बराह बचत तथा ऋण सहकारी संस्था धरानका बचतकर्ताको १० अर्ब ७३ करोड भन्दा बढी रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका आठ जनालाई थुनामा पठाउने आदेश भएको छ। तीन जनालाई भने धरौटीमा रिहा गर्न अदालतले आदेश गरेको छ।
सुनसरी जिल्ला अदालतका न्यायाधीश मुकेश उपाध्यायको इजलासले पक्राउ परेका मध्ये बराह ग्रुपका अध्यक्ष शिव लामिछानेकी पूर्व श्रीमती रिना राई, सञ्चालक समिति सदस्य फुलमाया राई, ऋण उपसमिति सदस्य शेरबहादुर महत, अस्मिता भण्डारी, पूर्वसञ्चालक र लेखा सुपरिवेक्षण संयोजक सुदिन बिक, ऋण उप-समितिपूर्व सदस्य इन्द्रकुमार ल्वागुन र लेखापाल अर्पणा श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
जिल्ला अदालत सुनसरीका श्रेष्तेदार उपसचिव टिकेन्द्रवीरजंग राणाका अनुसार पक्राउ परेका ११ जनामध्ये मानबहादुर विश्वकर्माकी श्रीमती जतनमाया विश्वकर्मा, गंगा कालिकोटेकी श्रीमती सरिता कालिकोटे र सञ्चालक सदस्य विष्णुमाया तुलाधारलाई जनही ५-५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश भएको छ। प्रहरीले २१० जना ऋणीसहित २६२ जनालाई सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरेको थियो।

मुद्दा दायर भएकामध्ये ३५ जनालाई संगठित अपराध निवारण ऐन २०७० र सहकारी ऐन २०७४ बमोजिम कसुरमा सजायको माग दाबी गरिएको छ। २१० जना ऋणीसहित २२२ जनालाई सहकारी ऐन २०७४ बमोजिमको कसुरमा सजाय माग गरिएको छ।
पाँचवटा कम्पनीलाई पनि सम्पत्ति जफत गर्ने उद्देश्यले प्रतिवादी बनाइएको छ। बराह सहकारीका सञ्चालक र उच्चतहका कर्मचारीहरूलाई सहकारी ऐन २०७४ र संगठित अपराध निवारण ऐन २०७० बमोजिम कारबाही तथा सजायको माग दाबी गरिएको छ।
अनुसन्धानका क्रममा चार हजार १६८ जना पीडितहरूले जाहेरी दिएकोमा चार हजार ७७२ पीडितहरू रहेको खुलेको छ। सहकारीको नाममा रकम हिनामिना तथा अपचलन गरेको जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी निरीक्षक दिनेश अधिकारीको नेतृत्वमा अनुसन्धान गरेको थियो।
प्रहरी निरीक्षक अधिकारीको अनुसन्धान प्रतिवेदनले कुल १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ रकम हिनामिना तथा अपचलन गरी ठगी भएको निष्कर्ष निकालेको छ।
सहकारीका मुख्य सञ्चालक शिवकुमार लामिछाने, मानबहादुर विश्वकर्मा, गंगा कालिकोटेलगायतका व्यक्ति भने फरार छन्। बचतकर्ताको रकममध्ये सबैभन्दा हिनामिना शिवकुमार लामिछानेले गरेको प्रहरीको अभियोग पत्रमा उल्लेख छ।
जसमा शिवकुमारले मात्र २ अर्ब ७१ करोड ३१ लख ६० हजार २४ रुपैयाँ हिनामिना गरेको अभियोग पत्रमा उल्लेख छ।
प्रकाशित: २२ फाल्गुन २०८१ १९:५० बिहीबार