नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठकले पार्टीले गरेका काम तथा विभिन्न राजनीतिक घटनाक्रम जनतासम्म स्पष्ट रूपमा पुर्याउन नसक्दा निर्वाचनमा हार व्यहोर्नुपरेको निष्कर्ष निकालेको छ।
शनिबार फागुन ३० गते पार्टी अध्यक्ष केपी शर्मा ओली को निवास भक्तपुरको गुण्डुमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी सचिव लेखराज भट्ट ले यस्तो बताएका हुन्।
भट्टका अनुसार पार्टीले गरेका काम, भदौ २३ र २४ गते भएका घटनासहितका विभिन्न राजनीतिक घटनाक्रम तथा पार्टी नेतृत्वमाथि भएको आक्रमणलाई जनतामाझ स्पष्ट रूपमा राख्न नसक्दा जनमत प्रतिकूल गएको बुझाइ बैठकमा व्यक्त गरिएको छ।
उनले भने, “हामीले गरेका काम जनतासम्म पुर्याउन सकेनौँ। भदौ २३ गतेको घटना पनि जनतासँग प्रस्ट पार्न सकेनौँ, त्यसैले हार बेहोर्नुपर्यो। ती घटनाक्रममा पार्टी नेतृत्वको भूमिका के थियो र पार्टीमाथि कसरी आक्रमण भयो भन्ने कुरा जनतामाझ लैजान सकेनौँ।”
भट्टका अनुसार पार्टी र नेतृत्वप्रति विभिन्न आरोप र आलोचनाले एउटा प्रकारको भाष्य निर्माण भएको थियो। तर त्यसलाई तथ्यका आधारमा प्रभावकारी रूपमा जनतामाझ स्पष्ट पार्न नसक्दा एमालेविरुद्ध जनमत गएको निष्कर्ष पार्टीभित्र बनेको छ।
“एमाले र नेतृत्वप्रति आक्रमण भयो, तर त्यो कुरा जनताबीच प्रभावकारी रूपमा बुझाउन सकेनौँ। त्यसले एउटा खालको भ्रम पैदा गर्यो र त्यही भाष्यले हाम्रो विपरीत जनमत बन्यो भन्ने बुझाइ बनेको छ,” उनले भने।
यसैबीच पदाधिकारी तहमा विवाद चलेको भन्ने विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा भट्टले आफूलाई त्यस्तो विवादबारे जानकारी नभएको बताए। “म त भर्खरै हिजो राति मात्रै आएको हुँ, कहाँ आरोप–प्रत्यारोप भयो भन्ने विषयमा जानकारी छैन,” उनले प्रतिक्रिया दिए।
प्रकाशित: ३० फाल्गुन २०८२ १६:२२ शनिबार





