७ वैशाख २०७८ मंगलबार
भिडियो

महिला पुरुषको पूर्वनिर्धारित भूमिका के आजको दिनमा पनि उपयुक्त छ त?

लैंगिकताका विगत तथा वर्तमान अवस्था र भोगाइको उजागरका लागि नेपाल रिपब्लिक मिडियाकी सिइओ सम्वृद्धि ज्ञवालीले ‘मम्मा नेपाल’ कार्यक्रममार्फत् प्रोफेसर डा. संगिता रायमाझी, अधिवक्ता उषा मल्ल र मनोविज्ञ करुणा कुंवरसँग कुराकानी गरेकी छन्।

लैंगिक असमानताको कुरा उठाउँदा यसको इतिहास मानव सभ्यताको बिकास सँगसँगै प्रारम्भ भएको गन्ध आउँछ। आदम र ईभको कथामा जसरी ज्ञान प्राप्त हुने फल खाएपछि लाज लाग्न शुरुवात भएको भनिन्छ, त्यो कथामा पनि ईभले नै फल खाएको र लजाएको वर्णन छ। त्यसैगरी बहुविवाह, सतिप्रथा, कुमारी प्रथा, छाउपडि जस्ता विभेदकारी तमाम प्रथाहरुले हाम्रो नेपाली सभ्यता पनि लैंगिक असमानताले ओतप्रोत रहेको उदाहरण ब्याप्त रुपमा पाईन्छ , वैश्विक परिवेश होस अथवा नेपाली परिवेश, प्रत्येकको अँतरँग सँस्कारको जरो लैंगिक असमानता नै रहेको छ। वंशको आधार पुरुषलाई मान्ने पितृसत्तात्मक ढाँचामा सबैको एकमत अधिकाँश नै देखिन्छ। लैंगिकताका विगत तथा वर्तमान अवस्था र भोगाइको उजागरका लागि नेपाल रिपब्लिक मिडियाकी सिइओ सम्वृद्धि ज्ञवालीले ‘मम्मा नेपाल’ कार्यक्रममार्फत् प्रोफेसर डा. संगिता रायमाझी, अधिवक्ता उषा मल्ल र मनोविज्ञ करुणा कुंवरसँग कुराकानी गरेकी छन्।

प्रोफेसर डा. संगिता रायमाझीले लैंगिकता तटस्थ रुपमा नरहने बताएकी छन्। समयको मागसँगै लैंगिकताले पहिचान बनाउने उनले बताइन्। लैंगिकतालाई सैंद्धान्तिक, शारीरिक, सामाजिक तथा व्यवहारिकताले  व्याख्या गर्न मद्दत पुर्‍याउने उनको बुझाइ छ। पितृसत्ताले आफ्नो सहजताका लागि महिलाहरुलाई घरभित्रै सीमित राख्न समाजमा लैंगिक शब्दको बार लगाएकोे देख्न सकिन्छ। हामीले पनि पुस्तौं पुस्तादेखि यसलाई मान्यता दिँदै आएका छौं।

उसो त, लैंगिक शब्दको परिभाषाको खोजी गर्नु एकदमै अप्ठेरो विषय हो। यो शब्द आफैमा गहन छ। लैंगिकसँगै अन्य पक्ष समावेश गरेर हेरियो भने केही हदसम्म यसलाई बुझ्न भने बेर नलाग्ला। तर विगतकै मान्यताका आधारमा लैंगिकलाई परिभाषा दिन पक्कै पनि धेरै सोच्नुपर्ने हुन्छ। समथल रुपमा हेर्दा महिला र पुरुषलाई नै लैंगिक भनेर परिभाषित गरिएको छ। तर समय र परिस्थितीको विकासक्रमसँगै यति मात्रले पुग्दैन। हाल महिला र पुरुष मात्र नभई तेस्रोलिंगी, समलिंगीलगायतका लैंगिकको परिभाषामा पर्छन्।

माहिला र पुरुषले आफ्नो व्यक्तिगत विकास र कार्य छनोट गर्न समान र स्वतन्त्र छ भन्ने मान्यता लैंगिक समानता हो। आजपनि जब एउटी छोरीको जन्म हुन्छ त्यसबखत घरमा खुसियाली मनाउँदै स्वागत गरिए तापनि छोरीलाई आमाकै सहयोगीको रुपमा प्रयोग गरिएकै हुन्छ। छोरीको शिक्षा प्रारम्भ गर्दा शिक्षालयको वातावरणमा छोरीको स्तरीय शिक्षाको साथै सुरक्षाको बिशेष ध्यान दिईने गरिन्छ। स्वतन्त्र रुपमा केटा र केटीलाई समान विद्यार्थीको रुपमा कमै हेरिन्छ। खेलकुदलगायत अतिरिक्त क्रियाकलापमा पनि महिला पुरुषलाई छुट्टाछुट्टै समूह बनाईन्छ। छोराभन्दा छोरी के कम भन्दाभन्दै पनि दुबैलाई प्रारम्भिक तवरमै असमान व्यवहारले लैंगिक विभेद जन्माई सकेको हुन्छ।

