२ चैत्र २०८२ सोमबार
image/svg+xml
अपराध

नाबालिका करणी मुद्दामा प्रहरीले जाहेरी लिन नमानेको भन्ने आरोप के हो

सांकेतिक तस्बिर

जिल्ला प्रहरी कार्यालय बाँकेले डुडुवा गाउँपालिका–४ मा नाबालिकामाथि भएको जबरजस्ती करणी घटनासम्बन्धी जाहेरी नलिएको र पीडितलाई न्यायिक प्रक्रियामा असहयोग गरेको भन्ने आरोपको खण्डन गरेको छ ।  

घटनाबारे पीडित पक्षले काठमाडौंस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी आरोप लगाएपछि प्रहरी कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रहरीका अनुसार पुस १७ गते पीडित नाबालिका कार्यालयको सम्पर्कमा आएलगत्तै सोही दिन विस्तृत स्वास्थ्य परीक्षणसहित प्रारम्भिक अनुसन्धान कार्य सुरु गरिएको थियो । पीडितलाई साथमा ल्याएका सहजकर्तामार्फत तत्काल जाहेरी दरखास्त ल्याउन आग्रह गरिएको भए पनि ‘सल्लाह गरेर आउँछौँ’ भनी गएको पीडित पक्ष त्यसपछि सम्पर्कमा नआएको प्रहरीको भनाइ छ ।

प्रहरी कार्यालयका अनुसार पुस २२ गते हुलाकमार्फत पीडित बालिकाकी आमाको नामबाट जाहेरी दरखास्त प्राप्त भएको थियो । तर मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार हुलाकबाट प्राप्त जाहेरी सनाखतपछि मात्र दर्ता गर्नुपर्ने कानुनी व्यवस्था रहेकाले जाहेरवालासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको जनाएको छ ।  

प्रहरी टोली स्वयम् जाहेरवालाको घरठेगानामा जाँदासमेत उनी फेला नपरेको र आफन्त, संस्था तथा छिमेकीमार्फत पटकपटक सम्पर्कका लागि अनुरोध गर्दा पनि हालसम्म जाहेरवाला कार्यालयमा नआएको कारण जाहेरी दर्ता हुन नसकेको स्पष्ट पारिएको छ ।

प्रहरीले नाबालिकामाथि भएको गम्भीर प्रकृतिको घटनामा चासो नदिएको, अनुसन्धान नगरेको, दबाब र प्रभावमा परेको भन्ने आरोप निराधार रहेको दाबी गरेको छ । विज्ञप्तिमा यस प्रकारका घटनालाई अत्यन्त संवेदनशील रूपमा लिएर गहन अनुसन्धान भइरहेको र निरन्तर रहने प्रतिबद्धता जनाइएको छ ।

प्रहरीले पीडित पक्षलाई कुनै दबाब वा प्रभावमा नपरी प्रहरी अनुसन्धानमा विश्वास गरी कार्यालयमा उपस्थित भई जाहेरी सनाखत गरी अनुसन्धानमा सहयोग गर्न अपील गरेको छ । साथै, केही व्यक्ति, समूह तथा सञ्चारमाध्यमले अनुसन्धानलाई प्रभावित पार्ने मनसायले अनर्गल प्रचारप्रसार गरी पीडितलाई झन् पीडित बनाएको आरोप लगाउँदै यस्ता घटनामा संवेदनशील र जिम्मेवार भूमिका निर्वाह गर्न सरोकारवालासँग अनुरोध गरिएको छ ।

सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक पातलीले नेपाल प्रहरी संगठन पीडितको सुरक्षा, न्यायिक पहुँच सुनिश्चित गर्दै निष्पक्ष र वस्तुनिष्ठ अनुसन्धान गर्न पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

प्रकाशित: २७ पुस २०८२ १८:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App