‘नमस्ते, सञ्चै हुनुहुन्छ ? चिया खानुभयो त ? चिया कहाँको खानुभयो ? इलामको कि दमकको ?’
मंगलबार इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आमसभामा वरिष्ठ नेता बालेन शाहले मञ्चमा उक्लिनेबित्तिकै उपस्थित हजारौं जनसागरलाई यसरी नै प्रश्न गरे।
उपस्थित सहभागीतर्फ इसारा गर्दै बालेनले पुनः सोधे, ‘बिहान खानामा तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
‘तेह्रथुम र पाँचथरमा उत्पादन भएको तरकारी खान पाउनुभएको छैन तपाईंहरूले। हाम्रै पूर्वी पहाडमा उत्पादन भएको तरकारी र उब्जनी यहीँ तल तराईका झापा, सुनसरी र विराटनगरमा खान नपाइनु दुःखको कुरा हो।’
उनले पहाडमा तरकारी कुहिएर जाने तर तराईका भान्सामा भारतीय तरकारी पाक्नुपर्ने अवस्थालाई समाधान गर्नुपर्नेमा जोड दिए। ‘यो दुःखको कुरा हो। यो सप्लाई चेनको समस्या समाधान गर्नुपर्छ र त्यो समाधान गर्ने पार्टी बन्न चाहन्छ रास्वपा,’ उनले भने।
पूर्वलाई कृषि उत्पादनको हब मानिए पनि यहाँका जनताले आफ्नै माटोको स्वाद लिन नपाएकोमा बालेनले चिन्ता व्यक्त गरे। उनले पूर्वी तराईका ३-४ वटा जिल्लाले मात्रै सही ढंगले खेती गर्ने हो भने सिंगो देशलाई पुग्ने धान र चामल उत्पादन गर्न सक्ने क्षमता राख्ने बताए।
‘यहाँ धान र चामल उत्पादन गर्ने हो भने देशभरलाई खान पुग्छ। तर विडम्बना, यहीँ खान पुगेको छैन,’ बालेनले भने, ‘वर्षामा बाढीले खेत बगाउने र हिउँदमा सिँचाइ नहुने समस्याले यो अवस्था आएको हो।’
उनले रास्वपाले सरकारको नेतृत्व पाएमा पहाडको उत्पादन तराईमा झार्ने र तराईको उत्पादनले देश पाल्ने गरी ‘सप्लाई चेन’ व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित: १२ फाल्गुन २०८२ १६:४६ मंगलबार





