समयको छाल बहुतै शक्तिशाली हुन्छ। यसलाई कसैले रोक्न सक्दैन, छेक्न सक्दैन। न त यसको बाटो नै कसैले बदल्न सक्छ। बरु समयको छालले नै बदलिदिन्छ सबैथोक। त्यसैले समयसँगै हिँड्नुपर्छ मान्छे। समयको छालसँगै बग्नुपर्छ मान्छे।
समयको छालसँग कसैको केही लाग्दैन। समयको छालले मान्छेलाई उसले नसोचेको गन्तव्यमा पुर्याएर छोडिदिन्छ। त्यसैले मान्छे समयसँग कहिले सुखी बन्छ, कहिले दुःखी बन्छ। मान्छेको जीवनमा जे हुन्छ, त्यो समयले गर्दा हुन्छ। जीवनमा मान्छे जे बन्छ, त्यो समयले गर्दा बन्छ। यस्तै सन्देश बोकेको एउटा विशुद्ध सामाजिक उपन्यास हो ‘समयको छाल’। यसका लेखक हुन् पर्वतकुमार श्रेष्ठ।
समाज र समाजभित्रका आर्थिक, शैक्षिक र सांस्कृतिक पक्षका विविध पाटालाई समेटेर लेखिएको हुँदा ‘समयको छाल’लाई विशुद्ध सामाजिक उपन्यास भन्नु नै उचित हुन्छ। यसमा कुनै वाद, सिद्धान्त र प्रयोगको आग्रह अथवा पूर्वाग्रह छैन। नितान्त सरल भाषा र रैखिक ढाँचामा लेखिएको यो उपन्यास अत्यन्तै सहज प्रवाहयुक्त र बोधगम्य छ।
पाठकलाई एकनासले तानिराख्ने अथवा पठनमा बाँधिराख्ने सामर्थ्य यो उपन्यासमा छ। कुल ४०२ पृष्ठको यो उपन्यासको आयतन तुलनात्मक रूपमा मोटो भए पनि रोचक प्रस्तृति र उस्तै रोचक कथानकले गर्दा यसका पाठकले आद्योपान्त पढेरै मात्र विश्राम लिनेछन् भन्नेमा विश्वस्त हुन सकिन्छ।
निकै सामान्य कथानकबाट उपन्यासको उठान गरिएको छ। उपन्यासको समय र परिवेश अलि पुरानो छ। अलि पुरानो काल, परिवेश र परिस्थितिमा लेखिएको हुँदा यसका पात्र अथवा चरित्र र तिनका आचरणगत प्रवृत्ति पनि पुरानै समयलाई प्रतिनिधित्व गर्ने खालका छन्।
झन्डै आठ दशकअघिको काठमाडौंको इचङ्गुनारायण गाउँको सामाजिक परिवेशबाट उठान भएको छ कथानक। प्रारम्भमा काठमाडौंको इचङ्गुनारायणबाट उठान भएको कथानकले अन्ततः सप्तकोशी पूर्वको गाउँ चक्रघट्टीको सेरोफेरोमा फन्को मारेको छ।
बेलाबेलामा सिरिजङ्गा, भन्टाबारी, घोपा आदिका सन्दर्भ पनि जोडिन आइरहन्छन्। पात्रहरूका सन्दर्भमा भन्नुपर्दा उपन्यासको प्रमुख पात्रका रूपमा घनश्याम थापा (रिपु), सानी, परशुराम, सतकुमारी (सती), झुमा आदि रहेका छन्।
सन्दर्भअनुसार जोडिन आउने अरू धेरै पात्र छन्। उपन्यासलाई गति दिने र अन्त्यसम्म पु¥याउने प्रमुख पात्रका रूपमा चाहिँ परशु र सती नै रहेका छन्। परशु र सतीबिच नजानिँदो गरी पलाएको प्रेमले कथानकको व्याप्तिलाई निकै बढाएको छ। मूल कथावस्तुसँग जोडिन आएका धेरै थरी सन्दर्भका हाँगाबिँगाहरूले उपन्यासको आकारलाई बढाएको छ। केही छिमल्न मिल्ने हाँगाबिँगाहरू पनि छन्। तिनले उपन्यासको सौन्दर्य बढाउनभन्दा आकार बढाउन मात्रै सघाएका छन्।
प्रारम्भमा निकै सामान्य लाग्ने कथानक क्रमशः गम्भीर बन्दै जान्छ। परशु र सतकुमारी अनि रिपु र सानीका अव्यक्त प्रेम प्रसङ्गले कथानक रोचक पनि बनेको छ। घटनालाई सामान्यबाट क्रमशः गम्भीर र प्रभावशाली बनाउँदै लान सक्नु लेखकीय खुबी हो। यो खुबी यो उपन्यासमा राम्रैसँग झल्किएको छ।
