१४ फाल्गुन २०८० सोमबार
कला

शिवरात्रिमा शिवश्रद्धा

संस्कृति

आज महाशिवरात्रि। नेपाल, भारत लगायत संसारभरका हिन्दुहरूको स्वागतार्थ पशुपतिनाथ विकास समितिले राम्रो व्यवस्था गरेको छ। भारत र अन्य देशबाट लाखौं तीर्थयात्री तथा साधु-सन्तहरू पशुपतिनाथको दर्शनार्थ आएका हुन्छन्। उता भारतखण्डमा एकहजार वर्षसम्म मुसलमान र अंग्रेज साम्राज्यले हिन्दु र बौद्धअस्मिताहरू तोडफोड गरेर बिटुलो बनाउँदै आफ्नो भाषा, धर्म र संस्कृति लाद्ने काम गरे। तर, नेपाल एकमात्र पवित्र भूमिका रूपमा सुरक्षित हुँदै आफ्नो अस्मिता बचाउन सकेकाले नेपालको विश्वमा ठुलो प्रतिष्ठा छ।

नेपालमा पशुपतिनाथको पुजारीका रूपमा दक्षिण भारतबाट भट्ट पुजारीको व्यवस्था छ। भारतका कैयौं मन्दिरधामहरूमा नेपाली पुजारीहरू रहने व्यवस्था रहेको छ। नेपाल तथा भारत हिन्दुधर्म दर्शनको उद्गम हो। महाभारतकालमा युद्धको समाप्तिपछि हिमाल जाँदा पाण्डवहरूले प्रायश्चितस्वरूप पशुपतिनाथको पूजा गरेका र लिच्छवि वंशका पहिलो राजाले ‘विक्रमादित्य’ को उपाधि धारण गरेर ‘वैशालाधिपति’ का रूपमा पशुपतिनाथ र बज्रयोगिनीको तपस्या गरी शक्ति प्राप्त गरेर बत्तीसपुलतीमा आफ्नो सिंहासन कायम गरेका र विक्रम संवत् चलाएका थिए।

उनैबाट काशीमा विश्वनाथको मन्दिर स्थापना गरिएको कुरा देवमाला वंशावली र हिमवतखण्डमा उल्लेख छ। सन् १९७९ देखि युनेस्कोले पशुपतिनाथ गुह्येश्वरी लगायत लगभग चार हेक्टर जमिनलाई अत्यन्त संवेदनशील कोर क्षेत्रमा राखेको छ।

भारतमा चार धाम प्रसिद्ध छन् भने नेपालमा पशुपतिनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, गोसाइकुण्ड, बराहक्षेत्र, जनकपुरधाम, लुम्बिनी, पाथीभरा, बौद्धनाथ धामजस्ता धार्मिक क्षेत्र प्रसिद्ध छन्। नेपालमा रहेका धाम र पवित्र मन्दिर एवम् सयौं तीर्थस्थलहरूका साथै यहाँको सभ्यता र सांस्कृतिक वैभवहरूको विश्वव्यापी मान्यता छ। नेपालका साथै भारतमा अवस्थित तिरूपति, अमरनाथ, बद्रीनाथ, रामेश्वरम्, गया, काशी, विन्ध्यवासिनी, कामाक्ष–कामरूप आदि पवित्र स्थलहरूमा नेपाल र भारतबीचमा त्यत्तिकै तादात्म्य छ। भारतका कतिपय धाम र मन्दिरमा नेपालका राजाहरूको विशेषाधिकार छ।

अंग्रेज साम्राज्यसँग भिडेर यो पुण्यभूमि सुरक्षित रहिआएको छ। समय-समयमा पशुपतिनाथ माथि आक्रमण नभएको होइन। नेपालका हिन्दु र बौद्ध जगत्मा फुट ल्याएर परचक्रीहरूको इसारामा केही नेपाली कुचक्रीहरू पशुपतिनाथको अस्मिता र महिमा तोड्न खोज्दै आएका छन् जुन सम्पूर्ण हिन्दु तथा बौद्ध जगत्का लागि दुःखद अवस्था हो। तर जति नै अपमान गर्न खोजे तापनि पशुपतिनाथको ज्योतिर्गमय स्वरूप अजर-अमर रहिआएको छ।

हिन्दु तथा बौद्धहरूले अमरनाथ, विश्वनाथ, कैलाश–मानसरोवरलाई शिवजीको तपोभूमिका रूपमा मान्छन्। पशुपतिनाथलाई शिव, महादेव, किरातेश्वर, शंकर, शम्भु, ज्योतिर्लिङ्ग आदि विभिन्न नामले पुकार्ने गरिन्छ। नेपाल तथा भारत हिन्दुधर्म दर्शनको उद्गम स्थल हो। अहिले विदेशी परचक्रीको इशारामा यहींका कुचक्रीहरूलाई बोकेर नेपालको अस्मिता र पहिचानलाई समाप्त पार्न खोजेका छन्।

यसको मुकाबिला गर्न अर्बौं हिन्दु र बौद्ध सजक छन्। हिन्दु र बौद्धको धाम नेपाल हो। जस्तोसुकै परिवर्तन भए तापनि हाम्रा धाम र मन्दिरहरूको परम्परागत मान्यता तोडेर आफ्ना पहिचान गुमाएर बस्न सकिँदैन। नेपालमा धर्म, जाति, भाषा, सांस्कृतिक मूल्य र मान्यता तथा पशुपतिनाथ माथि राजनीतिक विवाद झिक्नु आत्मघाती बन्न जान्छ।

