२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

विराटनगर महानगरले २० प्रतिशत बजेट कटौती गर्ने

विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट २० प्रतिशत कटौती गर्ने भएको छ । बिहीबार सम्पन्न नगरसभाको १७ औं अधिवेशनले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको २० प्रतिशत कटौती गर्ने निर्णय गरेको हो ।  

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको कारण देखाउँदै विराटनगर महानगरपालिकाले बजेट कटौती गरेको जनाएको छ । जेनजी आन्दोलनबाट उत्पन्न परिस्थिति, घरजग्गा कारोबारमा आयको मन्दी, संस्थागत बहाल कर लक्ष्यअनुरुप असुल हुन नसक्नुलगायतका कारण प्रक्षेपण गरिएकोभन्दा महानगरको आय न्यून हुने देखिएको महानगरकी उपप्रमुख शिल्पा कार्कीले जानकारी दिइन् । 

 ‘जेन्जी आन्दोलन पछिको आर्थिक मन्त्रीका कारण महानगरपालिकाको आय घट्ने देखिएकाले विनियोजित बजेटको २० प्रतिशत कटौती गर्ने निर्णय गरिएको हो’  उपमेयर  कार्कीले भनिन् । चालु आर्थिक वर्षका लागि ४ अर्ब ४० लाख आय अनुमान गरिएकोमा साउनदेखि पुस १५ गतेसम्म १ अर्ब १५ करोड ८४ लाख ४८ हजार ३ सय ३५ रुपैयाँ अर्थात २८.९३ प्रतिशत मात्र यथार्थ आय भएको महानगरले जनाएको छ । 

यसैगरी कुल अनुमानित व्यय ४ अर्ब ४० लाख अनुमान गरिएकोमा पुस १५ गतेसम्म ७१ करोड ७० लाख ७५ हजार २ सय ८४ रुपैयाँ अर्थात १७ दशमलव ९० प्रतिशत मात्र व्यय भएको उपमेयर कार्कीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । खर्चमध्ये पुँजीगततर्फ १४ करोड ४४ लाख ९२ हजार ८६ रुपैयाँ खर्च भएको छ । प्रशासनिक एवं चालु खर्चतर्फ ५४ करोड ८० लाख ८१ हजार ५ सय १५ रुपैयाँ खर्च भएको छ भने वित्तीयतर्फ २ करोड ४५ लाख १ हजार ६ सय ८३ रुपैयाँ खर्च भएको छ ।  

यसैगरी कुल अनुमानित आयमा आन्तरिक राजस्वतर्फ १ अर्ब ४० करोड अनुमान गरिएकोमा पुस १५ गतेसम्म १९ करोड ८५ लाख ८० हजार २ सय ६४ रुपैयाँ मात्र यथार्थ आय संकलन भएको छ । त्यसैगरी राजस्व बाँडफाँडबाट प्राप्त राजस्वबाट १ अर्ब १९ करोड २० लाख ३ हजार अनुमान गरिएकोमा १७ करोड ९० लाख ८ सय १८ रुपैयाँ मात्र प्राप्त भएको छ । 

अन्तरसरकारी वित्तीय हस्तान्तरण संघीय सरकारतर्फ १ अर्ब १७ करोड ६८ लाख अनुमान गरिएकोमा ६० करोड २३ लाख ९० हजार अनुदान प्राप्त भएको छ । प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ ७ करोड ८५ लाख ९७ हजार अनुमान गरिएकोमा २ करोड ३० लाख ३८ हजार ६ सय १० रुपैयाँ प्राप्त भएको देखिन्छ । संघसंस्था अनुदानतर्फ १ करोड ६६ लाख अनुमान गरिएकोमा ८२ लाख ६६ हजार ५ सय ८२ रुपैयाँ प्राप्त भएको छ । यसैगरी गत वर्षको मौज्यता १४ करोड ९९ लाख २ हजार ५१ रुपैयाँ रहेको छ । 

प्रकाशित: २४ पुस २०८२ १८:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App