वास्तवमा महिलालाई समान अधिकार प्राप्तिको नाममा समेत विभेद भईरहेकै देखिन्छ।
महिला र पुरुषको जैविक विविधताका आधारमा जुन आवश्यकता छ त्यसैले लैंगिकको परिभाषालाई मान्य बनाउँछ। अधिवक्ता उषा मल्ल भन्छिन्, ‘लैंगिकको परिभाषा समाजले छुट्टाएको जिम्मेवारीका आधारमा राखिएको छ।’ कानूनले महिला पुरुष समान छन् भनेता पनि समाजले महिलालाई पुरुषको तलनै राखेको छ। समाजले महिलालाई पुरुषको तुलनामा कमजोर बनाउनकै लागि शारीरिक र मानसिक रुपमा विभेद गर्दै आएको उनले बताइन्। परम्परादेखि महिला र पुरुषबीच रहँदै आएको विभेदलाई समाजले अझैं बुझेको छैन। उनीहरुको शारीरिक बनावट र आवश्यक्ताले दिएको भिन्नतालाई समाजले बुझ्नु पर्छ। महिला र पुरुषबीच कानूनले समानता भनेपनि व्यवहारमा देखिएको भिन्नतालाई हामीले आत्मसात गर्नै पर्छ। 

लैंगिक शब्दलाई पितृसत्तात्मक समाजले आफ्नै शब्दमा ब्याख्या गरेकै कारण आजसम्म महिला र पुरुषबीच विभेदको ठूलो पर्खाल सृजना भएको छ। वंश धान्ने नाममा परम्परादेखि नै हुँदै आएको विभेद अझै कायम छ। परम्परादेखि नै महिलाहरुलाई शारीरिक र मानसिक रुपमै कमजोर बनाई विभिन्न परिबन्धमा बाँधिदै आएको छ।

साइकोलोजिस्ट करुणा कुंवरले भइरहेका बिभेदलाई अन्त्य गर्न घरबाटै आफ्ना छोराछोरीहरुलाई चेतना दिनुपर्ने बताएकी छन्। जस्तो कि छोराछोरीलाई सानैदेखि कामको बाँडफाँड गर्दा उनीहरुलाई लैंगिक असमानताको गन्ध आउनु नहुने उनको भनाइ छ।

विश्व जगतमै हेर्ने हो भने पनि पुरुषभन्दा महिलाहरु नै हरेक क्षेत्रमा अग्रसर भएका छन्। जैविक भिन्नताबाहेक अन्य जुनसुकै काममा पनि अब्बल हुन सक्नेमा दुई मत छैन। त्यसैले हरेक क्षेत्रमा महिलाले आफ्नो क्षमता र आत्मबललाई उच्च बनाउँदै अघि बढ्नु नै आजको प्रमुख आवश्यक्ता हो।
त्यस्तै, महिला लैंगिक समानता ल्याउनको लागि विशेष अभियानहरूको सञ्चालन गर्दै त्यस सम्बन्धमा देखापरेका चुनौतिहरुसँग जुध्दै जानुपर्दछ। लैंगिक समानता ल्याउन नारीवर्गको चेतनामा अभिवृद्धि गर्नुपर्छ। नीतिनिर्माणका उच्च तहमा महिलाहरू पुग्नुपर्दछ, अनिमात्र लैगिक समानताले खुड्किलो चढ्नेछ। यसलाई सामाजिक न्याय प्रवर्द्धन गर्ने महत्वपूर्ण औजारको रूपमा लिन सकिन्छ। लैंगिक समानताले सम्पूर्ण समानता कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।

लैंगिक असमानताको अनभुति सबैले गरेका हुन्छन् र बिशेष त जो यस्को सिकार भईसकेका वा सिकार हुन्छु कि भन्ने डरमा रहन्छन् तिनीहरुले यो कुराको प्रतिकार गरेर म वा हामी वास्तविक लैंगिक असमानता हटाउन सक्छौ भन्ने सोचको सबैभन्दा ठूलो परिणाम समलैंगिकता हुन पुगेको कुरालाई मनन् गर्नैपर्ने बेला आईसकेको छ। बाल हिैसा, यौन हिैसा, महिला हिंसाले गर्दा महिलालाई पुरुष र पुरुषलाई पनि महिलासित अस्वाभाविक रुपमा टाढा बनाउने र समलिङ्गी सम्बन्धमा बढी सुरक्षित हुने अवस्था देखिएको छ। यसर्थ लैंगिक असमानताको विकृत वा परिस्कृत स्वरुपमा समलिङ्गी सम्बन्ध बिकसित हुँदै गएको यथार्थलाई स्वीकार्ने बाध्यात्मक स्थिति बन्दैछ।

अन्तमा लैंगिक असमानताको विषयलाई समाधानमुखि र परिणाममुखि बनाउन बच्चा जन्मिनु पूर्वनै आमाबाबु, अभिभावकहरू र परिवारका अन्य जेष्ठ सदस्यलाई अभिमुखिकरण, प्रारम्भिक शिक्षामा यौन शिक्षा समेतको समावेशीकरण, एकमात्र सन्तान छोरा छोरी संधै समान भन्ने जस्ता अभियान, विवाह खर्च बन्देज, पैत्रिक सम्पत्तिमा अनिवार्य हक जस्ता सुधार गर्न सकियो भने र साथै लैंगिक असमानतालाई लैंगिक बिकृतिकै रुपमा कडा कानुनको निर्माण भयो भने अवश्यम्भावी रुपमा यसलाई निर्मुल त न भनौं, कम गर्न त सकिन्छ।

प्रकाशित: २३ चैत्र २०७७ १८:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?