कैलाश मानसरोवर शिवजीको क्रीडा तथा तपस्थान हो। यो क्षेत्र पनि हिमवतखण्डको भूभाग हो। मानव कल्याणका लागि बिषलाई आफ्नो कण्ठमा राखी त्यसको डाहाबाट मुक्त हुन त्रिशूलबाट जल निकाली कुण्ड बनाई त्यही कुण्डमा विराजमान भएकाले गोसाइकुण्डको पनि ठुलो महिमा छ। अठार पुराण सबैमा शिवको महिमा छ र शिव पुराण शिवजीकोे वृतान्त हो।

हिमवतखण्डको पुस्तकमा–‘मरिचि, पुलह, ऋतु, भृगु, अत्री आदि ऋषिहरूले पशुपतिनाथको पूजा गरेर बसेको उल्लेख छ। पशुपतिनाथका अनेकौं जात्राहरूमध्ये शिवरात्री, बालाचतुर्दशी, साउने सोमबारहरू अति नै प्रिय मानिन्छन्। शिवरात्रीमा विश्वभर छरिएर रहेका हिन्दुलगायत नेपाल र भारतका लाखौं साधुसन्त पूजा अर्चना र दर्शनका लागि आउँछन्। शिवरात्रीमा पशपतिनाथ लगायत नेपाल, भारत र विश्वका अनेकौं शिवालय, महादेवस्थानहरूमा धुमधामका साथ जागृत बसेर आराधना गर्ने परम्परा छ।

पशुपतिनाथका बारेमा पौराणिक इतिहासमा उल्लेख छ-प्रथम गोपालवंशी राजा भुक्तमानले पशुपतिनाथको दिव्यज्योति प्रकट भएको देखेर पशुपतिनाथको देवल बनाएका थिए। हिमालयको दक्षिण, गंगाको उत्तर र काठमाडौं उपत्यका रुद्रका अति नै प्रिय क्षेत्र हुन्। पशुपतिनाथकै प्रतापले गोसाईकुण्ड, पिण्डेश्वरलाई पवित्र क्षेत्रका रूपमा लिइन्छ। त्यस्तै अमरनाथ, विश्वनाथ, कैलाश–मानसरोवरलाई शिवजीको तपोभूमिका रूपमा विश्वभरका हिन्दु तथा बौद्धहरू मान्ने गर्छन्। पशुपतिनाथलाई शिव, महादेव, किरातेश्वर, शंकर, शम्भु, ज्योतिर्लिङ्ग आदि विभिन्न नामले पुकारिन्छ।

पशुपतिनाथका तीन नेत्र हुन्छन्, तिनलाई ज्ञानचक्षु मानिन्छ। पशुपतिनाथका पाँच मुखमध्ये पूर्व तत्पुरुष, उत्तर वामदेव, दक्षिण अघोर, पश्चिम सद्योजात र आकाशतर्फ फर्केको मुखको नाम इशान हो। महाभारत कालमा युद्धको समाप्तिपछि हिमाल जाँदा पाण्डवहरूले प्रायश्चितस्वरूप पशुपतिनाथको पूजा गरेका र लिच्छवि वंशका पहिला राजा ‘विक्रमादित्य’ को उपाधि धारण गरेर ‘वैशालाधिपति’ का रूपमा पशुपतिनाथ र वज्रयोगिनीको तपस्या गरी शक्ति प्राप्त गरेर बत्तीसपुलतीमा आफ्नो सिंहासन कायम गरेका र उनैबाट काशीमा विश्वनाथको मन्दिर स्थापना गरिएको कुरा देवमाला वंशावली र हिमवतखण्डमा उल्लेख छ। लिच्छवि राजाहरूमध्ये मानदेव प्रथमले सम्वत् ३८९ मा पशुपतिनाथप्रति भक्ति गरेर आफ्नी आमाको विक्रान्तिमूर्ति स्थापना गरेको लिच्छविकालीन अभिलेखहरूमा पाइन्छ।

विक्रम सम्वत् १४०० तिर बंगालका नबाब सुल्तान समसुद्दिनले एकतीस हजार मुसलमान पल्टन लिएर नेपालका मन्दिर तथा विहारहरू ध्वस्त गर्दै जनकपुर, पनौती हुँदै पशुपतिनाथको मन्दिरसमेत ध्वस्त पार्ने धृष्टता गरे। त्यो विकराल अवस्थाबाट यस क्षेत्रलाई बचाउन पाल्पा, कास्की, गोरखा, लमजुङका राजाहरूको सहयोग लिएर खसराजा जयस्थिति मल्लले मुसलमान फौजमाथि आक्रमण गरे।

३० हजार ४ सय मान्छे मारिए र ६ सय जति बाँचेर भागेका थिए भन्ने कुरा भक्तपुर तजेलु स्तम्भमा उल्लेख छ (योगी नरहरिनाथ)। त्यसपछि जयस्थिति मल्ल काठमाडौं उपत्यकाको राजसिंहासनमा बसेर पशुपतिक्षेत्रमा जीर्णोद्घार र पुनरुत्थान गरी वाग्मतीपारि राम मन्दिरको निर्माण गरेर कुम्भेश्वर महादेवको स्थापना गरी कोटिहोम गर्दै शुद्धशान्ति गरेर पशुपतिनाथको मन्दिरभित्र हिन्दु तथा बौद्धबाहेक अरूको प्रवेश निषेध गर्ने नियम चलाएका थिए। यद्यपि कतिले पशुपतिमा अन्य धर्मावलम्बीहरूलाई रोक लगाएकोमा असन्तुष्टि व्यक्त गरेको पनि पाइएको छ। तर यो परम्परागत मान्यता बनिसकेकाले अध्यावधि प्रचलनमा छ।  

प्रकाशित: ६ फाल्गुन २०७९ ०१:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App