेखा। त्यही बाटोमा त्यहीं सुकुमार फूल फुलाउने अपेक्षासहित सङ्घर्षलाई साधनाको रूपमा रूपान्तरण गरी जीवनलाई निर्णायक बनाउनुपर्छ भन्ने आह्वान गरिन्। उनी आफ्नो विचारमा प्रतिबद्ध रहिन्। लेखन जारी रह्यो।

आज उनी ‘मन्दाकिनी’मा छिन्। यतिखेर उनको लेखकीय कलम गहिरो चिन्तनमा छ। गाउँगाउँबाट कथा टिपेकी छिन् र लेखनमा बुनेकी छिन्। प्रत्येक ‘थिम’ जीवित पात्रबाट लिएजस्तो लाग्छ र लेखकीय स्वतन्त्रता प्रयोग गरेर उनले त्यसलाई आफ्नो बनाएकी छिन्। उनका कथा र पात्रहरू पढ्दा यही समाजका जीवित पात्र र समाजमा हिँडिरहेका मान्छे कथामा पनि हिँडिरहेजस्तो लाग्छ। यो उनको खास विशेषता हो। भुइँ मान्छेका कथामा वाणी भर्नुको मजा उनलाई थाहा छ।

कथाकार ज्ञवाली पत्रकार ज्ञवाली र कथाकार ज्ञवाली मिसिएर बनेको नाम हो। त्यही दोहोरो विन्दुबाट उनी उठिरहेकी छिन्। कतै दुःखमा पिल्सिरहेकी नारीको रिपोर्टिङजस्तो लाग्छ, कतै बायोग्राफी लेखेजस्तो पनि लाग्छ र कतै साँच्चै कथा लेखेजस्तो पनि। यसो हुनुको पछाडि जसरी पनि नारी सशक्तीकरणको मुद्दा उठाउनुपर्छ भन्ने मनोविज्ञानले काम गरेको हो। उनी सचेत, सक्षम र सफल नारीको वकालत गरिरहेकी छिन्। उनलाई नारीहरूको शक्तिको जगमा मुलुकको समृद्धि उठ्छ भन्ने लाग्छ।

कथाकार ज्ञवाली हुनुभन्दा कथाका माध्यमले नारी जागरण उठाउने लेखिका हुन खोजेकी छिन् उनी। मस्तिष्कमा पहिले तयार भएको निष्कर्ष राखेर अनि पात्र र पात्रको मनोद्वन्द्व विश्लेषण गर्न प्रारम्भ गरेपछि देखिने परिणाम यही हो। लेखकहरूले यसलाई लेखनको जोखिम पनि मानेका छन्।

आजको अत्याधुनिक लेखनशैली संरचनामा कतिपय हकमा यो लेखनको एउटा धार पनि बनेको छ। समालोचकहरूले भन्ने गरेजस्तो वा बनिबनाउ दर्शनको घेरा नभत्काइक लेखक समयको लेखक हुन सक्दैन। उनी आफ्नो बाटो आफैं बनाउँदै आफैं हिँडिरहेजस्तो लाग्छ। उनको लेखकीय पहिचानको मूल विन्दु यहींनेर छ।

शोभा ज्ञवालीले सकारात्मकता र सङ्घर्षलाई सँगसँगै राखेर हेरेकी छिन्। नकारात्मकता स्विकार्दा सकारात्मकता पनि स्विकार्नुपर्छ र सकारात्मकता खोज्दा नकारात्मकतालाई पनि स्विकार्नुपर्छ भन्ने स्वीकारोक्तिको मनोविज्ञान उनीसँग छ। उनी महिलाका नाउँमा पुरुष पीडक र पुरुषका नाउँमा महिला पीडक हुने चिन्तनबाट मुक्त भएर समन्वयपूर्ण र सन्तुलित पारिवारिक संरचनाको पक्षमा छिन्।

 चलनचल्तीको भाषामा यसलाई सन्तुलनको कोसिस भन्न सकिन्छ। कुनै शान्त, सौम्य र सांस्कारिक समाजको पक्षमा छिन्। उनको वकालत यसैतर्फ छ। गरिबीको धारबाट हिँडिरहेकाहरूलाई गरिबीको दलदलबाट कसरी उठाउन सकिन्छ भन्ने स्वरोजगार र उद्यम निर्माणको अन्तर–हुटहुटी कतैकतै ज्वालामुखी भएजस्तो लाग्छ। यो लेखकको सघन आग्रह हो। यही वैचारिकी र यही आग्रह सघन भएपछि लेखक बाक्लोसँग पोखिन्छ। उनी आफ्नो बाटोमा प्रस्ट छिन्, सघन छिन् र सफल छिन्।

उनले केही हदसम्म सामाजिक सीमा र पारिवारिक पर्खाल तोड्न आग्रह पनि गरेकी छिन् तर सीमा भत्काउने नाममा अराजक हुन आह्वान गरेकी छैनन्। यहींनेर लेखक हुनुको संयम जीवित रहेको पाउँछु।

२५ कथा छन् ‘मन्दाकिनी’मा। ‘मन्दाकिनी’ मा केही समाज छ, केही उद्यमशीलता छ, केही पीडा र खुसी छन् र सबैभन्दा बढी आशा र विश्वास छ। विश्वासको बत्ती मरेको दिन समृद्धिको घाम झुल्किन सक्दैन। उनी समृद्धिको घाम खोजेर मूल बाटोमा यात्रारत छिन्। उनको यात्रा निकै सुकिलो, उज्यालो र सफल देखिन्छ।

(शोभा ज्ञवालीद्वारा लिखित कथासङ्ग्रह ‘मन्दाकिनी’ फागुन २ गते शनिबार सार्वजनिक हुँदै छ।)

प्रकाशित: २ फाल्गुन २०८२ १०:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App