२६ पुस २०८२ शनिबार
image/svg+xml
प्रविधि

चौधरी ग्रुपद्वारा सञ्चारमा एक अर्ब लगानी

ऋषिकेश दाहाल, काठमाडौं, माघ २२- देशको ठूलो औद्योगिक समूह चौधरी ग्रुप डिटिएच (डाइरेक्ट टू होम) प्रविधिको स्याटलाइट टेलिभिजनबाट मनोरञ्जन तथा सूचना प्रविधि क्षेत्रमा प्रवेश गरेको छ। यो समूहको मनोरञ्जन हेर्ने सिजी टेक्नोड्रिम्स स्वदेशी र विदेशी च्यानल लिएर नेपाल सहित ८२ देशको बजारमा प्रतिस्पर्धाका लागि उत्रँदैछ। सूचना तथा सञ्चार मन्त्रालयले हालै पाँच नेपाली कम्पनीलाई डिटिएच प्रविधिमा टेलिभिजन सञ्चालन गर्ने अनुमति दिएको थियो। यसमा चौधरी ग्रुपको सिजी टेक्नोड्रिम्स एक हो।

'हामी एकैचोटी एक अर्ब रुपैयाँ लगानीमा टेलिभिजन प्रसारणमा संसारकै पछिल्लो प्रविधि लिएर बजारमा आउँदैछौं,' टेक्नोड्रिम्सका अध्यक्ष नीर शाहले नागरिकसँग भने, 'डेढ वर्षभित्र दुई लाखभन्दा बढी घरमा सेवा विस्तार गर्ने हाम्रो योजना छ।' चौधरी समूहले आफ्नो मनोरञ्जन र सञ्चार क्षेत्रको जिम्मा शाहलाई सुम्पेको छ। उनी नेपाल टेलिभिजनका महाप्रबन्धक र अध्यक्ष थिए। एक समय सांग्रिला च्यानल चलाएका शाहसँग स्थानीय बजारमा विदेशी च्यानल वितरणको अनुभव छ।

कम्पनीले डिटिएचलाई मनोरञ्जन क्षेत्रमा आफ्नो पहिलो उत्पादनका रूपमा अघि सारेको छ। यसपछि टेक्नोड्रिम्सले सिनेमाका पूर्वाधारसँग सम्बन्धित विभिन्न क्षेत्रमा नयाँ अवधारणासहित लगानी गर्ने शाहले जानकारी दिए।

अहिलेको योजनाअनुसार कम्पनीले २५ प्रतिशत नेपाली च्यानलसहित ९० वटा च्यानल स्याटलाइटबाटै सोझै घर-घरमा पुर्‍याउनेछ। डिटिएच प्रविधि औपचारिक रूपमा नेपालमा भित्रन लागेको पहिलोपटक हो।

अहिले भारतका केही कम्पनीले अवैध रूपमा यहाँ बजार विस्तार गरिरहेका छन्। डिस टिभी, टाटा स्काई, एयरटेलको डिजिटल टिभी, रिलायन्सको बिग टिभी यहाँ सक्रिय पाइएको छन्। यी कम्पनीले डिटिचमा आधारित डिजिटल च्यानलका ५० हजारभन्दा बढी ग्राहक बनाइसकेका छन्। नेपालका कम्पनीले यी सबै 'बिग हाउस'सँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

'बजारमा आउनासाथ हाम्रो प्रतिस्पर्धा क्षेत्रीय कम्पनीहरूसँग हुनेछ,' शाहले भने, 'नेपालमा रहेका विदेशी अपरेटरहरूले प्रयोग गर्ने र हामीले प्रयोग गर्ने सफ्टवेयर ७५ प्रतिशत एउटै हो। तर, थप नेपाली च्यानल र टेलिभिजन प्रसारणमा हामीले प्रयोग गर्न खोजेको प्रविधि विशेष हुनेछ।'

