२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अपराध

मोटो चामलको नाममा मसिनो चामल तस्करी !

१ करोड ८० लाख बराबरको ३ ट्रेलर नियन्त्रणमा

कपिलवस्तु प्रहरीले मोटो चामल भनि मसिनो र महँगो चामल तस्करी गर्न खोज्ने एक गिरोहलाई नियन्त्रणमा लिएको छ।

गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बिल बिजकभन्दा फरक र बढी परिमाणको चामल बोकेका तीनवटा भारतीय ट्रेलरलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मायादेवी गाउँपालिका वडा नम्बर १, पकडीबाट उक्त ट्रेलरहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए अनुसार चेकजाँचका क्रममा ट्रेलरहरूमा घोषणा गरिएको भन्दा फरक र महँगो प्रकारको चामल फेला परेको थियो।

प्रहरीले युपी ५१ बीटी ३९३२, एचआर ६९३२ ई ९०३९ र एचआर ५८ बी ८६८७ नम्बरका तीन ट्रेलर नियन्त्रणमा लिएको हो। युपी ५१ बीटी ३९३२ नम्बरको ट्रेलरमा रु. २६ लाख ४ हजार ८६६ मूल्यको ४२,२२० केजी ‘डि वाईल्ट केक पोल्ट्री फिड्स’ चामल, एचआर ६९३२ ई ९०३९ नम्बरको ट्रेलरमा रु. ५३ लाख १८ हजार १० मूल्यको ४२,००० केजी बासमती चामल र एचआर ५८ बी ८६८७ नम्बरको ट्रेलरमा रु. २५ लाख ९१ हजार २९३ मूल्यको ४२,००० केजी ‘सोया डक’ चामल फेला परेको छ।

प्रहरी उपरीक्षक सन्तोष आचार्यका अनुसार व्यापारीहरूले लामो समयदेखि मोटो चामलको कम भन्सार शुल्क तिरेर महँगो पर्ने मसिनो चामल भित्र्याएर राजस्व छली गर्दै आएको सूचनाका आधारमा कारबाही गरिएको हो।

‘मोटो चामलको नाममा मसिनो चामल ल्याएर भन्सार छली गर्ने गरेको सूचनाका आधारमा हामीले ट्रेलरलाई नियन्त्रणमा लिएका हौं,’ प्रहरी उपरीक्षक आचार्यले भने।

प्रहरीले बरामद गरिएको चामल र तीनवटै ट्रेलरको गरी कुल रु. १ करोड ८० लाख १४ हजार मूल्यांकन कायम गरेको छ।

नियन्त्रणमा लिइएका ट्रेलर, चामल र चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको डीएसपी सिंहले जानकारी दिए।

प्रकाशित: २७ कार्तिक २०८२ २१:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App