राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद जगदिश खरेलले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाम परिवर्तन गरेर ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्न गरेको प्रस्तावको जवाफ आफूले अझै नपाएको बताएका छन्।
मंगलबार संसदमा बोल्दै उनले सदनबाट ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाम परिवर्तन गरेर ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्न आग्रह गरेको स्मरण गरेका हुन्। ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ होइन, ‘प्रधानमन्त्री विपद् राहत कोष’ भनेर त्यो कोषको नामाकरण गरियोस् भनेर मैले यही सदनबाट आग्रह गरेको थिएँ। त्यसको जवाफको पर्खाइमा म रहेको छु,’ उनले भने।
उनले विपद्लाई दैवी प्रकोपका रूपमा नभई प्राकृतिक वा मानव सिर्जित घटनाका रूपमा बुझ्नुपर्ने बताए। ‘हामीले पटक-पटक भनेका छौं-विपद् दैवी प्रकोप होइन, यो दैवले गराएको होइन। यो प्राकृतिक या मानव सिर्जित हुन्छ भन्ने कुरा हामीले महसुस गरेका छौं,’ उनले भने।
उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पनि अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड दिए। ‘अब हामीले एउटा सहसचिवस्तरको व्यक्ति त्यहाँ राखेर त्यो संरचना होइन। अब संसदको विशेष समिति पनि बन्दैछ। यो समितिले समेत र सुशासन तथा राज्य व्यवस्था समितिले पनि यसमा ध्यान दियोस् कि-अधिकारसम्पन्न प्राधिकरण बनाऔं,’ उनले भने।
प्रकाशित: १३ आश्विन २०८३ १०:३५ मंगलबार



-600x400.jpg)

