१६ आश्विन २०८३ शुक्रबार
image/svg+xml
समाज

पिलर भत्किएपछि दोधाराचाँदनीको झोलुंगे पुल महाकालीमा बग्यो

कञ्चनपुरको महाकाली नदीपारिको दोधारा चाँदनी जोड्ने झोलुंगे पुल भत्किएको छ। नदीको बीच भागमा रहेको एक टावर (पिलर) भत्किएपछि पुलको बीचको भाग नदीमा बगेको छ। 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार झोलुंगे पुलमा रहेका आठ वटा टावरमध्ये बीच भागमा रहेको एउटा टावर भत्किँदा पुलको एक भागसमेत नदीमा खसेको हो। 

दोधारा चाँदनी जोड्ने पुलको बीचको भाग भत्केर नदीमा बगेपछि आवतजावत बन्द भएको छ। यो पुलबाट मोटरसाइकल तथा पैदल यात्रु ओहोरदोहोर गर्ने गरेका थिए। पुलका कारण महाकाली नदीपारिको बस्तीबाट महेन्द्रनगर पुग्न सहज र छोटो हुने गरेको थियो। पुल हेर्न विभिन्न ठाउँबाट पर्यटकसमेत आउने गरेको प्रजिअ कोइरालाले बताए। 

‘झोलुंगे पुलमा आठ वटा टावर (पिलर) थिए। तीमध्ये एउटा टावर भत्किँदा बीचको पुलको भाग पनि नदीमा बगेको छ,’ उनले भने।महाकाली नदीमा करिब ६५ हजार क्युसेक पानी रहेको प्रजिअ कोइरालाले बताए। 

भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ नम्बर र दोधारा चाँदनी गाउँपालिकातर्फबाट तेस्रो नम्बरको पुलको भाग भत्किएको हो।

भत्किएको पुलको अवलोकन गर्न प्रमुख जिल्ला अधिकारीसहितको टोली दोधारा चाँदनी पुलमा पुगेको छ। सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयबाट पुलको निरीक्षण गर्न प्राविधिक टोलीसमेत मगाइएको प्रजिअ कोइरालाले बताए।

प्राविधिक टोलीले अध्ययन गरेपछि क्षतिको अवस्था र पुल मर्मत गर्न लाग्ने समयबारे जानकारी हुने उनले बताए। झोलुंगे पुल २०६१ सालमा बनेको थियो। त्यतिबेला यो देशभरकै सबैभन्दा लामो झोलुंगे पुलका रूपमा रहेको थियो। 

बिहान करिब ४–५ बजे पुलबाट ओहोरदोहोर गर्ने स्थानीयले पुलको एक भाग अस्वाभाविक रूपमा माथि उठेको देखेका थिए। त्यसबारे प्रहरीलाई जानकारीसमेत गराइएको थियो। तर, आज बिहान करिब ८ बजेतिर माथि उठेको उक्त भाग नदीमा खसेको स्थानीयले बताएका छन्। 

पुलको बीचको एक भाग भत्किएपछि दोधारा चाँदनी र भीमदत्तनगरबीच ओहोरदोहोर बन्द भएको छ। अब ओहोरदोहोर गर्न करिब दुई किलोमिटर माथि पुगेर पक्की पुलबाट यात्रा गर्नुपर्ने भएको छ। 

प्रकाशित: १४ आश्विन २०८३ १०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App