काठमाडौंमा सात कक्षा पास गरेर फरेस्टरको जागिर खाएर जागिरकै सिलसिलामा चक्रघट्टी पुगेको घनश्याम थापा अर्थात् रिपु र बहिनी नाता जोडिएकी सानीबिचको अव्यक्त प्रेम र फूलको बिरुवासँगै साटिएको परशु र सतकुमारीबिचको अव्यक्त प्रेम फूलसँगसँगै हुर्कंदै गएसँगै उपन्यासको कथानक पनि रोचक बनेर अघि बढेको छ। पात्रहरूको मनोविज्ञान र मनोदशाको पनि राम्रो चित्रण गरिएको छ।
कहिलेकाहीं ठुला मान्छेले ठट्टामा बोलेको कुराले पनि बालकहरूमा गहिरो मानसिक असर पर्छ। यो उपन्यासमा पनि त्यस्तै भएको छ। परशुलाई हेरेर मुस्कुराइरहेको रिपुको अनुहार अलिअलि विचार गरेर हेर्दै आफू पनि मुस्कुराउँदै असई बोल्छन्, ‘रिपु सर, तपाईंको यो भान्जोलाई कहिले छोरो बनाउने नि? केही मेलोमेसो गर्नुभएन? (पृष्ठ १२९)
बाटोमा हिँड्दै गर्दा असई र रिपु मामाबिचको यो संवाद सुनेको परशुमा गहिरो मानसिक असर पर्छ। ऊ गम्भीर बन्छ। पढाइ–लेखाइमा पनि मन लाग्न छोड्छ। आफ्नी आमाप्रति व्यभिचार राख्ने रिपु मामाप्रति उसलाई घृणा लाग्छ र रिस पनि उठ्छ। अनि एकदिन बेलुका खाना खाएर भाँडा माझ्दै गरेकी आमालाई अलि रुखो स्वरमा परशुले सोध्छ, ‘रिपु गयो?’ (पृष्ठ १४८)
त्यहीं बसेर रक्सी पिउँदै गरेको रिपुले पनि सुन्छ परशुको यो प्रश्न। प्रश्नले भन्दा पनि ‘रिपु गयो?’ भन्ने शब्दले उसलाई बढी मर्माहत बनाउँछ र उसको अहम्मा चोट लाग्छ। यही चोटले रन्थनिएर उसको मनोदशा नै अर्कै हुन्छ। अनि केही दिनको एकान्तवासपछि एकदिन कसैलाई सुइँको नदिई सुटुक्क चक्रघट्टी छोड्छ। त्यसपछि उसले भोगेको मनोदशाको वर्णन निकै रोचक छ।
संयोगवश रिपुसँग अर्की सानीको सम्बन्ध जोडिन आएको छ। घटनाक्रम अघि बढ्दै जाँदा एक दिन उही संयोगले भेटिएकी तर काठमाडौंमा हुँदा काकीले बिहेका लागि हेरेकी केटी सानीसँगै रिपुको बिहे हुनुले पनि मान्छेको जीवनमा समयको छालले पार्ने प्रभाव प्रस्ट भएको देखिन्छ।
समयले मान्छेलाई कहाँ कहाँ पुर्याउँछ। कहिले हसाउँछ, कहिले रुवाउँछ। आँसु र हाँसोको सङ्गम पनि गराउँछ। रिपुको जीवनमा पनि यस्तै भएको छ। अनि परशु र झुमाको जीवनमा पनि यस्तै भएको छ।
परशु, सतकुमारी, रिपु, सानी, सुप्रभा यी सबै समयको छालले हुत्याइएका पात्र हुन्। समयको छालले हुत्याइएर कहिले कहाँ र कहिले कहाँ पुर्याइएका यी पात्रहरूको कहिले मिठो संयोग भएको छ भने कहिले नमिठो वियोग। समयले कहिले खुसी दिएको छ भने कहिले त्यो खुसी त्यही समयले नै खोसेको पनि छ।
यसरी कहिले मिलन र कहिले बिछोड गर्दै जीवनलाई हत्याउँदै कहाँ कहाँ पुर्याएको छ समयको छालले। घनश्याम थापा अर्थात् रिपु जागिर खान काठमाडौंदेखि सप्तकोशीपूर्वको गाउँ चक्रघट्टीसम्म पुगेको छ र सानीको सामीप्यमा पुगेको छ भने त्यो सामीप्यबाट टाढिएर फेरि यता दामनमा पुगेर आफ्नो जीवनको यात्रालाई केही समयका लागि विश्राम दिन पुगेको छ अर्कै सानीको सामीप्यमा। उता परशु पनि पढ्न, पढाउन र पुनः पढ्नका लागि चक्रघट्टीबाट धरान, घोपा हुँदै काठमाडौंसम्म पुगेको छ भने सतकुमारी र सुप्रभासँग मिठो प्रेमको आसक पनि बन्न पुगेको छ।
