१) एक पफ धुवा र जीवन!
एक खिल्ली चुरोट
र मानव जीवन
उस्तैउस्तै हो
जून र तारा जस्तै
प्रकाशिलो!
जसरी खिल्ली चुरोटमा
एक काटी सल्लाई
लगाइन्छ अनि
उसको भौतिकता
सकिँदै जान्छ
नासिदै जान्छ
खत्तम हुन्छ
आकासिन्छ
उतै जान्छ
विलीन हुन्छ
अलपिन्छ।
नसाको प्यासमा
सल्काइने खिल्ली
जसरी आगोमा रुमलिन्छ।
सनैसनै
क्षण भरमै
धुवा र खरानीमा
रूपान्तरण हुन्छ !
आकार,प्रकार सकिन्छ!
हो मानव शरीर पनि
त्यस्तै एकपफ चुरोट हो!
रोपिन्छ
उम्रन्छ
हुर्कन्छ
निस्कन्छ
बढ्छ
बढ्दै जान्छ
कर्मसँगै गल्छ
वयस्कताको
उन्मुक्ततामा
रमाउँछ
मस्ततामा कुद्छ
होहल्लामा फुरुङ्ङ
नाच्नु नाच्छ
बाझ्छ
कराउनु ,कराउँछ।
अहँ
यस्तै मात्रै होइन रहेछ जीवन!!
जसरी एक खिल्ली
चुरोट सल्काउँदा
उसको अस्तित्व
नास हुन्छ नि
हो जीवन पनि
सकिँदै जान्छ
चाउरिन्छ
जीर्णतामा परिवर्तन हुन्छ
मानौ एक पफ धुवा
हो जिन्दगी !!
अन्तत: जीवन डढ्छ ,
एक पफ धुवाझैं
धुवा भएर अकासिन्छ
बाकी खरानी हुन्छ ,
हावासँगै
धुवा र खरानी मिल्छ!
त्यही भएर
जीवन घाम छाया हो!
सुखदुखको आहाल हो!
जहाँ हामी डुबुल्की मार्छौ!
जिउँछौ
तर
एक पफ धुवाका लागि
सल्किन्छौ
चुरोटझैं सकिन्छौ!
२) खोला र पहाड
पृथ्वीमा अटल भएर उभिरहेको,
जसको शरीर र छाती टेकेर असंख्य
जिवात्माहरू जिएका छन् ,रमाएका छन्
आफ्नो अस्तित्व जोगाउन कुदिरहेका छन्।
तैपनि पहाड अनेकौं पीडाका बाबजुद
स्थिरता लिएर उभिरहन्छ।
टक्क उभिरहन्छ।
उसलाई न दिक्क लाग्छ न आतिन्छ,
मात्र उसलाई अरू बचाउनु छ,
कहिले हावा छेकेर त कहिले खाद दिएर।
जे परोस् उ सहन्छ
नहल्लिएर नै उ बाँचिरहन्छ।
कहिलेकाही उमाथि भएर
जताततै हेर्दो हो
उ भन्दामाथि अझै माथि अग्ला शिखर देख्दा,
उसलाई झोक चल्दो हो
मैले नसहनु सहेको छु ,
मलाई माथ गर्दै उ माथि !
अनि मुर्मुरिदो हो,
मलाई माथ गर्ने तलाई
एकदिन खसाल्छु ,ढाल्छु ,निहुर्याउँछु
अझै रिसाउँदै भन्दो हो
तलाई डढेलो लगाइदिएर
तसँग भएका असख्य जीवात्मा
मसँगै आउँछन् रमाउछँन्
यतिबेला उ बिर्सदो हो
उ र म
अस्तित्वका लागि सम्बन्धित छौ।
उ लड्यो भने म गर्ल्यामगुर्लुम्म हुन्छु
म पनि नासिन्छु उ पनि नासिन्छ।
अनि फेरि उ तल नियालेर हेर्दो हो
उसलाई भेटौला झैं गरेर
माथि आकाश नियालेर उभिरहेका पहाड
अनि भन्दो हो
मलाई नउछिनेर अल्मलिएकाहरू
उतै कुदिरहेका रहेछन्
न यिनीहरूको कुनै शक्ति छ मलाई भेट्न् सक्ने
एकछिन उसलाई आनन्द जाग्दो हो
यतिबेला पनि उ बिष्मरणमा पर्दोहो ,,
कुनै पल बाढी आएर यी अल्मलिएकाहरु
लड्दा म पनि लड्दो हुं!!
एक छिन है पहाड ,,,
तिमी किन यतिबिघ्न घमण्ड गर्छौ
भो भो नगर अभिमान ,,भो ,,
धेरै तल तल उ धेरै तल हेर त !
अविरल बग्ने उ त्यो खोलाले ,,
पलपल हरपल ,,निमेष निमेष ,,
तिमिलाई काटिरहेछ ,खियाइरहेछ ,,,
बर्षातको पानी थपी थपी,,
लडाइरहेछ ,आफ्नो रंग फेरि फेरि
बगाइरहेछ ,डुबाइरहेछ ।
उ निरन्तर बग्छ बगिरहन्छ
धेरै निलो भएर कहिले अनेकौ रूप लिएर
खोला पनि त तिम्रो ओझेलमा दिक्क मानेर
रविको किरण छेकेको देख्दा
सिधै किरण पाउने र तात्ने आशमा
अथकित भएर
तिम्रो पैताला काटिरहेछ ,खियाइरहेछ
कणकणमा तिमीलाई रुपान्तरण गरिरहेछ।
न उ स्थिर हुन्छ ,न थाक्छ न डराउछ
उसलाई पनि त लाग्दो हो
एकपल अडियौ ,एकपल आराम गरौं
अल्मलिऔ रमाऔ
भो उ त्यसो गर्दैन गर्दै गर्दैन
उसलाई त तिमिलाई ढाल्नुछ आफू भित्र मिलाउनुछ
तिमीलाई भित्र पठाएर उ बाहिर निस्कनु छ।
तिमि भन्दा कति तल हुनु भन्ने अभिमान उसमा छ।
त्यही भएर उ हरपल ,,
तिम्रो फेदैदेखि नै काटिरन्छ ,खियाइरहन्छ
निरन्तर तिमीलाई ढालिरहन्छ
तिमीले खोलालाई पुर्न सक्तैनौ कहिल्यै सक्तैनौ।
उ नै तिमीमाथि हुन्छ,
ढिलो हुन्छ तर पक्कै तिमीमाथि हुन्छ।
न तिम्रो नढ्ल्ने सपनाहरू पूरा हुन्छन्
न खोलाको आराम गर्ने आश पूरा हुन्छ
निरन्तरनिरन्तर
पहाड ढलिरन्छ, पछारिरहन्छ।
खोला झन् धारिलोधारिलो भएर
बगिरन्छ र उसलाई काटिरन्छ।
प्रकाशित: ३० जेष्ठ २०८३ १०:४५ शनिबार


-600x400.jpg)


