ललितपुरकी मल्लिका थापा फेसबुकमा स्टाटस लेख्दै प्रश्न गर्छिन, 'के रे के रे ग्वार्कोमा जाम हुन्न रे ?' ग्वार्कोमा नेपालकै पहिलो फ्लाइओभर बनेपछि त्यहाँ सवारी जाम नहुने अनुमान गरिएको थियो। यही कुरालाई व्यङ्ग्य गर्दै उनले शुक्रबार साँझ एक किलोमिटरको यात्रा गर्न घण्टौ लगाएको आक्रोश पोखिन्। ग्वार्कोबाट सातदोबाटो पुग्न घण्टौ लागेको उनको अनुभव छ।
काठमाडौं पेप्सीकोला बस्दै आएकी अस्मिता निरौला कामको सिलसिलामा दैनिक असन आइपुग्छिन्। सार्वजनिक सवारीसाधन प्रयोग गर्ने उनलाई केही दिन यता घर पुग्न झण्डै दुई घण्टा लाग्छ। एक हप्ताअघिसम्म पौने घण्टामै घर पुग्ने उनलाई अहिले ढिला हुनुको कारण भने थाहा छैन। भन्छिन् जाम धेरै हुन्छ। तर किन थाहा छैन।
ललितपुरको ग्वार्को र काठमाडौंको पेप्सीकोलामा मात्र होइन अहिले मुख्य सडकमा सवारी आवागमन बढेको छ। सरकारले चुनावको लागि तीन दिन बिदा नै दिएपछि मतदानको लागि गृह जिल्ला जानेको संख्या थपिँदैछ।
राजधानीका मुख्य सडकदेखि दुर्गम जिल्लाका कच्ची बाटासम्म अहिले सुरक्षा व्यवस्थाको अग्र पङ्क्तिमा देखिन्छन्- म्यादी प्रहरी। गृह प्रशासनको प्रचलित अभ्यासअनुसार म्यादी प्रहरी प्रायः चुनावका बेला सीमित अवधिका लागि भर्ना गरिन्छन्। तर पछिल्ला वर्षमा संघीय संरचनासँगै स्थानीय तहको विस्तार, सवारी चापको वृद्धिसँगै ट्राफिक व्यवस्थापनको चुनौती बढेपछि म्यादीलाई सडक सुरक्षामा समेत खटाउने प्रवृत्ति देखिएको छ।
नेपाल प्रहरीको हाल रहेको जनशक्तिबाट मात्रै निर्वाचन सुरक्षा सम्भव नहुने भएपछि सरकारले निर्वाचन प्रहरी भर्ना गर्ने अनुमति दिएको थियो। निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी (म्यादी), ७९ हजार ७ सय २७ जना नेपाली सेना, ७५ हजार ७ सय ९७ नेपाल प्रहरी, ३४ हजार ५ सय ६६ सशस्त्र प्रहरी बल तथा १ हजार ९ सय २१ जना राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटाइएको छ ।
नेपाल प्रहरीका एक अधिकृतका अनुसार, स्थायी दरबन्दी पर्याप्त छैन। आकस्मिक आवश्यकतामा म्यादी परिचालन गर्नु बाध्यता हो।'
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले हाल उपत्यकाका तीन जिल्लामा आवश्यक जनशक्ति रहेका दाबी गरे । 'निर्वाचनको लागि जनशक्ति आवश्यक भएपछि ट्राफिक प्रहरी पनि खटाइएको छ । तर मतदानको दिन नजिकिँदै गर्दा उपत्यकामा चल्ने सवारीसाधन कम भएकाले व्यवस्थापनमा समस्या छैन', उनले भने ।उपत्यकामा सामान्यतया एक हजार ६०० ट्राफिक प्रहरी खटाउने गरिएको थियो।
जिम्मेवारी र जोखिम
सडकमा उभिएका म्यादी प्रहरीलाई सवारी नियन्त्रण, भीड व्यवस्थापन र आकस्मिक अवस्थामा उद्धारसम्मको जिम्मेवारी दिइएको छ। तर उनीहरूले पाउने तालिम छोटो अवधिको हुन्छ। सडक सुरक्षा केवल हातको इसाराले गाडी रोक्ने काम होइन।
यसमा कानूनी ज्ञान, जोखिम मूल्याङ्कन र आपतकालीन प्रतिक्रिया क्षमता आवश्यक पर्छ। यद्यपी अहिलेको अवस्थामा उनीहरुले पनि ठूलो काम गरिरहेको चोटपटक अनुसन्धानकर्ता पुष्पराज जोशी बताउँछन्।
दुर्घटना स्थायी समस्या भएकाले सडक र सवारीका कारण हुने दुर्घटना कम गर्नको लागि दीर्घकालीन योजना बन्न आवश्यक रहेको उनको भनाइ छ।
सडक दुर्घटनाका तथ्याङ्कले पनि ट्राफिक व्यवस्थापन सुदृढ गर्नुपर्ने संकेत गर्छ। यद्यपि आधिकारिक निकायले म्यादीकै कारण दुर्घटना बढेको ठोस प्रमाण सार्वजनिक गरेको छैन, तर अनुभवहीनता र सीमित अधिकारले प्रभावकारितामा प्रश्न उठाएको छ।
प्रकाशित: १७ फाल्गुन २०८२ १३:३० आइतबार





