झापाको काँकडभिट्टा नाका भएर गत असोज महिनामा मात्रै ९८ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ।
मेची भन्सार कार्यालयका अनुसार सो महिनामा ५ लाख ४१ हजार ९४० केजी अलैँची भारततर्फ निर्यात भएको हो। अलैँचीसँगै पूर्वी नाकाबाट चिया र प्लाइउडको निर्यात पनि उच्च देखिएको छ।
कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार असोजमा ४९ करोड ५४ लाख ५२ हजार रुपैयाँ बराबरको १७ लाख १५ हजार ९३२ केजी चिया र ४४ करोड २३ लाख ४८ हजार रुपैयाँको १ लाख १८ हजार ४४४ केजी प्लाइउड निर्यात भएको छ।
अलैँची, चिया र प्लाइउड पूर्वी पहाडी तथा तराईका जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादन हुने मुख्य निर्यातजन्य वस्तु हुन्।
यस्तै, औद्योगिक उत्पादनतर्फ २९ करोड ८४ लाख ६७ हजार रुपैयाँ बराबरको २० लाख ८० हजार ७६३ केजी फलामे पाता निर्यात भएको छ।
अम्रिसोको व्यापार पनि उल्लेख्य रहेको छ। असोजमा ८ करोड ९५ लाख ५० हजार रुपैयाँको १३ लाख १९ हजार १४० केजी अम्रिसो भारत पठाइएको सूचना अधिकारी राईले बताए।
नाकाबाट कुकुर-बिरालोको आहाराका रूपमा प्रयोग हुने छुर्पी र सुकुटीको निर्यातसमेत राम्रो देखिएको छ। सो महिनामा ८ करोड ९५ लाख ३६ हजार रुपैयाँ मूल्यको ४६ हजार ७४५ केजी छुर्पी र ४ करोड ८३ लाख १८ हजार रुपैयाँ बराबरको ४८ हजार ३१८ केजी सुकुटी (सुकाएको मासु) निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।
प्रकाशित: २३ कार्तिक २०८३ २१:५१ सोमबार