अन्ततः सतकुमारीसँग फूलको बिरुवासँगै साटिएको मनबाट अलग्गिएर पुनः सुप्रभाको मनसँग जोडिन पुगेको छ। परशु र सुप्रभाको सम्बन्धको घेरो कस्सिएर साँघुरिँदै एकअर्कामा एकाकार पनि भएका छन्। यी सबै समयको छालसँगै हुत्तिनुपर्ने मान्छेको नियतिका परिणाम हुन्। जीवन सोचेजस्तो र खोजेजस्तो हुन्न। यस्तै यस्तै सामाजिक यथार्थका सन्देश छन् यो उपन्यासमा।
समयको छाल अघि बढ्दै जाँदा कतिपय कुरा पछाडि नै छुट्छन्, कतिपय नयाँ कुरा थपिन्छन्। यस्तै भएको छ उपन्यासमा। परशुको जीवनमा सतकुमारी छुटेकी छे, फेरि सुप्रभा भेटिएकी छे।
निकै चञ्चल र वाचाल स्वभावकी सुप्रभा र कम बोल्ने अन्तर्मुखी स्वभावको परशुबिच बिस्तारै नजानिँदो गरी प्रणयसम्बन्ध जोडिएको छ। बिचमा दीपकजस्तो खलनायकको प्रवेशले केही दुःखद परिस्थितिको सिर्जना भए पनि अन्ततः परशु र सुप्रभाबिचको सम्बन्ध झन् मजबुत बन्न पुगेको छ।
उपन्यासमा कतै संयोग छ, कतै वियोग छ। धेरै घटनाक्रमहरूको उतारचढावपछि उपन्यासको सुखद अन्त्य भएको छ। उपन्यासको सुखान्त निकै आनन्ददायी छ। निकै शालीन ढङ्गले अघि बढेको उपन्यासमा कहीं कहीं यौनको झिल्को पनि भेटिन्छ।
फुच्चे मास्टर भएरै होला, एक हुल गोठाल्नीहरूले परशुलाई जिस्काउँछन्, ‘हामीलाई त घरै आ’र पढाइदिनुपर्छ नि! कि कहिलेकाहीं हामीसँगै जाम् सर ! उतै जङ्गलमै पढम्ला हुँदैन? (पृष्ठ २४४) गोठाल्नीहरूले परशुसँग गरेको यो ठट्टामा यौनको झिल्को छ।
विभिन्न परिवेशमा स्थानीय अर्थतन्त्र, जीवनशैली र संस्कृतिको समेत यथेष्ट चित्रणले गर्दा यो उपन्यासको सामाजिकता उच्च भए पनि कथावस्तु वर्तमान समयसँग अलिकति मेल नखाने देखिन्छ।
यद्यपि तत्कालीन समयमा मान्छेले जीविकाका लागि अपनाउने पेसा, व्यवसाय र जीवनशैलीको वर्णनले तत्कालीन समयको अर्थ–सामाजिक पाटोलाई पनि उपन्यासले उधिनेको पाइन्छ। २००६ सालदेखि झन्डै २०३६ सालसम्मको समयकाल र परिवेशमा लेखिएको यो उपन्यासले आधुनिक नेपाली साहित्यको श्रीवृद्धिमा एउटा इँट्टा थप्ने काम गरेको मान्न सकिन्छ।
प्रस्तुति निकै सरल र सहज प्रवाहको हुँदा हुँदै पनि केही बिम्ब, प्रतीक, उपमाको कमी महसुस हुन्छ। यसैगरी विचार, कल्पनाशीलता र शिल्पको पक्षमा पनि सुधार अपेक्षित छ।
सामान्य विषयवस्तु र साधारण कथानक भए पनि पठनको आनन्द त दिन्छ, तर पुरानै कथावस्तु र पुरानै लेखनशैलीले गर्दा पाठकले यी दुवै पक्षमा नवीनताको महसुस भने गर्न पाउने छैनन्। ससाना विषय र सन्दर्भलाई पनि विस्तारमा लेख्न सक्ने लेखकको खुबी भने तारिफयोग्य नै छ।
उपन्यासमा तत्कालीन समय र समाजको यथार्थलाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ। दुःख र अभरमा परेकालाई साथ र सहयोग दिने तत्कालीन समाजको प्रवृत्तिबाट वर्तमान समाजलाई पनि त्यही सन्देश दिने अभीष्ट स्वागतयोग्य छ। उपन्यासमा संवेदना पक्ष निकै सबल रूपमा आएको छ। हृदयलाई स्पर्श गर्ने सन्दर्भहरू धेरै ठाउँमा छन्। विचार, प्रस्तुति अथवा लेखनशैलीमा नयाँपन दिन नसक्नु चाहिँ उपन्यासको कमजोर पक्षको रूपमा स्वीकार्नुपर्ने हुन्छ।
प्रकाशित: ११ कार्तिक २०८० ०३:५९ शनिबार