४ चैत्र २०८२ बुधबार
image/svg+xml
निर्वाचन विशेष

मोरङ-५ का मतदाता: फेरि ‘मत बदल्ने’ रणनीतिमा, कसले जित्ला जनताको मन?

हरेक निर्वाचनमा फरक उम्मेदवारलाई विजयी गराउँदै आएको मोरङ क्षेत्र नं. ५ यस पटक पनि ‘परिवर्तन’ दोहोर्याउँछ कि स्थिरता रोज्छ ? प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा यही प्रश्न यतिबेला जिल्लाको मुख्य राजनीतिक बहस बनेको छ।

अघिल्ला परिणाम : गठबन्धनदेखि स्वतन्त्रसम्म

२०७४ सालमा एमाले–माओवादी गठबन्धनका उम्मेदवार शिवकुमार मण्डल निर्वाचित भएका थिए। तर २०७९ मा कांग्रेस–माओवादी गठबन्धन हुँदाहुँदै पनि उनी पराजित भए। उनलाई स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले ‘चापाकल’ चुनाव चिह्नबाट हराएका थिए।

तीन वर्षअघि स्वतन्त्र जितको सन्देश दिएका योगेन्द्र मण्डल अहिले आफ्नै पहलमा गठन गरिएको राष्ट्रिय उर्जाशील पार्टीबाट चुनावी मैदानमा छन्। पार्टीका केन्द्रीय अध्यक्ष पनि उनी स्वयं हुन्। स्वतन्त्र लहरको चर्चा चलेको बेला मोरङ–५ मा उनको उदय धेरैका लागि चासोको विषय बनेको थियो।

पुराना अनुहारको पुनरागमन

पूर्व सांसद शिवकुमार मण्डल यस पटक १८ दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट प्रतिस्पर्धामा छन्। २०६४ देखि क्षेत्रमै सक्रिय उनी झिनो मतान्तरले जित्ने–हार्ने दुबै अनुभव बोकेका अनुभवी नेताका रूपमा चिनिन्छन्।

जनता समाजवादी पार्टी नेपालका राजकुमार यादव पनि तेस्रो पटक चुनावी प्रतिस्पर्धामा छन्। मधेश आन्दोलनबाट उदाएका यादव यस पटक जित निकाल्ने दाउमा छन्। अघिल्ला निर्वाचनमा झिनो मतान्तरले पराजित भएका कारण यस पटक उनीप्रति केही मतदातामा सहानुभूति देखिएको विश्लेषण छ।

कांग्रेस–एमालेको नयाँ कार्ड

यस पटक नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ उम्मेदवार अघि सारेका छन्। कांग्रेसले फुलकुमार लालवाणी र एमालेले मनोज अग्रवाललाई उम्मेदवार बनाएको छ।

अघिल्लो निर्वाचनको समानुपातिक मत परिणाम हेर्दा कांग्रेस सबैभन्दा ठूलो दल देखिएको छ। कांग्रेसले २४ हजार ६२९ मत पाएको थियो भने जसपा नेपालले १२ हजार ७३१, एमालेले ९ हजार ४२८, तत्कालीन माओवादी केन्द्रले ७ हजार २२३ मत पाएका थिए। रास्वपा र राप्रपाले पनि उल्लेख्य मत प्राप्त गरेका थिए। मतगणितका आधारमा कांग्रेस बलियो देखिए पनि पछिल्ला वर्षमा निरन्तर जित निकाल्न नसकेको तथ्यले प्रतिस्पर्धा खुला बनाएको छ।

मोरङ–५ कुनै समय कांग्रेस नेतृ शैलजा आचार्यको क्षेत्रका रूपमा परिचित थियो। २०६२/०६३ को राजनीतिक परिवर्तनपछि यहाँ एकपटक मात्र कांग्रेसले जित निकालेको छ। यसअघि मधेसी जनअधिकार फोरमबाट उपेन्द्र यादव पनि निर्वाचित भएका थिए।

भूगोल र एजेन्डा

धनपालथान र जहदा गाउँपालिका, रंगेली नगरपालिकाका वडा नं. ४–७ तथा विराटनगर महानगरपालिकाका वडा नं. १३–१८ समेटिएको यो क्षेत्र कृषि प्रधान मानिन्छ। भारतसँगको सीमा जोडिएका कारण सुरक्षा चुनौती, तस्करी र रोजगारीका मुद्दा यहाँका स्थायी चुनावी विषय हुन्।

मल, गुणस्तरीय बीउ, सिंचाइ र गरिबी निवारण विगत दुई दशकदेखि दोहोरिँदै आएका मुख्य एजेन्डा हुन्। तर निर्वाचित भएपछि ती प्रतिबद्धता कार्यान्वयनमा नआएको भन्दै मतदाताले हरेक निर्वाचनमा मत परिवर्तन गर्ने प्रवृत्ति देखाएका छन्।

यस पटक के हुन्छ ?

यस पटक उम्मेदवारहरूले घोषणापत्रको सट्टा ‘प्रतिबद्धतापत्र’ सार्वजनिक गर्दै एजेन्डा कार्यान्वयन गर्ने वाचा गरेका छन्। तर मोरङ–५ का मतदाता केवल वाचा होइन, विश्वसनीयता र कार्यक्षमताको खोजीमा देखिन्छन्।

पुराना दलको संगठन शक्ति, स्वतन्त्र लहरको प्रभाव, सहानुभूतिको मनोविज्ञान र स्थानीय मुद्दाको समिश्रणले यो निर्वाचनलाई अत्यन्त रोचक बनाएको छ।

अब प्रश्न उही छ, हरेक पटक मत बदल्दै आएका मोरङ–५ का मतदाताले यस पटक निरन्तरता रोज्छन् कि फेरि नयाँ अध्याय सुरु गर्छन् ? चुनावी परिणामले नै यसको उत्तर दिनेछ।

प्रकाशित: १६ फाल्गुन २०८२ १९:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App