नेपाल प्रहरीको साइबर ब्यूरोको नाम दुरुपयोग गरी सर्वसाधारणलाई त्रसित बनाउँदै अनलाइन ठगी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
ब्यूरोको पहिचान प्रयोग गरेर रकम असुल्ने कार्यमा संलग्न चार जनालाई सुनसरीको धरानबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का ३० वर्षीय दीपक लिम्बु, सुनसरी धरान उपमहानगरपालिका–९ का २१ वर्षीय सौरव भुजेल, वडा नं. १३ का २८ वर्षीय सजल राई र इनरुवा नगरपालिका–६ का २४ वर्षीय सृजन थापा रहेका छन् ।
ब्यूरोका अनुसार यो गिरोहले ‘ट्रू कलर’ मा समेत आफ्नो नाम ‘साइबर ब्यूरो’ देखिने बनाएर सर्वसाधारणलाई फोन गर्ने गरेको थियो।
फोनमार्फत विभिन्न डर, त्रास तथा प्रलोभनमा पारी उनीहरूले पीडितहरूलाई विद्युतीय माध्यमबाट रकम पठाउन लगाएर ठगी गर्ने गरेको प्राविधिक अनुसन्धानबाट खुलेको छ।
साइबर ब्यूरोबाट खटिएको टोलीले इलाका प्रहरी कार्यालय धरानसँगको समन्वयमा १९ वैशाखमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी विद्युतीय माध्यम सम्बद्ध ठगी अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए।
पीडितहरूको निवेदनका आधारमा ब्यूरोले प्राविधिक विश्लेषण गर्दा उनीहरूको संलग्नता पुष्टि भएको थियो। प्रहरीले सरकारी निकायको नाम दुरुपयोग गरी हुने यस्ता ठगीबाट बच्न र शङ्कास्पद फोन आएमा तत्काल प्रहरीलाई खबर गर्न सर्वसाधारणमा अनुरोध गरेको छ।

प्रकाशित: २१ वैशाख २०८३ १८:४२ सोमबार





