२६ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

रविमाथि दुर्व्यवहार आरोप: आयोगले थाल्यो प्रहरीमाथि अनुसन्धान, सोधपुछमा गएनन् प्रहरी प्रमुख

राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि प्रहरीद्वारा मानव अधिकार उल्लङ्घन भएको उजुरीमाथि छानबिन सुरु गरेको छ।

चितवनबाट पोखरा लैजाने क्रममा लामिछानेमाथि दुर्व्यवहार भएको आरोपमा आयोगले प्रहरी उच्च अधिकारीहरूसँग छलफल गर्दै अनुसन्धान अघि बढाएको हो।

रवि लामिछानेमाथि हिरासतमै दुर्व्यवहार भएको, उनको व्यक्तिगत डायरी गायब पारिएको, र प्रहरीको आदेशमा मानव अधिकार उल्लङ्घन गरिएको आरोप उनकी पत्नी निकिता पौडेल र पार्टीले आयोगमा उजुरीमार्फत दिएका थिए।

उजुरीमा प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरकै आदेशमा चितवन प्रहरीले गैरकानुनी रूपमा काम गरेको दाबी गरिएको छ।

आयोगले घटनाबारे सोमबार एआइजी टेकबहादुर तामाङ, डीआईजी दानबहादुर कार्की, र एसपी मोहनकुमार थापासँग बयान लियो। आयोगका प्रवक्ता टिकाराम पोखरेलका अनुसार प्रहरी प्रमुख कुँवरलाई पनि बयानका लागि बोलाइएको भए पनि उनी अनुपस्थित रहे। उनका प्रतिनिधिका रूपमा अन्य उच्च अधिकारीहरू आयोग पुगेका थिए।

छलफलका क्रममा आयोगका सदस्य मनोज दुवाडीले कानूनी शासन, स्वच्छ पुर्पक्षको अधिकार, र बन्दीका आधारभूत मानव अधिकारहरूको संरक्षणमा जोड दिएका थिए। उनले निष्पक्ष र स्वतन्त्र अनुसन्धानको महत्त्वलाई स्पष्ट गर्दै अनुसन्धानको निष्कर्षमा पुग्न थप जानकारी आवश्यक पर्ने बताए।

रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाने क्रममा मापसे गरेका प्रहरीले दुर्व्यवहार गरेको, रातारात यात्रा गराइएको, र उनका व्यक्तिगत कागजात गायब पारिएको आरोप पार्टीले लगाएको छ। प्रहरीको भनाइमा भने रविलाई कानूनी प्रक्रिया अनुसार नै पोखरा लगिएको दाबी गरिएको छ।

यस घटनाको थप अनुसन्धानका लागि आयोगले प्रहरी महानिरीक्षक कुँवरसँग जानकारी लिने प्रक्रिया जारी राख्ने जनाएको छ। प्रवक्ता पोखरेलले मानव अधिकार उल्लङ्घनका घटनामा कुनै पनि पक्षको लापरबाही स्वीकार्य नहुने भन्दै निष्पक्ष निर्णयका लागि आयोग प्रतिबद्ध रहेको बताए।

प्रकाशित: २४ मंसिर २०८१ १७:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App