जापान सरकारले नेपालमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सहयोग प्रदान गरेको छ। उक्त सहयोग जापानको खाद्य सहायता परियोजनाअन्तर्गत स्थापना गरिएको काउन्टरपार्ट कोषमार्फत उपलब्ध गराइएको हो।
यहीँ फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाल सरकारले निर्वाचन व्यवस्थापनसम्बन्धी सफ्टवेयर अद्यावधिक, निर्वाचन कर्मचारीलाई तालिम प्रदान तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन जस्ता कार्यका लागि जापान सरकारले ३९ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ।
यसवर्ष नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव समेत मनाइँदै छ। दुई देशबीच विगतदेखि नै आपसी सहयोग र मित्रतापूर्ण सम्बन्ध कायम रहँदै आएको छ।
नेपालस्थित जापानी दूतावासले यस प्रकारको सहयोगले नेपाल र जापानबीचको मित्रता तथा सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।
प्रकाशित: १२ फाल्गुन २०८२ १६:४३ मंगलबार





