१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

कांक्रेविहार एन्फा राष्ट्रिय लिग खेल्दै

एन्फा प्रेसिडेन्ट लिगमा उत्कृष्ट प्रदर्शन गरेको कांक्रेविहार क्लव फुटबलको राष्ट्रिय लिग–२०८२ खेल्न काठमाडौं प्रस्थान गरेको छ । पुस ३० गतेदेखि सुरु हुने प्रतियोगीतामा देशभरका १७ क्लवको सहभागीता रहनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) आयोजनामा हुने राष्ट्रिय लिग–२०८२ को उद्घाटन खेल कांक्रेविहारले फ्रेन्ड्स क्लबसँग खेल्नेछ ।  

कर्णालीबाट पहिलोपटक ‘ए’ डिभिजन क्लबहरुसँग खेल्न लागेको कर्णालीको टीमलाई आइतबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, वीरेन्द्रनगर नगरपालिकाका उपमेयर निलकण्ठ खनालसहितले बिदाई गरे ।

खेलाडीलाई बिदाई गर्दै सामाजिक विकास मन्त्री भण्डारीले उच्च मनोवलका साथ मैदानमा प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गरे । ‘तपाईँहरु समग्र कर्णालीको प्रतिनिधित्व गर्दै पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगीतामा सहभागी हुँदै हुनुहुन्छ,’ उनले भने, ‘प्रेसिडेन्ट लिगको जस्तै मैदानमा उत्कृष्ट प्रदर्शन गर्नुहोला ।’  

उनले कर्णालीमा फुटबल क्षेत्रको विकासका लागि सरकार क्रियाशिल रहेको बताए । कर्णालीका १० जिल्ला मध्ये जुम्ला र सुर्खेतमा क्लवहरु मात्रै दर्ता छन् । उनले चालू आर्थिक वर्षमा दैलेख र जाजरकोटमा फुटबल मैदान तयार हुने बताए । ‘प्रदेश सरकारको बजेटबाट दैलेख र जाजरकोट जिल्लामा खेलकुद मैदान निर्माण भइरहेको छ, चालू आर्थिक वर्षभित्र निर्माण सम्पन्न हुन्छ,’ उनले भने, ‘क्रमश अरु जिल्लाहरुमा पनि फुटबलका लागि आवश्यक पूर्वाधार निर्माण गर्नेछौं ।’ उनले आगामी १० औं राष्ट्रिय खेलकुद प्रतियोगीतामा कांक्रेविहार क्लबनै फुटबलतर्फको खेलमा सहभागी हुने बताए ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले छोटो तयारीमा कांक्रेविहारका खेलाडीहरुले एन्फा प्रेसिडेन्ट लिगमा उत्कृष्ट प्रदर्शन गरेको बताउँदै राष्ट्रियस्तरको प्रतियोगीतामा पनि सोही अनुसारको खेलको अपेक्षा राखिएको बताए । ‘छोटो तयारीमा अघिल्लो पटक तपाईँहरुल उत्कृष्ट प्रदर्शन गर्नुभयो,’ उनले भने, ‘यो पटक त्यो भन्दा राम्रो गर्नुहुनेछ भन्नेमा विश्वस्त छौं ।’ उनले खेल क्षेत्रको विकास र खेलाडी प्रोत्साहनका लागि नगरपालिकाले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने बताए ।  

कांक्रेविहार क्लवका संरक्षक सुशीलराज शर्माले कोठाबाट सुरु भएको क्लवको यात्रा अहिले राष्ट्रिय प्रतियोगीतासम्म पुगेको बताए । ‘हामीले राष्ट्रिय खेल खेल्ने सपना देखेका थियौं, त्यो खेलाडीहरुको मेहनतले पूरा गरेको छ,’ उनले भने, ‘सुर्खेतको एक घरको कोठाबाट सुरु भएको कांक्रेविहारको यात्रा समग्र कर्णालीको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरमा पुग्नु हाम्रा लागि ठूलो खुशीको कुरा हो ।’

प्रतियोगीतामा हिमालयन शेर्पाबाहेक १३ ए डिभिजन क्लब र एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार टोलीबीच प्रतिस्पर्धा हुनेछ । काँक्रेविहारसहित लालिगुराँस, चित्लाङ र नव जन जागृति एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार टोली हुन् भने एपीएफ एफसी, श्री भगवती क्लब, सातदोबाटो युथ क्लब, लालिगुराँस एशोसिएसन, मछिन्द्र एफसी, त्रिभुवन आर्मी एफसी, प्लानिङ ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, मनाङ मस्र्याङ्दी क्लब, न्यू रोड टिम, जावलाखेल युथ क्लब, संकटा एफसी, चर्च ब्वाइज युनाइटेड र फ्रेन्ड्स क्लब ए डिभिजन क्लव हुन् ।  

लिगको उद्घाटन खेल पुस ३० गते बिहान ११:०० बजे काँक्रेविहार  र फ्रेन्ड्स क्लबबीच एन्पा कम्प्लेक्समा हुनेछ भने सोही दिन दिउँसो ३:०० बजे श्री भगवती क्लब र चर्च ब्वाइज युनाइटेडबीच दोस्रो खेल हुनेछ । लिगका खेलहरू एन्फा कम्प्लेक्स, सातदोबाटोसहित  च्यासल रंगशाला र दशरथ रंगशाला, त्रिपुरेश्वरमा खेल हुनेछन् । 

प्रकाशित: २७ पुस २०८२ १७:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App