काठमाडौं - सरकारले ल्याएको गुठी विधेयकको चौतर्फी विरोध भइरहेका बेला नेपाल मुस्लिम संघले पनि विधेयकको विरोधमा ऐक्यवद्दता जनाउँदै भोलि हुने आन्दोलनमा सहभागी हुने जनाएको छ। संघका अध्यक्ष अब्दुल सतारले मुस्लिम समुदाय पनि गुठीकै एक हिस्सेदार भएको जनाउँदै सरकारले ल्याउन लागेको विधेयक नेपाली संस्कृतिको विपक्षमा रहेको बताए। नागरिक न्यूजसँग कुरागर्दै संघका अध्यक्ष सतारले भने- 'यो मुलुकमा लोकतन्त्र छ, यो मुलुक बहु भाषिक, बहु धार्मिक समुदाय सहितको मुलुक हो भन्ने कुरा दुई तिहाईको सरकारले बिर्सेको छ।'
प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पहिलो मन्त्रिपरिषद बैठकले धार्मिक बिदा कटौती गरेर यहाँका समुदायमाथि आक्रमण गरेको उनको भनाइ थियो। संवैधानिक व्यवस्थालाई लत्याउँदै ऐन कानुन बनाउने बहानामा गुठीमाथि प्रहर भएको बताउँदै मुस्लिम संघका अध्यक्ष सतारले गुठीमाथि प्रहर गरेर धार्मिक फाइदा लिने सरकारको उद्देश्य रहेको जिकिर गरे।
गुठीभित्र मुस्लिम समुदाय पनि रहेको उल्लेख गर्दै उनले भने- 'हिजो पशुपतिको पुजारी हटाउन खोज्दा सरकार ढल्ने अवस्था आयो। अहिले त काठमाडौंका नेवारहरु मात्र उठेका छन्, यो विधेयकको विरोधमा देशभर आन्दोलन चर्किन्छ र त्यसमा मुस्लिम समुदायले पनि साथ् दिन्छ।'
गुठियारले गर्ने काम कर्तव्यलाई समुदाय लक्षित बनाउनु पर्ने माग गर्दै उनले भने- 'हिजो बालुवाटारको जग्गा कम्युनिष्ट नेताहरुले हडपेको जस्तो, लिएको जस्तो, किनेको जस्तो होइन।'
प्रकाशित: ३ असार २०७६ ०८:०१ मंगलबार


-1200x560-600x400.jpg)


