१३ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

सांसद हमालको प्रश्न : प्रधानमन्त्रीको विदेश भ्रमणको उद्देश्य, एजेन्डा संसदलाई किन जानकारी भएन ?

प्रतिनिधिसभा सदस्य टुका भद्रा हमालले प्रधानमन्त्रीको विदेश भ्रमणका क्रममा भ्रमणको उद्देश्य, एजेन्डा र राष्ट्रिय हितका प्राथमिकताबारे संसदलाई जानकारी गराउनुपर्ने बताएकी छन्। 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै हमालले संयुक्त राष्ट्रसंघको महासभा नेपालको लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च भएकाले प्रधानमन्त्रीको भ्रमणलाई संसदप्रति जवाफदेही बनाउनुपर्ने बताइन्। 

उनले प्रधानमन्त्री नेपालको कार्यकारी प्रमुख मात्र नभई प्रतिनिधिसभाबाट निर्वाचित सांसदसमेत भएकाले विदेश भ्रमणका विषयमा संसदलाई जानकारी गराउनु आवश्यक रहेको बताइन्। 

‘प्रधानमन्त्रीज्यू विदेश जानुअघि यस सम्मानित सदनलाई भ्रमणको उद्देश्य, एजेन्डा र राष्ट्रहितका प्राथमिकताबारे जानकारी गराउने तथा स्वदेश फर्किएपछि भ्रमणबाट प्राप्त उपलब्धि र भएका महत्वपूर्ण भेटवार्ताबारे सदनलाई जानकारी गराउने संसदीय अभ्यासलाई गम्भीरतापूर्वक लिनुपर्छ,’ हमालले भनिन्। 

सरकारले प्रधानमन्त्रीको विदेश भ्रमण स्वीकृत गरेको र उनले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेको विषय सार्वजनिक भए पनि भ्रमणअघि र भ्रमणपछि संसदलाई पर्याप्त जानकारी नदिइएको उनको भनाइ थियो। 

हमालले प्रधानमन्त्री संसदलाई जानकारी नदिई विदेश जाने र फर्किएपछि पनि भ्रमणका उपलब्धिबारे सदनलाई जानकारी नगराउने हो भने सरकार संसदप्रति कसरी जवाफदेही बन्न सक्छ भन्ने प्रश्न गरिन्। 

प्रकाशित: १३ आश्विन २०८३ १०:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App