डिटिएचमा पहिलोचोटि एमपिइजी- ४ प्रविधि प्रयोग गर्न लागेको उनले जानका दिए। यो मुभिङ पिक्चर एक्सपर्ट ग्रुप (एमपिइजी) ले कायम गरेको स्तर हो। अहिले डिटिएच प्रविधिमा एमपिइजी- २ को बोलवाला छ। भारतीय कम्पनीले प्रयोग गर्ने पनि यही हो। तर, एमपिइजी- ४ भनेको योभन्दा एक पुस्ता माथिको प्रविधि हो। यसले थ्रिडी टेलिभिजनलाई समेत सपोर्ट गर्नसक्छ। यसमा इन्टरनेट सेवासमेत दिन सकिन्छ। कम्पनीले दोस्रो चरणमा इन्टरनेट सेवा दिन योजना पनि बनाएको छ।

'अबको २८ महिनामा हामी यसैबाट घर-घरमा इन्टरनेट पुर्‍याउने छौं,' उनले भने।

नेपालको टेलिभिजन बजारमा ठूलो हिस्सा बोकेको सिजीले डिटिएचलाई आधार मानेर नयाँ टेलिभिजन सेटसमेत उत्पादन गर्ने जनाएको छ। डिटिएच प्याकेजमा हाई डेफिनेसन एलसिडी टेलिभिजन समेट्ने कम्पनीको रणनीति छ। कम्पनीले मार्चसम्म यो टेलिभिजन बजारमा उतार्नेछ।

यो प्रविधि अपनाउने ग्राहकले डिभिडीको गुणस्तरमा रोजेका च्यानल हेर्न सक्नेछन्। अझ उनीहरूसँग हाई डेफिनेसनमा आधारित टेलिभिजन सेट भए अहिलेसम्मकै गुणस्तय मल्टिमिडिया प्रयोग गर्न सक्नेछन्। 'हाई डेफिनेसन टेलिभिजनको प्रयोग बढेपछि हामीले पनि डिटिएचलाई हाई डेफिनेसनमै ढाल्नुपर्छ,' शाहले भने।

महँगो हुँदैन
पछिल्ला प्रविधि र धेरै च्यानल समेट्नाले यसको भाउ महँगो हुने त होइन? टेक्नोड्रिम्सले डिटिएच सेवाको मूल्य खुलाएको छैन। तर, यो अहिले केबुल टेलिभिजनले लिइरहेको रकमभन्दा महँगो नहुने कम्पनीको दाबी छ।

'उपभोक्ताले अहिले केबुल टेलिभिजनलाई महिनाको जति पैसा तिरिरहेका छन्, हाम्रो सेवा शुल्क त्योभन्दा महँगो हुँदैन,' उनले भने, 'अझ कतिपय च्यानल हेर्न मन छैन भने सस्तो पर्छ।'

डिटिएच टेलिभिजनका लागि टेलिभिजन सेटबाहेक सेटअप बक्स र त्यसको सिभर आवश्यक पर्छ। यसको मूल्य च्यानल थपघट गरेअनुसार फरक पर्छ। जस्तो, आफूलाई आवश्यक नपरेका सशुल्क च्यानल (पे च्यानल) नराखे केबुल टेलिभिजनलाई बुझाएजस्तो एकमुष्ठ पैसा तिर्नु पर्दैन।

'हामीले प्रमुख च्यानलसँग सम्झौता गरिसकेका छौं,' शाहले भने। केबुलैपिच्छे फरक- फरक च्यानल हेर्न नपाउने अवस्था डिटिएच आएपछि समाप्त हुने उनको भनाइ छ। टेक्नोड्रिमले यसको प्रबर्द्धनको नारासमेत बनाएको छ, 'सिजी डिटिएच मेरो मनोरञ्जनको डाइरेक्ट कनेक्सन।'

के हो डिटिएच ?
स्याटलाइटबाट टेलिभिजनको तरंग सोझै घरमा पुर्‍याउने प्रविधि नै डिटिएच हो। मुलुकभित्र र बाहिरका टेलिभिजन हेर्न केबुल टेलिभिजन सञ्चालकमा भर पर्नुपर्ने अवस्थालाई यसले अन्त्य गरेको छ। घरको टेलिभिजन सेट र स्याटलाइटबीच सोझै सम्वन्ध जोड्ने भएकाले यो प्रविधिबाट गुणस्तय श्रव्य/दृष्य तथा डाटा ट्रान्सफरसमेत गर्न सकिन्छ। यो प्रविधिबाट आफूले चाहेको सिनेमा तत्कालै (मुभी अन डिमान्ड) हेर्न समेत सकिन्छ।

प्रकाशित: २१ माघ २०६६ १२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App