गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कुनै मानवअधिकारको हनन् कार्य प्रहरीबाट नभएको बताएका छन्। लेखकले लामिछानेकै सुरक्षाको लागि राति अड्डासार गरिएको दाबी गरे।
'हामी सबै नागरिकको मानवअधिकारप्रति प्रतिबद्ध छौँ,' मन्त्री लेखकले भने,'कसैको मानवअधिकार हनन भएको छैन र हुँदैन, जहाँसम्म रवि लामिछानेको कुरा छ। उहाँकै सुरक्षाको लागि राति नै चितवनबाट पोखरा लगिएको हो, यसमा कहाँ मानवअधिकार हनन हुन्छ ?'
लाखौँ सर्वसाधारण जनताको रकम दुरुपयोग भएको सन्दर्भमा अनुसन्धान भइरहेको उल्लेख गर्दै मन्त्री लेखकले भीड जम्मा गरेर अनुसन्धान प्रभावित गर्ने काम भएको बताए।
'अनुसन्धान भइरहेको विषयमा कहिले प्रहरी कार्यालय घेरेको छ, कहिले सरकारी वकिल कार्यालय घेरेको छ, कहिले अदालत घेरेको छ, अनि यो भीडले हो न्याय निरूपण गर्ने ?', गृहमन्त्री लेखकले प्रश्न गरे। रवि लामिछाने मात्रै नभएर सहरकारी अपचलनमा धेरै व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको भन्दै यसको निर्क्योल अदालतले गर्ने उनले बताए।
मन्त्री लेखकले सडकमा भीड जम्मा नगर्न र अदालतको कामलाई प्रभावित नगर्न सुझावसमेत दिए। उनले भने, 'न्याय दिने अदालतले होला नि !, भीडले न्याय दिन्छ र ?'
प्रकाशित: २५ मंसिर २०८१ १८:३२ मंगलबार